सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानडामा हुने फिफा विश्वकपको एसिया छनोट भोलि बिहीबारबाट सुरू हुँदैछ।
एसिया छनोटको पहिलो चरणमा वरीयताको पुछारमा रहेका २० टिमबीच प्रतिस्पर्धा हुँदैछ। पहिलो चरण ड्रअनुसार दुई टिम एकआपसमा भिड्दैछन्। जसमा जित हात पार्ने टिम दोस्रो चरणमा पुग्नेछ।
नेपालले पहिलो चरणमा लाओसँग खेल्दैछ। बिहीबार पहिलो लेग दशरथ रंगशालामा हुनेछ भने दोस्रो लेग एक सातापछि लाओसमा हुनेछ।
एक्सपोजरका हिसाबले पहिलो चरणको छनोट नेपालसहित सबै २० टिमका लागि महत्वपूर्ण छ। किनभने दुई लेगमा जित हात पार्ने टिमले दोस्रो चरणको छनोट खेल्ने अवसर पाउनेछन्। दोस्रो चरणमा एसियाका शीर्ष वरीयताका टिम सम्मिलित समूहमा प्रतिस्पर्धा हुनेछ। दोस्रो चरणमा एक टिमले ६ खेल होम एन्ड अवेका आधारमा खेल्नेछ।
पहिलो चरणमा जित हात पारे नेपाली फुटबल टिमको तालिका एक वर्षको बीचमा ६ खेल खेल्न पाउनेछ।
यद्यपी पहिलो चरणमा हार बेहोरेमा क्वालिफायर प्लेअफका लागि एक अवसर भने बाँकी हुनेछ।
एक्पोजरका हिसाबले महत्वपूर्ण मानिएको विश्वकप छनोटको पहिलो चरणमा नेपालले भिड्न लागेको टिम लाओस नेपालका लागि बलियो प्रतिद्वन्द्वी भने होइन।
फिफा वरीयतामा ११ स्थान तल रहेको लाओससँग नेपालले गत वर्ष खेलेको थियो। दशरथ रंगशालामा नेपालले प्रधानमन्त्री कपअन्तर्गत खेलेको दुई मैत्रीपूर्ण खेलमा दुवै खेलमा जित निकालेको थियो। नेपालले पहिलो खेलमा २-० र दोस्रो खेलमा २-१ गोलको जित निकालेको थियो।
भोलि हुने खेलका लागि आफूहरु तयार रहेको नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसे तथा कप्तान किरणकुमार लिम्बूले बताएका छन्।
प्रशिक्षकले आफूले खेलका लागि शतप्रतिशत दिने बताउँदै युवा खेलाडीबाट आसा गरेको बताए। साथै उनले भोलिको खेलमा समर्थकको धेरैभन्दा धेरै साथ पाउने विश्वास गरेका छन्।
विश्वकप छनोटका लागि नेपाली टिम
गोलकिपर : किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल
डिफेन्डर : सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अन्जन राई, अमृत श्रेष्ठ, एरिक विष्ट
मिडफिल्डर : सुदीप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छिन्जु, मनिष डाँगी, आशिष चौधरी
फरवार्डः अन्जन विष्ट, आयुष घलान, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया, सञ्जीव विष्ट
फिफा विश्वकप २०२६ एसिया छनोट
- पहिलो राउन्ड : पहिलो राउन्डमा २० टिम सहभागी हुने हुँदैछन्। जसमा एएफसीको वरीयतामा रहेका २७ देखि ४६ औं स्थानका टिम छन्। २० टिममध्ये दुई-दुई टिम एकआपसमा भिड्दैछन्। १० विजेता दोस्रो राउन्डमा पुग्नेछन्। एएफसीका अनुसार पहिलो राउन्ड अक्टोबर २०२३ मा हुनेछ।
- दोस्रो राउन्ड : दोस्रो राउन्डमा १ देखि २६ औं वरीयताका टिम तथा पहिलो चरणबाट छनोट भएका १० टिम गरी ३६ टिमबीच प्रतिस्पर्धा हुनेछ। ३६ टिमलाई ९ समूहमा विभाजन गरिनेछ। एक समूहमा चार टिम हुनेछन्। होम एन्ड अवेका आधारमा समूहको प्रतिस्पर्धा हुनेछ। ९ समूहको विजेता र उपविजेता गरी १८ टिम एएफसी एसियन कपमा पुग्नेछन् भने फिफा विश्वकप छनोटको तेस्रो राउन्डमा पुग्नेछन्। दोस्रो राउन्ड मार्च २०२४ मा हुनेछ।
- एसियन क्वालिफायर : १८ टिमबीच तेस्रो चरणमा फिफा विश्वकप २०२६ का लागि प्रतिस्पर्धा हुनेछ। १८ टिमलाई तीन समूहमा विभाजन गरिनेछ। एक समूहमा ६ टिम हुनेछन्। टिमहरू होम एन्ड अवेका आधारमा प्रतिस्पर्धा गर्नेछन्। तीन समूहका विजेता र उपविजेता गरी ६ टिम फिफा विश्वकप २०२६ का लागि छनोट हुनेछन्।
- एसियाली प्लेअफ: एसियन क्वालिफायरका तीन समूहका तेस्रो र चौथो स्थानमा रहेका ६ टिम प्लेअफमा रहनेछन्। ६ टिमलाई तीन-तीन टोलीको दुई समूहमा विभाजन गरी सिंगल राउण्ड रोबिन ढाँचामा प्रतिस्पर्धा गरिनेछ। दुई समूहका शीर्ष दुई टिम फिफा विश्वकप २०२६ मा पुग्नेछन्। यसरी आठ टिम एसियाबाट विश्वकपमा पुग्नेछन्। दुई समूहमा दोस्रो स्थानमा रहेका दुई टिमले इन्टरकन्टिनेन्टल प्लेअफका लागि भिड्नेछन्।
एएफसी एसियन कप २०२७
दोस्रो राउन्डको समूह विजेता र उपविजेता गरी १८ टिम एसियन कप २०२७ मा स्वत: छनोट हुनेछन्। बाँकी ६ स्थानका लागि एसियन कप छनोट हुनेछ।
- एसियन कप छनोट : विश्वकप छनोटको दोस्रो राउन्डको प्रतिस्पर्धामा समूहमा तेस्रो र चौथो भएका १८ टिम पुग्नेछन्। यस्तै पहिलो चरणमा पराजित भएका १० टिमबाट प्लेअफ गराउँदै ५ टिम पनि छनोटमा पुग्नेछन्। पहिलो चरणमा पराजित हुने एउटा उत्कृष्ट वरीयताको टिम छनोटमा पुग्नेछ। यसरी २४ टिमबीच छनोट हुनेछ। ६ समूहका शीर्ष ६ टिम एसियन कप २०२७ मा पुग्नेछन्।