अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा कात्तिक २३ मा हेटौंडामा हुँदैछ।
यसअघि गत भदौमा एन्फाका ४० प्रतिशत सदस्यले अध्यक्ष पंकजबिक्रम नेम्बाङ र महासचिव किरण राईको बर्खास्तीको मागसहित विशेष साधारणसभाको माग गरेका थिए।
त्यहिँ माग बमोजिम एन्फाको समाधारणसभा हुन लागेको हो। तर ४० प्रतिशत सदस्यल माग गरेका दुवै एजेन्डामा भने छलफल नहुने भएको छ। एन्फाले आफ्ना सदस्यहरूलाई अध्यक्षको एजेन्डामा मात्र छलफल हुने पत्र पठाएको छ।
यसअघि एन्फाले महासचिवको एजेन्डा थप गर्ने वा नगर्ने विषयमा फिफालाई समेत इमेल गरेको थियो। सेतोपाटीलाई प्राप्त उक्त इमेलअनुसार महासचिव किरण राईले ३ अक्टोबरमा एन्फाका ४० प्रतिशत सदस्यले अध्यक्ष र महासचिवलाई बर्खास्त गर्न माग गरेको विषय जानकारी गराइएको थियो। साथै अध्यक्षको प्रस्तावमा कार्यसमितिले महासचिव नियुक्त गर्ने प्रावधान भएकाले महासचिवको एजेन्डा साधारणसभामा पेश गर्न निमिल्ने तर्क गरिएको थियो। विशेष साधारणसभाले आर्थिक भार पर्ने उल्लेख गर्दै फिफासँग दुई एजेन्डाको विषयमा सुझाव माग गरिएको थियो।
सो इमेलको जवाफ फिफाले ४ अक्टोबरमै पठाएको थियो। महासचिव किरण राईलाई सम्बोधन गर्दै पठाइएको इमेलमा फिफाले एन्फाको विधान अध्ययन गरेको उल्लेख छ। साथै एन्फाको विधानअनुसार साधारणसभाले महासचिवसहित सबै सदस्यलाई बर्खास्त गर्न सक्ने बारे सचेत गराइएको थियो। फिफाले इमेलमार्फत् साधारणसभामा महासचिवको एजेन्डा पनि थप गर्न सकिने सुझाएको थियो।
एन्फाका पूर्वअध्यक्ष तथा हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पा पनि महासचिवलाई साधारणसभाले बर्खस्त गर्न सक्ने बताउँदै एजेन्डा नराख्नु विधानविपरित भएको तर्क गर्छन्। साथै कुनै पनि संस्थाको सबैभन्दा ठूलो साधारणसभा हुने भएकाले एजेन्डा हटाउने काम गलत भएको शेर्पाले बताए।
‘विधानमा महासचिव मात्र होइन कुनै पनि सदस्यलाई साधारणसभाले बर्खास्त गर्न सक्ने व्यवस्था छ। यो साधारण सदस्यलाई पनि हाल्न मिल्ने एजेन्डा हो। अहिले विधान पुरै मिच्ने काम भएको छ,’ शेर्पाले भने, ‘दुवै एजेन्डा राख्नु पर्नेमा महासचिव बचाउन अध्यक्ष लाग्नु भएको छ।’
यसरी फिफाले महसचिवलाई बर्खास्त गर्ने एजेन्डा थप गर्न सकिने सुझाव दिँदा पनि एन्फाले अध्यक्षको एजेन्डा मात्र किन छलफल गराउँदैछ? हामीले यो प्रश्न एन्फाका प्रवक्ता सुरेश शाहलाई सोधेका छौं।
‘अध्यक्षको एजेन्डा मात्र छलफल गर्ने कार्यसमितिले निर्णय गरेको हो,’ शाहले सेतोपाटीसँग भने,’महासचिव अध्यक्षको प्रस्तावमा कार्यसमितिको निर्णयबाट नियुक्त हुने प्रावधान भएको कारणले थप नभएको हो। महासचिवको विषय कार्यसमितिमै छलफल गर्न सकिन्छ।’
यसअघि गत भदौ २५ मा एन्फाका अध्यक्ष र महासचिव नेपाली फुटबललाई धरासयी बनाउन उद्दत रहेको र उनीहरू पदमा रहे नेपाली फुटबलको भविष्यमा नै क्षति पुग्ने भन्दै बर्खास्त गर्न माग गर्दै पत्र दर्ता गरिएको थियो।
अध्यक्ष र महासचिवमाथि १९ आरोपसमेत लगाइएको थियो। जसमा विशेष साधारण सभा भर्चुअलमार्फत् गर्न आह्वान गरेको, बजेट पास नगरी अनाधिकृत रूपमा बिनाआवश्यक अख्तियारी आर्थिक करोबार गरेको, बोर्ड बैठकबाट अवैधानिक निर्णय गरेको लगायतका छन्।
गत वर्षको असारमा अध्यक्षमा निर्वाचित भएदेखि नै नेम्वाङ अल्पमतमा परेका थिए। पूर्वअध्यक्षद्वय कर्माछिरिङ शेर्पा र गणेश थापा पक्षका सदस्यको बहुमत हुँदा अध्यक्ष नेम्वाङले कार्य समितिबाट विभिन्न निर्णय गराउन सकस पर्ने गरेको छ।
बिहीबार हेटौंडामा हुने साधारणसभामा एन्फाका ८६ सदस्यलाई मताधिकार हुनेछ। जसमध्ये दुई तिहाइले मात्र अध्यक्षसहित अरु सदस्यलाई बर्खास्त गर्न सक्छन्।