नेपाली राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी 'साम्बा' का लागि २०८० साल उतारचढावको वर्ष बन्यो। साम्बाले युरोपेली क्लबमा आबद्ध हुँदै इतिहास बनाएकी थिइन्। युरोपको शीर्ष डिभिजनको क्लबमा आबद्ध हुने क्रममा साम्बा इसराइलको हापोइल रा'नानामा आबद्ध भएकी थिइन्।
गत जेठमा क्लबमा आबद्ध भएकी साम्बा त्यहाँको लिग खेल्न साउनमा इसराइल पुगेकी थिइन्। सम्बाले सुरुवाती खेलमै प्रभावशाली प्रदर्शन गरिन्।
तर, गत असोजमा प्यालेस्टाइनको इस्लामिस्ट अतिवादी समूह ‘हमास’ले इसराइलमाथि आक्रमण गरेपछि साम्बा त्यहाँको लिग बीचैमा छाडेर नेपाल फर्कन बाध्य भइन्। युरोपमा आफ्नो खेल देखाउने साम्बाको इच्छा दुई महिनामै समाप्त भएको थियो।
युरोपियन फुटबल महासंघमा आबद्ध भएर इसराइलमा खेल देखाउन नपाएपछि साम्बा अर्को अवसरको खोजीमा जुटेकी थिइन्। फलस्वरुप साम्बा फ्रान्सको शीर्ष डिभिजन लिग खेल्ने टिमसँग आबद्ध हुन सफल भएकी छिन्। यससँगै साम्बाले अर्को इतिहास रचेकी छिन्। उनी युरोपको शीर्ष पाँच लिग मध्येको एक लिगको शीर्ष क्लबमा आबद्ध हुने पहिलो नेपाली फुटबलर बनेकी छिन्।
फ्रान्सको शीर्ष डिभिजनको लिग खेल्ने गेनगम्पले साम्बासँग सम्झौता भएको सार्वजनिक गरेको छ। यसै साता फ्रान्स पुगेकी साम्बाको दुई दिनअघि मेडिकल परीक्षण भएको थियो। मेडिकलपछि क्लबले उनीसँग सम्झौता गरेको थियो।
२६ वर्षीय साम्बालाई इसराइलको क्लबबाट आबद्ध गरेको गेनगम्पले पुष्टि गरेको छ। उनीसँग जुन २०२४ सम्म सम्झौता भएको पनि क्लबको भनाइ छ। यस्तै उनलाई क्लबसँग थप एक वर्षको सम्झौता गर्ने विकल्प समेत दिइएको छ।
उनले क्लबमा २८ नम्बरको जर्सी लगाउनेछिन्। नेपालको घरेलु फुटबलमा भने उनले ९ नम्बरको जर्सी लगाएर खेल्ने गरेकी छिन्।
क्लबले फ्रान्सको महिला शीर्ष डिभिजन वान फिमिन खेल्ने गर्छ। हाल क्लब लिगको दसौं स्थानमा छ। १२ क्लबबीच हुने लिगमा गेनगम्पले १२ खेल खेलेको छ। अब बाँकी १० खेलका लागि साम्बालाई क्लबले आबद्ध गरेको छ।
साम्बा आबद्ध भएको रकमको बारेमा भने केही खुलाइएको छैन। एक रिपोर्टका अनुसार फ्रान्सको महिला लिगमा खेल्ने खेलाडीको न्यूनतम पारिश्रमिक वार्षिक १६ हजार युरो (२२ लाख रुपैयाँ बढी) हुन्छ।
क्लबले फ्रेन्च लिगमा शनिबार अंक तालिकाको पुछारमा रहेको बोर्डेक्ससँग खेल्दैछ। सो खेलमा साम्बाले डेब्यू गर्न सक्नेछिन्।
युरोपियन लिगमा आबद्ध हुनुअघि साम्बाले भारतीय लिगमा तहल्का मच्चाएकी थिइन्। सिजन २०२२-२३ मा साम्बाको उत्कृष्ट प्रदर्शनमा गोकुलम केरलाले लगातार तेस्रो सिजनको उपाधि जित्न सफल भयो।
सिजनमा साम्बाले १० खेलमा २९ गोल गर्न सफल भएकी थिइन्। उनी भारतीय महिला लिगमा एकै सिजन सर्वाधिक गोल गर्ने बालादेवी (मणिपुर पुलिस- २६ गोल- सिजन २०१९-२०) को कीर्तिमान समेत तोड्न सफल भइन्।
तीव्र गतिमा कुद्ने र उत्कृष्ट फिनिसिङ गर्ने साम्बाले सो सिजन पाँच खेलमा ह्याट्रिक गरेकी थिइन्। चार खेलमा प्लेयर अफ दि म्याचको अवार्ड जितेकी साम्बाले मुम्बई नाइट्सविरुद्धको खेलमा सात गोल गरेकी थिइन्। सो खेलमा गोकुलम ११-१ गोलले विजयी भएको थियो।
साम्बाले भारतीय लिग खेलेको सो तेस्रो सिजन थियो। उनले खेलेका तीनै सिजन उपाधि जित्न सफल भइन्।
२०१८-१९ को सिजन सेथु एफसीबाट खेलेकी थिइन्। त्यतिबेला पनि सेथुलाई उपाधि जिताउने क्रममा उनले १४ गोल गरेकी थिइन्। सन् २०१९-२० मा उनले गोकुलमलाई च्याम्पियन बनाउने क्रममा १६ गोल गरिन्। उनी सो सिजन लिगको सर्वाधिक गोलकर्ता भइन्।
गत सिजन पनि लिगको सर्वाधिक गोलकर्ताको अवार्ड जित्दै साम्बाले भारतीय लिगमा दोस्रो पटक सर्वाधिक गोलकर्ताको अवार्ड जित्ने अर्को कीर्तिमान बनाइन्।
साम्बा भारतीय महिला लिगमा सर्वाधिक गोल गर्ने खेलाडी समेत बन्न सफल भएकी थिइन्। उनले तीन सिजनमा कुल ५९ गोल गरेकी छिन्। लिगमा सर्वाधिक गोल गर्ने सूचीको दोस्रो स्थानमा भारतकी बालादेवी छिन्। उनले चार सिजनमा ४८ गोल गरिन्।
कीर्तिमानी साम्बा
साम्बाको नाममा नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान छ। उनले २०७६ मा यो कीर्तिमान बनाएकी थिइन्।
दक्षिण एसियाली खेलकुदअन्तर्गत पोखरामा माल्दिभ्सविरुद्ध गोल गरेर उनले कीर्तिमान बनाएकी थिइन्। साम्बाले अहिलेसम्म नेपालका लागि ४२ खेलमा ४३ गोल गरेकी छिन्।
२०७७ मा घुँडामा चोट लागेपछि साम्बा २०७८ को चैतसम्म मैदान बाहिर बस्न परेको थियो। कतारमा उपचार गरेपछि उनी १३ महिनापछि मैदान फर्केकी थिइन्।
महिला फुटबलमा साम्बाले सफल खेलाडीको परिचय बनाए पनि उनको फुटबल यात्रा भने सहज रहेन।
लमजुङमा जन्मिएर हुर्किएकी सावित्राले फुटबल खेल्नका लागि घरमै संघर्ष गर्नुपर्यो। स्कुलका केटासँग फुटबल खेल्दा परिवारको गाली खानुपर्यो। आमाको पिटाइ सहनुपर्यो। बाबाको ‘घरमै बसेर पढ’ भन्ने आदेश पालना गर्नुपर्यो।
परिवारसँग मनमुटावबीच उनले घरको आँगनमै खाली खुट्टा मोजाको बलमा आफ्नो फुटबल सपनालाई जीवन्तता दिइरहिन्।
साम्बाका चार दिदीबहिनी छन्, दुइ दाजुभाइ। बुवाको नोकरीले मात्र परिवार चलाउनै मुस्किल भैरहेको देखेकी उनका लागि फुटबल जर्सी किन्नु सपना थियो।
उनलाई फुटबलको भोकले छाडेन। विद्यालयको टिफिन टाइममा खाजा खाइनन्। फुटबल खेलिन् त्यो पनि केटाहरूसँग।
केटाजस्तो भएर हिँडेको देखेर छिमेकीले कुरा काटे। तर साम्बाले परवाह गरिनन्।
फुटबलमा मात्र होइन जिल्ला स्तरको दौडमा समेत उनले गोल्ड मेडल जितिन्। भलिबलमा सिल्भर मेडल। साम्बाले ल्याएको मेडलले छिमेकीको मुख टालियो।
२०७१ साल सावित्राका लागि टर्निङ प्वाइन्ट बन्यो। लमजुङकै घले गाउँमा आयोजना भएको फुटबल प्रतियोगितामा साम्बाले उत्कृष्ट प्रदर्शन गरिन्। प्रतियोगिताकै सबैभन्दा धेरै ९ गोल गरिन्।
खेल हेर्न राष्ट्रिय रेफ्री शुक्र लामा घलेगाउँ पुगेका थिए। सावित्राको खेल देखेर शुक्रले उनलाई सशस्त्र प्रहरीको फुटबल टोलीमा आबद्ध हुने मौका मिलाइदिए। लामाले सावित्रालाई फोन गरेर सशस्त्र प्रहरी क्लबमा आउन सुझाव दिए।
घलेगाउँको खेलमा खेलिरहेकी सावित्रा तीन महिनापछि सशस्त्र प्रहरीको एपिएफ क्लबमा महिला फुटबल खेलाडी बनिन्। सशस्त्रमा राष्ट्रिय टोलीका खेलाडी थिए। उनलाई क्लबमा आफूलाइ प्रमाणित गर्ने चुनौती थपियो।
तर मेहेनती साम्बाले हौसला गुमाइनन्।
एन्फाले राष्ट्रिय टोलीमा छनोटका लागि ४४ खेलाडीलाई क्लोज क्याम्पमा राख्यो। साम्बा ४४ मा समेटिइन्। ‘सीमित’ फुटबलको ज्ञानको सहारामा राष्ट्रिय टोलीमा पर्न उनले संघर्ष गर्नुपर्यो।
सन् २०१४ उनका लागि सुनौलो बिहानी बनेर आयो। त्यही वर्ष उनले पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा भुटानविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरिन्। डेब्यु खेलमै गोल पनि ठोकिन्।
त्यसयता उनी राष्ट्रिय फुटबल टोलीमा निरन्तर छिन्- गोल मेसिनका रूपमा।
साम्बालाई आफूले केही पाउने अपेक्षाभन्दा राष्ट्रका लागि केही गर्ने भोकले अझै सताइरहेछ।