जर्मन बुन्डेस लिगाको उपाधि भिडन्तमा वायर लिभरकुजेन बलियो देखिएको छ।
लिभरकुजेनले शनिबार दाबेदार वायर्न म्युनिखलाई ३-० गोलले हराएको छ।
लिभरकुजेनका लागि स्टानिसिकले १८ मिनेटमा पहिलो गोल गरे। ग्रिमाल्डोले ५० मिनेटमा अग्रता दोब्बर पर्दा दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा फ्रिमपोङले तेस्रो गोल गरेर आफ्नो टिमको जित पक्का गरे।
जितसँगै अंक तालिकाको शीर्ष स्थानमा रहेको लिभरकुजेनले २१ खेलबाट ५५ अंक जोडेको छ भने दोस्रो स्थानको वायर्नको ५० अंक छ।
जाभी अलन्सोको प्रशिक्षणमा उत्कृष्ट देखाइरहेको लिभरकुजेन यो सिजन ३१ खेलमा अपराजित छ। उसले २७ जित निकाल्दा ४ बराबरी खेलेको छ।
अहिलेसम्म जर्मनीको शीर्ष श्रेणीको लिग जित्न नसकेको लिभरकुजेनको शनिबारको जितसँग पहिलो उपाधि जित्ने लक्ष्य बलियो बनेको छ।
यसअघि लिभरकुजेन पाँच सिजन लिगको उपविजेता बनेको थियो।
लिभरकुजेनले मुख्य उपाधि पछिल्लो पटक सन् १९९३ मा जितेको थियो। ३१ वर्षअघि जर्मन कप जितेपछि लिभरकुजेनले मुख्य उपाधि जित्न सकेको छैन।