हङकङमा भएको एक मैत्रीपूर्ण खेलमा अमेरिकी क्लब इन्टर मायमीका फरवार्ड लिओनल मेसी अनुपस्थितपछि चिनियाँ अधिकारीहरूले अर्जेन्टिनाले चीनमा खेल्ने तय भएका दुई मैत्रीपूर्ण खेल रद्द गरेका छन्।
अर्जेन्टिनाले मार्चमा चीनको बेइजिङमा आइभरी कोस्टसँग र हाङझाउमा नाइजेरियासँग खेल्ने तय भएको थियो।
यसअघि गत आइतबार हङकङ-११ विरुद्ध इन्टर मायमीले खेल्दा मेसीले चोटका कारण नखेलेको रिपोर्ट सार्वजनिक भएको थियो। मेसीले टिमबाट नखेलेपछि चीनका फ्यानहरू आक्रोशित भएका छन्।
मेसी खेलमा उपलब्ध नभएपछि चीनमा व्यापक आलोचना भएको थियो। यद्यपी मेसी तीन दिन पछि जापानमा भएको भिसेल कोबेविरुद्ध खेलमा बेञ्चमा देखिएका थिए।
'बेइजिङले लियोनेल मेसीले खेल्ने खेलका लागि योजना बनाएको छैन,' बेइजिङ फुटबल संघले शनिबार भनेको छ।
हाङझाउले शुक्रबार खेल रद्द गर्दा त्यहाँको खेलकुद ब्यूरोले भनेको थियो, 'करण सबैलाई थाहा छ, खेलका लागि शर्तहरु पूरा भएका छैनन्।'
हङकङका फ्यानहरूले इन्टर मायमीका सह-मालिक डेभिड बेकह्यामविरुद्ध नारा लगाउँदै मेसी मैदानमा नआएपछि आफ्नो पैसा फिर्ताको माग गरेका थिए।
त्यसपछि फ्यानहरुलाई खेल आयोजक ट्याटलर एसियाले ५० प्रतिशत रकम फिर्ता दिने वाचा गरेको छ।