युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब म्यानचेस्टर सिटीले जित दर्ता गराएका छन्।
सिटीले डेनमार्कको एफसी कोपनहगेनलाई उसैको मैदानमा ३-१ गोलले हरायो।
सिटीका लागि खेलको दशौं मिनेटमा केभिन डे ब्रुइनले पहिलो गोल गरे। तर ३४ मिनेटमा कोपनहगेनका माट्सनले बराबरी गोल फर्काउन सफल भए।
पहिलो हाफको अन्तिम मिनेटमा बर्नान्डो सिल्भाको गोलबाट सिटीले दोस्रो पटक खेलमा अग्रता लियो।
दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा फिल फोडेनले तेस्रो गोल गरेपछि सिटीले जित पक्का गर्यो।
यता रियल म्याड्रिडले जर्मन क्लब आरबी लाइपजिगलाई १-० गोलले हराएको छ।
रियलको जितमा ब्राहिम डियाजले ४८ मिनेटमा गरेको गोल निर्णायक सावित भयो।