नेपाली फुटबलको अवस्था कति नाजुक छ भन्ने थाहा पाउन पछिल्ला दुई घटनालाई लिए पुग्छ।
माघ २३ मा चार जना युवा फुटबलर अस्ट्रेलिया उडे। सिमान्त थापा, सेसेहाङ आङदेम्बे, आशिष चौधरी र अनिश देउला उज्वल भविष्य खोज्दै अस्ट्रेलिया पलायन भए।
सिमान्त, सेसेहाङ र आशिष चौधरीले पछिल्लोपटक नेपाली टिमबाट अन्तर्राष्ट्रिय खेल खेलेका थिए। तीनै जना युवा फुटबलरलाई नेपाली फुटबलको भविष्यको रूपमा हेरिएको थियो। यस्तै गोलकिपर अनिश घरेलु लिगमा उत्कृष्ट खेल देखाएर राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परेका खेलाडी हुन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले पर्याप्त प्रतियोगिता गर्न नसक्दा तथा घोषणा गरिएका प्रतियोगिता समयमै सञ्चालन नगर्दा नेपाली फुटबलको अन्धकार भविष्य त्याग्दै फुटबलर विदेशको बाटो रोजिरहेका छन्।
पछिल्लो दुई वर्षमा अस्ट्रेलियामा लगभग सय राष्ट्रिय फुटबल खेलाडी पुगिसकेका छन्। त्यसमा दुई दर्जन बढी खेलाडी राष्ट्रिय टिमबाट खेलेका छन्।
दोस्रो घटना गत फागुन ३ गतेको एन्फा केन्द्रीय कार्यसमिति बैठकको हो।
सो बैठक नै सुरु नभइ विवाद उत्पन्न भयो। बहुमत केन्द्रीय सदस्यले एन्फाको काम कारबाहीको विषयमा प्रश्न उठाए र उपस्थितिमा हस्ताक्षर गर्न मानेनन्। बैठक सञ्चालनका लागि कोरम नै पुग्ने अवस्था भएन।
फागुन ३ गतेको लागि बोलाइएको बैठक सञ्चालनका लागि चार दिनसम्म प्रयास भयो। बैठकले फागुन ७ गते मात्र निर्णय गर्न सक्यो। चार दिनसम्मको लामो रस्साकस्सीका बीच भएको बैठकले फागुन १४ गते बस्ने साधरणसभामा अनुमोदन गर्ने एजेन्डाको विषयमा निर्णय गर्यो।
एन्फा कार्यसमिति गुट उपगुटमा विभाजित हुँदा प्रत्येक बैठकमा विवाद हुने गरेको छ।
केन्द्रीय समिति पक्ष-विपक्षको जोडघटाउनमा व्यस्त हुँदा फुटबल विकास काम प्राथमकितामा परेका छैनन्। पक्ष विपक्षकै कारण एन्फाले चार महिनाको अन्तरमा तेस्रो साधरणसभा गर्दैछ।
एन्फाले आफ्ना कार्यक्रमसमेत राम्रोसँग सञ्चालन गर्न सकेको छैन। सहिद स्मारक बी डिभिजन लिग दुई वर्षदेखि सञ्चालन हुन सकेको छैन। वर्षको सी डिभिजन लिगको मिति सरिरहेको छ। फुटबल प्रणालीका लागि मुटु मानिने नेपाली लिग निरन्तर हुन नसकेको असर राष्ट्रिय टिमको प्रदर्शनमा परिरहेको छ।
अर्कोतर्फ पछिल्लो समय खेलकुद पत्रकारहरूलाई आइरहेको इमेलले पनि फुटबलका गतिविधिमाथि झनै प्रश्न उठिरहेका छन्।
सरिता परियार नामबाट पहिलोपटक गत पुस पहिलो दोस्रो साता एन्फा उपाध्यक्ष दावा लामा खैरो हिरोइन विक्रीमा संलग्न भएको र लामालाई तत्कालिन पुनरावेदन अदातल पाटनले २०६४ जेठमा ५ वर्ष कैद सजाय सुनाएको कागजातको प्रमाणसहित इमेल आएको थियो। लामाले उक्त कैद भुक्तान नगरेको दाबी गरिएको थियो।
नेपाली फुटबलमा कहिल्यै नाम नसुनेको उक्त नामको इमेलबाट पछि लामाको विषयमा अदातलले गरेको फैसलाको पूर्ण पाठसमेत पठाइएको थियो। जहाँ लामा दोषी भइ ५ वर्ष कैद सजाय पाएको पुष्टि हुने प्रमाणहरू संलग्न छन्।
डेढ वर्षअघि भएको एन्फा केन्द्रीय कार्यसमिति निर्वाचनको बेलामा पनि लामाको विषयमा निर्वाचन समितिमा उजुरी परेको थियो। त्यतिबेला लामाले आफूले जेल बसिसकेको भन्दै कुरा मोडेका थिए। निर्वाचन समितिले पनि गम्भीर रुपमा छानविन गरेको थिएन। तर एन्फा कार्यसमिति पक्षविक्षमा केन्द्रित हुन थालेपछि लामाको विषय सतहमा आयो। लगत्तै विभिन्न सञ्चार माध्यममा समाचार आएपछि लामा सम्पर्कविहीन बने।
उपाध्यक्ष लामाको विषयमा एन्फाले स्पष्ट धारणा अहिलेसम्म सार्वजनिक गरेको छैन। अदातलको विषय भएको भन्दै एन्फा पन्छने गरेको छ। एन्फा कार्यसमितिको पछिल्लो बैठकमा लामा उपस्थित भएनन्। सो बैठकमा अदालतबाट कैद फैसला भएका व्यक्ति एन्फा उपाध्यक्ष रहेको भन्दै प्रश्न समेत उठाइएको थियो।
एन्फा विधानको धारा २४ मा लागूऔषध विक्री वितरणको मुद्दामा एक वर्ष वा सोभन्दा बढी कैद सजाय पाइ त्यस्तो फैसला अन्तिम भएको व्यक्ति एन्फामा निर्वाचित हुन नसक्ने उल्लेख छ। विधानअनुसार लामाको उपाध्यक्ष पद स्वत: खारेज हुन्छ।
सरिता परियारबाट आएको इमेल लामाको विषयमा मात्र सीमित छैन। एन्फा अध्यक्ष पंकजबिक्रम नेम्बाङ, उपाध्यक्ष लामा र केल्मीका मालिक उत्तम न्यौपानेको सम्बन्धबाट एन्फामा अवैध कारोबार भएको भन्दै दर्जन बढी कागजात संलग्न गर्दै इमेल प्रेषित भएका छन्।
पछिल्लोपटक उक्त नामबाट एन्फाका महासचिव किरण राईले भ्रष्टाचार गरेको गर्दै भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको इमेल आएको छ। केटिएम सिटीबाट महासचिव राईले २५ लाख रुपैयाँ उठाएको विषयमा छानविन गर्न माग गर्दै फागुन ४ मा अख्तियारमा उजुरी दर्ता भएको छ।