नेपाली महिला राष्ट्रिय फुटबल टिमले बिहीबार राति भएको वेस्ट एसियन फुटबल फेडेरेसन (वाफ) वुमन्स फुटबल प्रतियोगिताको उपविजेतामै चित्त बुझायो।
जोर्डनविरूद्धको फाइनल भिडन्तमा नेपालले अग्रता लिए पनि दोस्रो हाफको अन्तिम २० मिनेट सम्हालिन सकेन।
फिफा वरीयतामा आफूभन्दा ३१ स्थानमाथिको जोर्डनविरूद्ध नेपालले बहादुरीपूर्ण प्रदर्शन गरेको थियो। खेलमा नेपालकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी साम्बा क्लबसँगको सम्झौताका कारण अनुपस्थित थिइन्। सेमिफाइनलसम्म नेपालका लागि खेल्दा ९ गोल गरेकी साम्बा फाइनलअघि फ्रान्स गएकी थिइन्।साम्बा वाफको सर्वाधिक गोलकर्ता बनिन्।
खेलमा नेपालले सविता रानामगरको गोलबाट खेलको २९ मिनेटमा अग्रता लिएको थियो। सविताले डिबक्स बाहिरबाट हानेको प्रहारले सिधै जाली चुमेको थियो।
दोस्रो हाफमा नेपालकी मुख्य प्लेमेकर प्रिति राई घाइते हुन पुगिन्। सुरुमा उपचारपछि मैदान फर्किएकी प्रिति दोस्रो पटक घाइते हुँदा भने खेल्न सकिनन्।
प्रिति घाइते भएर मैदान बाहिर निस्किएको बेला नेपालविरूद्ध जोर्डनले गोल गरेको थियो। ७४ मिनेटमा बराबरी गोल फर्काएको जोर्डनले खेल सकिन एक मिनेट बाँकी छदा अग्रता लियो।
तर इन्जुरी समयमा नेपालले पेनाल्टी पायो। जोर्डनका खेलाडीले डिबक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा गीता रानाले गोल गरिन र खेललाई २-२ को बराबरीमा ल्याइन्।
त्यसपछि पेनाल्टी सुटआउटमा नेपालका लागि गीता राना, दीपा शाही र हिराकुमारी भुजेलले गोल गरेका थिए। तर चौथो पेनाल्टी हानेकी अमृती जैशीको प्रहारलाई जोर्डनकी गोलकिपरले विफल पारिन्। जोर्डनले भने पाँचै पेनाल्टीमा गोल गर्न सफल भयो। यससँगै नेपाल पेनाल्टी सुटआउटमा ५-३ ले पराजित भयो।
नेपाललाई हराएसँगै छैटौं पल्ट वाफको उपाधि जितेको जोर्डन फिफा महिला वरीयतामा ७४औं स्थानमा छ। नेपाल भने १०५औं स्थानमा छ।
सन् २०१० यता नेपाली महिला टिमले एघारौं फाइनल खेले पनि उपविजेतामै चित्त बुझाउन बाध्य भयो।
नेपाली टिमले साफ महिला च्याम्पियनसिपमा पाँच पटक फाइनलमा स्थान बनाए पनि उपाधि जित्न भनेको सकेको छैन। सन् २०१०, २०१२, २०१४ र २०१९ को महिला साफको फाइनलमा नेपालले भारतसँग हार बेहोरेको थियो। सन् २०२२ मा घरेलु मैदानमा भएको साफको फाइनलमा पनि नेपालले बंगलfदेशसँग पराजय भोगेको थियो।
यस्तै नेपालले तीन पटकको दक्षिण एसियाली खेलकुद (साग) मा दोस्रो स्थानमै चित्त बुझाएको छ। सन् २०१०, २०१६ र २०१९ को साग गेम्सको स्वर्ण भिडन्तमा नेपाल भारतसँग नै पराजित भएको थियो।
नेपालले २०१९ मा भारतमा भएको वुमन्स गोल्ड कपमा पनि फाइनलमा स्थान बनाएको थियो। तर नेपाली टिम उपाधि भिडन्तमा म्यानमारसँग पराजित हुन बाध्य भयो।
सन् २०१९ मै किर्गिस्तानमा भएको नाडेज्दा कपमा पनि नेपालले उपविजेतामै चित्त बुझाउन परेको थियो। नेपाली टिम उज्वेकिस्तानसँग पराजित भएको थियो।