मोडलिङमा एक दशक बिताएकी नीति शाह यही महिना अभिनेत्रीका रूपमा फिल्ममा पर्दार्पण गर्दैछिन्।
उनको पहिलो फिल्म 'खजुरे ब्रो' वैशाख २८ गतेदेखि सिनेमा घरहरूमा लाग्दैछ।
नीतिलाई पहिलो पटक फिल्मको अफर भने उनी कक्षा १२ मा पढ्दै गर्दा आएको थियो।
'त्यो बेला ड्रिम्सको प्रस्ताव आएको थियो। म फिल्म क्षेत्रबारे जानकार थिइनँ, न चिनेजानेका कोही यस क्षेत्रमा थिए,' उनले भनिन्, 'सायद फिल्म गर्न सक्छु भन्ने आत्मविश्वास पनि थिएन।'
सोही कारण अकास्मात आएको अभिनयको प्रस्ताव उनले अस्वीकार गरिन्।
त्यसपछि फेरि उनलाई 'प्रेम गीत' को प्रस्ताव आयो। त्यसमा पनि उनले काम गरिनन्।
'त्यति बेला म तयारै थिइनँ। फिल्म क्षेत्र कस्तो हुन्छ, के हुन्छ भन्नेबारे पनि थाहा थिएन,' फिल्म 'खजुरे ब्रो' को प्रचारप्रसारमा रहेकी नीतिले भनिन्, 'तर मोडलिङ गर्दै गएपछि फिल्मप्रति रूचि बढ्दै गयो।'
पुर्ख्यौली घर दाङ भएकी नीति काठमाडौंमा जन्मे-हुर्केकी हुन्। परिवारका सदस्यहरू सेनामा आबद्ध भए पनि नीति सानैदेखि टेलिभिजनप्रति आकर्षित थिइन्।
स्कुले जीवनमा हुँदा त्यति बेला लोकप्रिय सिरियल 'तितो सत्य' को सुटिङमा पुगेको उनी स्मरण गर्छिन्। टेलिभिजनप्रति आकर्षित भए पनि पछि गएर अभिनयमा आउँछु भन्ने सोच चाहिँ दिमागमा थिएन।
कक्षा ११ मा पढ्दै गर्दा उनलाई पहिलोपटक म्यागजिनमा फोटोसुटको प्रस्ताव आएको थियो। आमासँग गएर फोटोसुट गराएकी थिइन्।
त्यसपछि आफूलाई अवसरहरूले पछ्याउन थालेको नीति सम्झन्छिन्।
'अरू अवसरहरू पाउन थालेँ। कामहरू जोड्दै गएँ। मोडलिङमा व्यस्त बनिरहेँ। त्यसपछि अहिलेसम्म पछाडि फर्किएर हेर्नुपरेको छैन,' उनले भनिन्।
सेन्ट जेभियर्स कलेजमा स्नातक अन्तिम वर्षमा पढ्दै थिइन् गर्दा उनले मिस नेपाल-२०१७ मा सहभागी हुने तयारी गरिन्। मिस नेपाल इन्टरनेसनलको उपाधि विजेता बनेर चर्चामा आइन्। त्यसपछि फिल्मका प्रस्ताव आउन थाले। तर उनले काम गरिनन्।
त्यस बेलासम्म पनि आफू फिल्मका लागि तयार नरहेको उनी महसुस गर्थिन्।
'पढिरहेकी पनि थिएँ। अभिनयमा अनुभव नभएकाले हो कि, डर भएर नआँटेको पनि हुनसक्छ,' उनले भनिन्।
उनले केही वर्ष मोडलिङमै बिताइन्। थुप्रै विज्ञापन खेलिन्। धेरै कम्पनीका ब्रान्ड एम्बेस्डर बनिन्।
त्यसपछि भने उनको मनमा लाग्न थाल्यो – यतिका वर्ष मोडलिङमा बिताएँ। यसपछिको यात्रा के त?
अनि आफूले आफैलाई चुनौती दिएर फिल्मलाई करिअरका रूपमा अगाडि बढाउने प्रयास गर्ने निधो गरिन्। जसअनुसार अभिनय सिकेर फिल्ममा आउने तयारीमा लागिन्।
नेपालमा अनुप बराल, दीया मास्के, अशान्त शर्मा, भोलाराज सापकोटासँग अभिनय प्रशिक्षण लिइन्। अभिनय सिक्न भारतको मुम्बई पनि पुगिन्।
त्यहाँ भारतीय अभिनेता अनुपम खेरको इस्टिच्युटमा तीन महिनाको अभिनय कोर्ष गरेको उनी बताउँछिन्।
त्यसपछि उनले फिल्मका लागि थुप्रै निर्माता तथा निर्देशकसँग भेटघाट गरिन्। केही फिल्म साइन गरे पनि निर्माण काम अगाडि बढ्न सकेका थिएनन्।
'परिस्थिति त्यस्तै भएकाले ती फिल्मको काम अगाडि बढ्न सकेन। पछि बन्न पनि सक्छन्,' नीतिले भनिन्।
साइन गरेका काम अघि बढ्न नसकिरहेको त्यही मोडमा उनीसामु प्रस्ताव आएको फिल्म थियो खजुरे ब्रो।
उनले स्क्रिप्ट पढिन्, मन पर्यो। टिम पनि मन पर्यो। काम गर्ने निर्णय लिइन्। छायांकन सुरू भयो।
छायांकनअघि कार्यशाला भएकाले अभिनयका लागि गाह्रो नभएको उनी बताउँछिन्।
यो फिल्ममा उनी साधारण युवतीको भूमिकामा देखिएकी छन्।
'फिल्म पूर्वको परिवेशमा खिचिएको हो। म जस्तो छु त्योभन्दा फरक भूमिका निर्वाह गरेकी छु। फिल्ममा मेरो नाम पारू हो जो साधारण घरकी केटी हो। आफ्नै संसारमा आफै रमाउने त्यस्तो खालको पात्र हो,' नीतिले भूमिकाबारे थोरै कुरा खुलाइन्।
यो फिल्ममा थिएटरका कलाकारहरूसँग अभिनय गर्न पाउनु आफ्ना लागि 'प्लस प्वाइन्ट' भएको उनी बताउँछिन्।
उनले अगाडि भनिन्, 'सायद मैले स्टार-कास्ट फिल्म गरेको भए फरक दृश्य हुन्थ्यो होला। तर थिएटरका कलाकारको अभिनय अर्कै स्तरको हुँदो रहेछ। सबै जनाबाट केही न केही सिक्न पाएँ।'
फिल्मका लागि आफूले सक्दो मेहनत गरेको बताउने नीति दर्शकले रूचाउनेमा आशावादी छिन्।
आफ्नो फिल्म हिट होस् भन्ने चाहना सबैमा हुन्छ। नीतिमा पनि छ। तर जे भए पनि अभिनय कस्तो छ भन्ने महत्त्वपूर्ण कुरा रहेको उनी बताउँछिन्। फिल्मको व्यावसायिक पाटोले करिअरमा अर्थ राख्ने तर यात्रा नरोकिने उनको बुझाइ छ।
'फिल्म हिट वा फ्लप भन्ने मात्र होइन, अभिनय कस्तो छ भन्ने पनि महत्वपूर्ण कुरा हो। अभिनय नराम्रो भइहाले पनि अरू फिल्ममा सुधार्दै जाने हो,' उनले भनिन्, 'जे भए पनि फिल्मी यात्रा अगाडि बढाइराख्छु। अब यो यात्रा रोकिनेवाला छैन। फिल्म हिट भए अभिनयलाई निरन्तरता दिने, नभए छाड्ने सोच कोही कलाकारमा हुँदैन। ममा पनि छैन।'
नीतिले यति बेला नयाँ फिल्म 'घरज्वाइँ' को समेत कार्यशाला सुरू गरेकी छन्। कमेडी-रोमान्टिक यो फिल्ममा उनी हास्य अभिनेता जितु नेपालसँग देखिँदै छिन्। त्यस्तै उनले अर्को फिल्म 'रूखान' समेत साइन गरेकी छन्। यीबाहेक अरू फिल्मका लागि पनि कुरा भइरहेको छ।
उनलाई सबैजसो कलाकारसँग काम गर्न मन छ। निर्देशकमा निश्चल बस्नेत र रामबाबु गुरूङ मन पर्ने भएकाले उनीहरूको फिल्ममा काम गर्ने मन भएको उनले बताइन्।
पात्र र भूमिका भने दर्शकले पछिसम्म सम्झिने खालको निर्वाह गर्न पाइयोस् भन्ने चाहना छ नीतिको।
'अर्थपूर्ण र पछिसम्म प्रभाव रहने खालको भूमिका होस्। दर्शकले दस वर्ष पछिसम्म पनि त्यही पात्रको नामले चिनुन्,' उनले भनिन्।
त्यस्तै कलाकार 'भर्सटायल' हुनु पर्ने भएकाले फरक फरक फिल्ममा काम गर्दै जाने चाहना रहेको उनले बताइन्।
'अहिले कमेडी फिल्म गरेँ। अब रोमान्टिक, एक्सन गर्दै सबै किसिमका फिल्म खेल्ने मन छ,' नीतिले भनिन्।