नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको टी-२० सिरिजअन्तर्गत नेपालले नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नामिबियाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १८० जोड्यो।
नेपालका लागि कुशल मल्लले अर्धशतक प्रहार गरे। उनले नटआउट ५५ रन जोड्ने क्रममा ३७ बलमा १ चौका र ४ छक्का प्रहार गरे।
कुशल र आरिफ शेखबीच पाँचौ विकेटका लागि भएको ८५ रनको साझेदारी नेपालका लागि महत्वपूर्ण सावित भयो। आरिफले आउट हुनुअघि २४ बलमा ३१ रनको योगदान गरे।
आरिफ आउट भएपछि ब्याटिङमा आएका दीपेन्द्रसिंह ऐरीले ८ बलमा १६ रन जोडे। नेपालले पछिल्लो दुई ओभरमा ३ विकेट गुमाउँदा १५ रन जोड्न सक्यो।
१९औं ओभरको अन्तिम बलमा आउट भएका करण केसीले ३ बलमा १ छक्का प्रहार गर्दै ७ रन जोडे। अन्तिम दुई बल बाँकी छदा ट्रम्पलम्यानको बलमा आउट भएका सोमपाल कामीले २ रन मात्र बनाए।
खराब सुरुवात गरेको नेपालले दोस्रो ओभरमै विकेट गुमायो। अनिल साह र आसिफ शेखले ओपनिङ गरेको खेलमा आसिफ दोस्रो ओभरको पहिलो बलमा एक रनमा बोल्ड भए।
यस्तै चौथो ओभरमा कप्तान रोहित पौडेल ९ बलमा २ चौकाको मद्दतमा १० रन जोडेर आउट भए। सातौं ओभरको अन्तिम बलमा अनिल साह २३ रनमा आउट भए। उनले १७ बलमा ३ छक्का प्रहार गरे।
अर्को ओभरमा गुल्सन झा २६ रन बनाएर खेलिरहदा बर्नाल्ड स्कोल्ट्जको एलबिडब्लूको धरापमा परे। त्यतिबेला नेपालले ७.२ ओभरमा ४ विकेटको क्षतिमा ६४ रन जोडेको थियो। त्यसपछि कुशल र आरिफबीच पाँचौ विकेटका लागि भएको ८५ रनको साझेदारीले नेपाल अघि बढेको थियो।
बलिङमा नामिबियाका बेन शिकोन्गोले ३ विकेट लिए। उनले ४ ओभरमा २८ रन दिए। ज्याक ब्रासेलले २ विकेट हात पारे।
सिरिजका सुरुवाती दुई खेलमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग पराजय भोगेको थियो।