नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी साम्बाले फ्रेञ्च महिला लिगमा डेब्यू गोल गरेकी छिन्।
साम्बाले फ्रेञ्च महिला लिगको आफ्नो चौथो खेलमा एन अभान्ट ग्वेगाम्पका लागि गोल गर्न सफल भएकी हुन्। साम्बा युरोपको शीर्ष पाँच लिगको शीर्ष डिभिजनको क्लबमा आबद्ध हुने नेपालकी पहिलो र एकमात्र खेलाडी हुन्। जुन लिगमा शनिबार गोल गरेसँगै साम्बाले अर्को इतिहास कोरेकी छिन्।
लिलविरुद्धको खेलमा साम्बाले इन्जुरी समयको पहिलो मिनेटमा गोल गरिन्। यसअघि उनले तीन खेल खेले पनि गोल गर्न भने सफल भएकी थिइनन्।
खेलमा लिलविरुद्ध ग्वेगम्प २-० गोलले विजयी भयो। जितसँगै ग्वेगम्प नवौं स्थानमा उक्लिन सफल भयो।
क्लबसँगको सम्झौताका कारण नेपालले वाफ वुमन्स च्याम्पियनसिपको फाइनल खेल्दा साम्बाले गुमाएकी थिइन्। फिफा विन्डोको खेल नभएका कारण साफ फाइनल गुमाउँदै फ्रान्स पुगेकी थिइन्। साम्बाले वाफको सेमिफाइनलसम्ममा ९ गोल गर्दै प्रतियोगिताको सर्वाधिक गोलकर्ताको अवार्ड जितेकी थिइन्।
वाफ च्याम्पिनसिपकै दौरान साम्बाले राष्ट्रिय टिमका लागि ५० गोल पूरा गरेकी थिइन्। राष्ट्रिय टिमका लागि ५२ गोल गरिसकेकी साम्बा दक्षिण एसियामा देशका लागि सर्वाधिक गोलकर्ताको महिला खेलाडीको सूचीमा शीर्ष स्थानमा उक्लिएकी थिइन्।
यो पनि - दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकर 'साम्बा'को युरोपियन फुटबलमा उडान