विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं चैत १५ देखि विराटनगरमा हुने भएको छ।
प्रतियोगिताको आवश्यक तयारी तीव्र भएको आयोजक विराट गोल्डकप फुटबल ट्रष्टले जनाएको छ।
कोशी प्रदेशमा रात्रिकालीन फुटबल खेलको सुरूआत गर्ने एकमात्र प्रतियोगिता विराट गोल्डकप यस पटक पनि रात्रिकालीन नै हुने भएको छ।
ट्रष्टका अध्यक्ष किशोर बहादुर शाहीका अनुसार शहीद रंगशालामा हुने प्रतियोगिताका लागि आयोजकको तर्फबाट सांग्रिला मोरङ फुटबल एसोसिएसनसहित १० वटा टिम रहने जनाइएको छ।
प्रतियोगितामा साउथर्न समिति फुटबल संघ कोलकाता भारत, सिक्किम ड्रागन फुटबल क्लब सिक्किम भारत, आरटिसी फुटबल क्लब थिम्पू भुटान पाहुना टोली हुनेछन्।
त्यसैगरी विभागीय दुई टिमहरूमा नेपाल पुलिस र सशस्त्र प्रहरी फुलबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब हुनेछन्। मच्छिन्द्र फुटबल क्लब, एनआरटी क्लब र चर्च व्वाइज फुटबल क्लबले प्रतियोगिता खेल्नेछन्।
अघिल्लो वर्ष विराटनगरकै निजी फुटबल क्लबलाई प्रतियोगिता नै भाडामा लगाएको आरोप खेपेको ट्रष्टले यस वर्ष भने आफैं आयोजना गर्ने तयारी गरेको हो। प्रतियोगिताका लागि शहीद रंगशालाको मर्मत सम्भार र सरसफाइको काम सुरू भएको छ।
प्रतियोगिताका लागि कोशी प्रदेश सरकारले २५ लाख रुपैयाँ दिने प्रतिबद्धता प्रकट गरेको र विराटनगर महानगरपालिकाबाट १२ लाख र राष्ट्रिय खेलकुद परिषद्बाट ५ लाख रुपैयाँ प्राप्त हुने आयोजकको भनाइ छ।
प्रतियोगिता सम्पन्न गर्न एक करोड १८ लाख ४३ हजार २ सय रुपैयाँ अनुमानित खर्च लाग्ने समितिको भनाइ छ।
प्रतियोगिताको विजेताले ११ लाख, उपविजेताले ५ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन्। त्यसैगरी उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई नगद २१ हजार रुपैयाँ पुरस्कार दिइने आयोजक समितिले जानकारी दिएको छ।