अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक सी डिभिजन क्लब आरसी ३२ मा आबद्ध दुई खेलाडीलाई प्रतिबन्ध लगाएको छ।
बबिन बोहरा र सुमनबहादुर मगरलाई लिगका बाँकी खेलमा अनुशासन समितिको बैठकको सिफारिसका आधारमा प्रतिबन्ध लगाइएको एन्फाका सहायक महासचिव दमोदर भट्टराईले क्लबहरुलाई पत्र लेख्दै जानकारी दिएका छन्।
उनीहरुलाई गत आइतबार कारबाही गरिएको हो। क्लबमा आबद्ध नौ वटा क्लबहरुले बी डिभिजन क्लवमा दर्ता भएका बोहरा र मगरले आरसी३२ बाट खेलेको भन्दै उजुरी दिएका थिए। साथै कारबाहीको प्रक्रिया अघि नबढाएमा लिग बाँकी खेल नखेल्न भन्दै धम्की समेत दिएका थिए।
बबिन बी डिभिजन क्लब भगवती युवा क्लब र सुमन अर्को बी डिभिजन क्लब झापा फुटबल क्लबमा आबद्ध भएको क्लबहरुको दाबी छ। तर खेलाडीले क्लबहरुसँग मौखिक सहमति भएको र बी डिभिजन लिग हुन नसकेपछि सी डिभिजन क्लबबाट खेल्न बाध्य भएको बताउँदै आएका छन्।
एन्फाले बबिनले समाजिक युवा क्लब र सुमनले खालीबारी युवा क्लबविरुद्धको खेलमा आरसी ३२ बाट खेलेकोमा उनीहरुलाई दोषी ठहाराएको छ। एन्फाले दुवै खेलमा आरसी ३२ लाई १०-१० हजार जरिवाना गरेको छ भने बराबरी भएको खेलमा सामाजिक क्लबलाई ३-० ले विजयी गराउने निर्णय समेत गरेको छ।
एन्फाको निर्णयपछि सी डिभिजन क्लबका संयोजक तथा महावीर क्लबका अध्यक्ष दिवाकर घलेले एन्फाकै कारण सी डिभिजन लिग विवादित भएको बताए।
‘सी डिभिजन लिग सुरु हुनुपूर्व नै सबै क्लबलाई अरु लिगमा आबद्ध खेलाडी दर्ता गराउन नमिल्ने जानकारि गराइएको थियो। तर एन्फाले दर्ता भएका खेलाडीको सूची राम्रोसँग भेरिफाइ गर्न नसक्दा यो समस्या आएको हो,’ घलेले भने।