राष्ट्रिय महिला टोलीका डिफेन्डर हिराकुमारी भुजेल र मिडफिल्डर दीपा शाहीले साफ च्याम्पियनसिप २०२४ का बाँकी खेल गुमाउने भएका छन्।
गत शुक्रबार दशरथ रंगशालामा भुटानविरुद्ध गोलरहित बराबरीमा सकिएको खेलमा दुवैको एसीएलमा चोट लागेपछि साफ महिला च्याम्पियनसिपको बाँकी खेल गुमाउने भएका छन्।
टोलीका चिकित्सक ज्योति राई र फिजियोथेरापिस्ट नवीना वैद्यले गहिरो चोटको पुष्टि गर्दै दुवै खेलाडीको आजै शल्यक्रिया गरिने जानकारी दिए।
फिजियोथेरापिस्ट वैद्यले एसीएल शल्यक्रियाबाट निको हुन सामान्यतया करिब नौ महिना लाग्ने उल्लेख गरिन्।
भुटानविरूद्धको खेलमा दुवै जना घाइते हुँदै बीचैमा खेल त्याग्न बाध्य भएका थिए। शुक्रबार नै दुवैलाई अस्पताल भर्ना गरिएको थियो।
साफमा नेपालले आफ्नो दोस्रो खेल सोमबार माल्दिभ्ससँग खेल्दैछ।