संयुक्त राज्य अमेरिकाका विश्वविद्यालयहरू शैक्षिक जनशक्ति उत्पादन थलो मात्र होइनन्, खेलाडी उत्पादन गर्ने प्रशिक्षण केन्द्र पनि हुन्।
अमेरिकाका हरेक राज्यमा विश्वविद्यालयका विभिन्न खेलका आफ्नै टोली हुन्छन्। ती टोलीले सुरूमा राज्यस्तरीय प्रतियोगितामा भाग लिन्छन् भने त्यहाँबाट छनोट भएका टोलीले केन्द्रीय स्तरमा प्रतिस्पर्धा गर्छन्। अमेरिकन फुटबल, फुटबल, बास्केटबल, भलिबल, गल्फ, एथ्लेटिक्स, पौडी लगायतका खेलमा विश्वविद्यालयका ठूला-ठूला प्रतियोगिता हुन्छन्। यस्ता प्रतियोगिताबाट अमेरिकाले राष्ट्रिय खेलाडी समेत उत्पादन गर्ने गरेको छ।
त्यस्ता विश्वविद्यालय टोलीमध्ये एक फुटबल टोलीको कप्तानी भने नेपालका सुमित घिमिरेले गरिरहेका छन्। परिवारसँगै सन् २०१६ मा अमेरिका पुगेका सुमितले पेल्सलभानिया राज्जको पेन स्टेट योर्कको फुटबल टोलीको कप्तानी गरिरहेका छन्। सुमित आफ्नो टोलीलाई राज्यस्तरीय लिगको च्याम्पियन मात्र होइन केन्द्रीय स्तरको लिगमा पुर्याउने अभियानमा छन्।
हाल पेन स्टेट योर्क टोलीले पेन्सलभानियाको विश्वविद्यालस्तरको लिग खेलिरहेको छ। जसलाई पेन स्टेट युनिभर्सिटी एथ्लेटिक कन्फरेन्स (पिएसयुएसी) भनिन्छ।
यो सिजन पेन स्टेट योर्कले राम्रो नतिजा निकालिसकेको छ। उसले सात मध्ये छ खेलमा जित र एक खेलमा बराबरी खेलेको छ।
यो लिगको शीर्ष पाँच टोली प्लेअफमा पुग्नेछन्। जुन प्लेअफ एक खेलको नकआउट फर्म्याटमा हुने गर्छ। शीर्ष पाँच मध्ये शीर्ष तीन टोलीले भने प्लेअफको पहिलो राउन्डमा बाइ पाउँदै सेमिफाइनलमा पुग्छन्। जुन टोलीले प्लेअफको जित्छ त्यो टोली च्याम्पियनसिपको फाइनल चरणमा पुग्नेछ। योर्कले पछिल्लो पटक सन् २००९ मा च्याम्पियनसिपको उपाधि जितेको थियो।
योर्कले पिएसयुएसीसँगै अर्को प्रतियोगितामा पनि प्रतिस्पर्धा गर्छ। जुन अमरिकाभरको अन्तरकलेज प्रतियोगिता मध्ये एक हो। जुन प्रतियोगितालाई युएससिएए भनिन्छ।
योर्क हाल युएससिएएको दोस्रो डिभिजनको उत्कृष्ट दश भित्र छ। राष्ट्रियस्तरको प्रतियोगिता खेल्नका लागि राज्यस्तरीयको प्रतियोगिता जित्नैपर्छ। सुमित आफ्नो कप्तानीमा योर्कलाई युएससिएएमा प्रतिस्पर्धा गराउन उद्यत छन्।
सुमित हाल पेल्सलभानिया स्टेट युनिभर्सिटीअन्तर्गत पेन स्टेट योर्क क्याम्पसमा सूचना प्रविधिमा स्नातक अध्ययन गरिरहेका छन्। उनी क्याम्पस भर्ना भएसँगै फुटबल टोलीमा पनि आबद्ध भएका हुन्। कलेजको टोलीबाट तेस्रो सिजन खेलिरहेका उनी कप्तान बनेको यो दोस्रो सिजन हो।
सेन्ट्रल अट्याकिङ मिडफिल्डरको रूपमा खेल्न रूचाउने उनी कक्षा ५ पूरा गरेपछि अमेरिका पुगे। सन् २०१६ मा परिवारसँगै अमेरिका गएसँगै त्यहाँको हाइस्कुलबाट फुटबल खेल्न थालेका थिए। उनले हाइस्कुलबाट तीन वर्ष टोलीमै रहेर फुटबल खेले।
उनी नेपालमा फुटबल भनेपछि हुरूक्कै हुन्थे। रंगशालामा भएका नेपाली राष्ट्रिय टोलीका कुनै पनि खेल छुटाउन चाहादैन थिए।
नेपालमा खेल्ने अवसर नजुटे पनि उनले अमेरिका पुगेपछि माथिल्लो स्तरमा सिक्ने मात्र होइन खेल्ने पनि मौका पाए। ‘अमेरिका पुगेपछि माथिल्लो स्तरमा फुटबल खेल्ने अवसर पाएँ। साथै फुटबललाई बुझ्दै तथा गम्भीर भएर फुटबलमै समर्पित भएँ,’ सुमितले सेतोपाटीसँग भने।
२० वर्षीय सुमितले नेपालमा आफूले हेरेका फुटबल खेल अझैँ बिर्सन सकेका छैनन्। काठमाडौंको लौनचौरस्थित आदर्श योगहरी स्कुल पढ्दा नेपालको जर्सी लगाएर राष्ट्रिय झण्डा बोकेर रंगशाला गएको क्षण अहिले पनि उनलाई झलझल्ति याद आउछ।
लमजुङ, बाहुनडाँडाका उनी बाल्यकालदेखि नै फुटबलर बन्ने सपना देखेर हुर्किएको बताउँछन्। त्यसैले उनी नेपालबाट खेल्ने अवसर पाए सझैँ तयार छन्।
‘आफ्नो देशको लागि खेल्ने धेरैको सपना हुन्छ। सानोमा पहिलो पटक खेल्दा सबैलाई यस्तै हुन्छ,’ उनले भने, ‘यदि मैले मौका पाएँ मेरो देशको प्रतिनिधित्व गर्न र खेल्न तयार छु।’
देशका लागि खेल्ने कुरा सजिलो नभएको कुरा भने उनलाई थाहा छ। त्यसका लागि ठूलो मिहिनेत र त्याग चाहिने उनले बताए।
‘माथिल्लो स्तरमा खेल्नको लागि चाहिनिे कडा परिश्रम, दृढ संकल्प र त्यागबारे पनि सचेत छु,’ उनले भने, ‘मैले यहाँ खेल्न पनि धेरै वर्षदेखि त्याग र परिश्रम गर्दै आएको छु।’
सुमित पछिल्लो पाँच वर्षदेखि अमेरिकामा प्रतिस्पर्धात्मक फुटबल खेल्दै आएका छन्।
उनले अमेरिका र नेपालमा फुटबल खेल्ने स्तर तथा तरिकामा धेरै फरक पाएका छन्। अमेरिकामा फुटबल खेल्ने तरिका, खेलाडी र रणनीति फरक भएको उनी बताउँछन्।
‘यस्ता कुरा खेल्दै र प्रशिक्षण गर्दागर्दै सिकिने कुरा हुन्। जहाँ गए पनि त्यहाँको फुटबल वातावरणमा भिज्न सक्नु पनि खेलाडीको क्षमता हो,’ उनले भने।