नेपाली महिला फुटबलका लागि अन्तर्राष्ट्रिय फुटबलको फाइनल फेरि पीडादायी सावित भयो। पछिल्लो १४ वर्षमा नेपाली महिला फुटबलले १२औं फाइनल खेल्दा त्यो फेरि असफल फाइनलको रूपमा दर्ज भयो।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले १५ हजार घरेलु दर्शकअघि अन्तर्राष्ट्रिय फुटबलको १२औं र साफ महिला च्याम्पियनसिपको छैटौं फाइनल खेल्यो।
घरेलु दर्शक र सेमिफाइनलमा पाँच पटकको विजेता भारतविरूद्ध जित निकाल्दा आत्मविश्वासी देखिएको नेपाली टोली बंगलादेशविरूद्ध सफल भने हुन सकेन। दोस्रो हाफमा तीन गोल भएको खेलमा नेपाल २-१ ले पराजित भयो।
पहिलो हाफ बराबरीमा सकिँदा ५२ मिनेटमा बंगलादेशले अग्रता लिएको थियो। नेपाली डिफेन्डरले क्लियर गर्न नसकेको बलमा बंगलादेशकी मोनिका चक्माले डिबक्स भित्रबाट गोल गर्दा रंगशालामा उपस्थित हजारौं दर्शक स्तब्ध भएका थिए।
तर नेपालले पाँच मिनेटमै गोल फर्काएर दर्शकलाई खुसी दियो। नेपालका लागि अमिषा कार्कीले ५६ मिनेटमा बराबरी गोल गरिन्। उनले प्रिति राईले सेन्टर एरियाबाट दिएको पासमा उत्कृष्ट गोल गरेकी थिइन्।
तर खेल सकिन नौ मिनेट बाँकी छदा बंगलादेशले फेरि अग्रता लियो। ८१ मिनेटमा ऋतु चक्माले गोल गर्दै दोस्रो पटक अग्रता दिलाइन्। उनले कर्नर एरियाबाट दोस्रो बार च्याप्दै हानेको प्रहारलाई नेपालकी गोलकिपर तथा कप्तान एन्जिला तुम्बापो सुब्बाले रोक्न सकिनन्।
त्यसपछि नेपाली खेलाडीले बल आफ्नो नियन्त्रणमा लिन सकेनन्। उनीहरूको खुट्टाले बल राम्ररी नियन्त्रण सकेन भने मिस पास भइरह्यो।
त्यसअघि नेपालले ६१ मिनेटमा अग्रता लिने अवसर खेर फालेको थियो। सावित्रा भण्डारी 'साम्बा' ले ६१ मिनेटमा राम्रो रनिङमा डिबक्सबाट सेकेन्डबार च्याप्दै हानेको प्रहार सफल भएन।
खेलको दोस्रो मिनेटमै बंगलादेशले नेपालविरूद्ध डरलाग्दो आक्रमण गरेको थियो। नेपालकी डिफेन्डर गीता रानाले डिबक्स नजिक मिस पास दिएपछि पाएको बलमा बंगलादेशकी कप्तान सविना खातुनले सशक्त प्रहार गरेकी थिइन्। तर उनको प्रहार बारमा लागेर फर्किएको थियो। त्यसपछि सविनाले गरेको हेडरलाई नेपाली गोलकिपर एन्जिला तुम्बापो सुब्बाले नियन्त्रणमा लिइन्।
खेलको दसौं मिनेटमा नेपालले अग्रता लिने अवसर गुमायो। बंगालदेशकी गोलकिपर रूप्ना चक्मा अघि बढेको अवस्थामा नेपालकी अमिषा कार्कीले डिबक्समा गोल गर्ने अवसर पाइन्। तर उनको प्रहार बारमा लागेर फर्किएको थियो।
नियमित महिला लिग गर्न नहुँदा नेपाली महिला खेलाडीमा एक्सपोजरको कमी छ। साम्बा र रेखा पौडेल बाहेक अरू खेलाडीले उच्च स्तरको फुटबल खेलेका छैनन्। केही खेलाडीले भारतीय लिग खेले पनि त्यसले साफको उपाधि जित्न पर्याप्त नभएको स्पष्ट देखिएको छ।
त्यस्तै दुई वर्षअघिको महिला लिग त एन्फाले पूरा नहुँदै विजेता घोषणा गरेको थियो। यसले पनि एन्फाले महिला फुटबललाई हेर्ने नजर प्रस्ट हुन्छ।
बुधबार उपविजेतामा सीमित बनेसँगै नेपाल साफको फाइनलमा छैटौं पटक पराजित भयो। नेपालले बंगलादेशसँग सन् २०२२ को संस्करणको फाइनलमा पनि ३-१ गोलको पराजय भोगेको थियो। नेपाल साफको उपाधि भिडन्तमा बंगलादेशसँग दुई पटक र भारतसँग चार पटक पराजित भइसकेको छ।
नेपाली महिला टोली अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पराजित भएको यो १२औं पटक हो। नेपाल १२औं फाइनलमा पराजित हुँदा फेरि पनि उपविजेतामै सीमित बनेको हो।
साफको फाइनल पुग्नु नेपालका लागि कुनै नौलो होइन। नेपालका लागि अहिलेसम्म खड्किएको एउटै कुरा उपाधि नै हो। किनभने नेपाली महिला टिमले पछिल्लो १४ वर्षमा अन्तर्राष्ट्रिय फुटबलमा ११ पटक फाइनल खेले पनि अहिलेसम्म उपाधि जित्न सकेको छैन। जसका कारण नेपाली टोलीकी स्टार फर्वार्ड सावित्रा भण्डारी 'साम्बा' ले आफ्नो लक्ष्य साफको उपाधि जित्नु रहेको बताउँदै आएकी छिन्।
साफ महिला च्याम्पियनसिपमा अन्तर्गत यसअघि सन् २०१०, २०१२, २०१४ र २०१९ फाइनलमा नेपालले भारतसँग हार बेहोरेको थियो। दुई वर्षअघि सन् २०२२ मा घरेलु मैदानमा भएको साफको फाइनलमा पनि नेपालले बंगलादेशसँग पराजय भोगेको थियो।
यस्तै नेपालले तीन पटकको दक्षिण एसियाली खेलकुद (साग) मा दोस्रो स्थानमै चित्त बुझाएको थियो। सन् २०१०, २०१६ र २०१९ को साग गेम्सको स्वर्ण भिडन्तमा नेपाल भारतसँग नै पराजित भएको थियो।
नेपालले २०१९ मा भारतमा भएको विमेन्स गोल्ड कपमा पनि फाइनलमा स्थान बनाएको थियो। तर नेपाली टिम उपाधि भिडन्तमा म्यानमारसँग पराजित हुन बाध्य भयो।
सन् २०१९ मै किर्गिस्तानमा भएको नाडेज्दा कपमा पनि नेपालले उपविजेतामै चित्त बुझाउन पर्यो। नेपाली टिम उज्वेकिस्तानसँग पराजित भएको थियो।
यस्तै गत फागुनमा नेपालले वेस्ट एसियन फुटबल फेडेरेसन (वाफ) विमेन्स फुटबल प्रतियोगिताको फाइनलमा पुगेर एघारौं पटक उपाधि नजिक पुग्यो। उपाधि जोर्डनसँग फाइनल खेल्दा फेरि नेपाल अभागी सावित भयो। जोर्डनसँग नेपाल पेनाल्टी सुटआउटमा ५-३ ले पराजित भयो।
पछिल्लो समय बंगलादेशको महिला फुटबल निकै प्रगति गरेको छ। समूह चरणमा उसले पाँच पटकको विजेता भारतविरूद्ध ३-१ को जित निकाल्यो। सेमिफाइनलमा भुटानको पोस्टमा बंगलादेशले सात गोल गरेको थियो। भुटान त्यही टिम हो, जोविरूद्ध नेपालले समूहमा गोलरहित बरारबी खेलेको थियो।
सन् २०१० यता नेपाली महिला राष्ट्रिय टिमले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा १२औं पटक फाइनलमा स्थान बनाएको छ।
१२ वर्षमा १२औं पटक फाइनलमा भिड्न लागेको नेपालका लागि सहज भने पक्का थिएन। किनभने बंगलादेशले दुई वर्षअघि भएको साफको फाइनलमा नेपाललाई घरेलु मैदानमा स्तब्ध पार्दै पहिलो पटक उपाधि जितेको थियो। खेलमा नेपाल निकै निरीह सावित भएको थियो। यद्यपि फाइनलमा नेपालकी स्टार फर्वार्ड सावित्रा 'साम्बा' डेंगी सक्रमणका कारण कमजोर भएकी थिइन्। तर पनि उनले फाइनल खेलेकी थिइन्। त्यसअघि साम्बाले श्रीलंकाविरूद्धको समूह चरणको अन्तिम खेल र भारतविरूद्धको सेमिफाइनल गुमाएकी थिइन्।
नेपाली टिमलाई खड्किएको अर्को पक्ष भने साफको तयारीअघि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न नपाउनु हो।
अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको १४ वर्षमै बंगलादेशले सार्क क्षेत्रमा बलियो बन्दै गएको छ। महिला फुटबल विकासका लागि लगानी गरिरहेको बंगलादेशले ग्रासरूट फुटबल अभियान सञ्चालन गरिरहेको छ।
बंगलादेशले महिला फुटबलमा सन् २००७ देखि मात्र राष्ट्रिय टिम बनाएर खेल्न थालेको थियो। तीन वर्षपछि मात्र बंगलादेशले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गर्यो। सन् २०१० को दक्षिण एसियली खेलकुदमा नेपालविरूद्ध खेल्दै बंगलादेशको महिला टिमले अन्तर्राष्ट्रिय फुटबलमा पाइला टेकेको थियो। डेब्यू खेलमा भने बंगलादेशलाई नेपालले १-० गोलले हराएको थियो।
त्यसयता बंगलादेशले महिला फुटबलमा लगातार लगानी गरिरह्यो। सन् २०१६ मा त्यसको परिणाम देखिएको थियो। सन् २०१६ मा एएफसी यू-१६ च्याम्पियनसिप छनोट पार गर्दै बंगलादेशको यू-१६ महिला टिमले इतिहास रचेको थियो। छनोटमा उसले इरान, चाइनिज ताइपेई, यूएई, सिंगापुर र किर्गिस्तान रहेको समूहमा शीर्ष भएको थियो।
सन् २०१७ मा एएफसी यू-१६ च्याम्पियनसिपमा खेल्ने एक्लो दक्षिण एसियाली टिम बनेको बंगलादेशले समूह चरणमा जापान, अस्ट्रेलिया र उत्तर कोरियासँग प्रतिस्पर्धा गरेको थियो। तीनै खेलमा पराजित हुँदा १५ गोल खाएको बंगलादेशका खेलाडीका लागि अनुभव बटुल्ने ठूलो मौका बन्यो।
समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियासँग ३ गोल खाएको बंगलादेश २ गोल गर्न सफल भएको थियो। कुनै समय २-१ ले अघि रहेको बंगलादेशले अन्तिम १२ मिनेटमा २ गोल खाएको थियो।
त्यसयता उमेर समूहका खेलाडीले राष्ट्रिय टिममा स्थान बनाउन थाले। अनि बंगलादेशको महिला राष्ट्रिय टिम बलियो बन्दै गयो।
सन् २०२१ मा बंगलादेश नेपालसँग मैत्रीपूर्ण खेलका लागि काठमाडौं आएको थियो। पहिलो खेलमा नेपाल २-१ ले विजयी भएको थियो भने दोस्रो खेल गोलरहित बराबरीमा सकियो।
एक वर्षपछि त बंगलादेशले नेपाललाई घरेलु मैदानमै हराइदियो। सन् २०२२ को साफको फाइनलमा बंगलादेशले नेपाललाई ३-१ गोलले पराजित गर्यो। सो हार नेपालले बंगलादेशसँग बेहोरेको पहिलो हार थियो।
यसपटक बंगलादेश झनै बलियो देखियो। कप्तान सविना खानुत र तोहुरा खातुन उत्कृष्ट लयमा देखिएका थिए। पाँच पटकको च्याम्पियन भारतमाथि ३-१ को जित निकाल्दा तोहुराले दुई गोल गरेकी थिइन्।