एएफसी वुमन्स एसियन कप २०२६ का लागि आगामी जुन २३ देखि जुलाई ५ सम्म छनोट प्रतियोगिता आयोजना हुँदैछ।
छनोट प्रतियोगितामा नेपालसहित ३३ टोलीले भाग लिँदैछन्। ३३ टोलीलाई आठ समूहमा विभाजन गर्न आगामी मार्च २१ मा ड्र हुँदैछ। आठ समूहका विजेताहरू सन् २०२६ मा अस्ट्रेलियामा हुने एएफसी वुमन्स एसियन कप २०२६ मा पुग्नेछन्। यति मात्र होइन उक्त प्रतिस्पर्धा २०२७ को फिफा वुमन्स विश्वकप र २०२८ को ओलम्पिकको छनोट समेत हो।
यही छनोटलाई मध्यनजर गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आयोजना गर्दैछ।
च्याम्पियनसिपमा नेपालसहित लेवनान, किर्गिस्तान र म्यानमारबीच प्रतिस्पर्धा हुँदैछ। म्यानमार प्रतियोगितामा सहभागीमध्ये उच्च वरीयताप्राप्त टोली हो। म्यानमार फिफा महिला वरीयताको ५५औं स्थानमा छ। नेपाल १०३औं स्थानमा छ भने किर्गिस्तान १२८औं र लेवनान १३४औं स्थानमा छन्।
नेपालले मात्र होइन अरू तीन टोलीले पनि च्याम्पियनसिपलाई एसियन कप छनोटको तयारीको रूपमा लिएको बताएका छन्।
सोमबार किर्गिस्तानसँग खेल्नुअघि नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङले सबै तयारी सकिएको बताए। उनले नेपालसँग प्रतिस्पर्धा गर्ने टोलीमध्ये म्यानमार बलियो टोली भएको समेत बताए।
नेपालले म्यानमारसँग अहिलेसम्म चार खेल खेलेको छ। ती चारै खेलमा नेपालले जित निकाल्न सकेको छैन। तीन खेलमा पराजित भएको नेपालले एक खेलमा बराबरी खेलेको थियो।
यस्तै लेवनानसँग नेपालले गत वर्ष वाफ च्याम्पिनसिपमा प्रतिस्पर्धा गरेको थियो। सो खेलमा नेपालले लेवनानमाथि २-१ गोलको जित निकालेर फाइनलमा स्थान बनाएको थियो।
किर्गिस्तान र नेपालबीच अहिलेसम्म एकपटक प्रतिस्पर्धा भएको छ। ६ वर्षअघि भएको उक्त प्रतिस्पर्धामा नेपाल विजयी भएको थियो।
६ वर्षपछि किर्गिस्तानसँग सोमबार खेलेर नेपालले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको सुरूवात गर्दैछ। नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङ ६ वर्षको बीचमा किर्गिस्तानको टोलीमा धेरै परिवर्तन आएको बताउँछन्। ६ वर्षअघि ८-२ गोलको जित निकाले पनि अहिले सो टोली बलियो भएको उनको तर्क छ। साथै उनले किर्गिस्तानको टोली काउन्टर अट्याकमा केन्द्रित हुने भएकाले नेपालले त्यसमा ध्यान दिनु पर्ने बताए।
भर्खरै महिला लिग सकिएकाले नेपाली टोलीका खेलाडीहरू फिट हुनु राम्रो पक्ष भएको प्रशिक्षक तामाङको भनाइ छ।
![Football--Nepal-photo-library-18-ink-1739705751.jpeg](https://www.setopati.com/uploads/posts/Football--Nepal-photo-library-18-ink-1739705751.jpeg)
च्याम्पियनसिपका लागि ग्रिसको लिग खेलेर फर्किएकी नेपाली टोलीका कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले साफ सकिएको तीन महिनापछि अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेकोमा एन्फालाई धन्यवाद दिइन्। साथै उनले नेपाली टोली तयार भएको र यसअघि भएका गल्ती कम गरेर जित्नका लागि प्रतिस्पर्धा गर्ने बताइन्।
उनले नेपालका लागि प्रतियोगिता अवसर भएको समेत बताइन्।
प्रतियोगिताका लागि चार दिनअघि नेपाल फर्किएकी एन्जिलाले युरोपको लिगको अनुभव पहिलोपटक सँगालेकी हुन्। फरवार्ड रेखा पौडेल पनि युएईको लिग खेलिरहेकी छिन्। उनी शनिबार साँझ नेपाल आइपुगेकी थिइन्।
सोमबार साँझ किर्गिस्तानविरूद्ध हुने पहिलो खेलमा स्टार फरवार्ड सावित्रा भण्डारी साम्बाले भने खेल्ने सम्भावना न्यून छ। उनी सोमबार बिहान मात्र फ्रान्सबाट नेपाल आइपुग्दैछिन्। नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङले साम्बाले पहिलो खेल गुमाउने संकेत गर्दै भने, ‘उनले भोलि रेस्ट गर्छिन् होला।’
प्रतियोगितामा बलियो मानिएको म्यानमारका प्रशिक्षक टेसुरो उकीले वरीयताले प्रतिस्पर्धामा खासै फरक नपर्ने बताए। उनले नेपालसहित सबै टोलीले प्रतियोगिताका लागि राम्रो तयारी गरेको बताउँदै प्रतिस्पर्धात्मक खेलको अपेक्षा गरे। उनले पनि एसियन कप छनोटका लागि प्रतियोगिता महत्वपूर्ण हुने बताए।
किर्गिस्तानका जकिरोभले आफ्नो टोली युवा रहेको बताउँदै प्रतियोगिताबाट एसियन छनोटका लागि राम्रो तयारी गर्ने बताए।
![Football--Nepal-photo-library-12-ink-1739705749.jpeg](https://www.setopati.com/uploads/posts/Football--Nepal-photo-library-12-ink-1739705749.jpeg)
लेवनानका प्रशिक्षक गार्जेदिनीले पनि च्याम्पियनसिपलाई एसियन छनोटअघि राम्रो अवसर भएको ठान्छन्। उनले प्रतियोगिताबाट टोलीको सन्तुलन मिलाउन काम गर्ने बताए। साथै अघिल्लो वर्ष वाफमा नेपालसँग खेलेको खेलको सम्झना गर्दै नेपालका घरेलु दर्शकअघि खेल्न उत्साहित भएको बताए।
प्रतियोगिताका सबै खेल फिफा अन्तर्राष्ट्रिय विन्डोजमा हुने भएकाले खेलहरूले अन्तर्राष्ट्रिय मान्यता हुनेछ।
प्रतियोगिताका खेलहरू राउन्ड रोबिन आधारमा खेलिनेछ भने शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। खेलहरू दिनको २ र साँझको ६ बजे खेलिनेछ।
प्रतियोगिताको टिकट दर साधारण पारापिटतर्फ ५०० र भिआइपीतर्फ एक हजार तोकिएको छ। टिकट खल्ती एपबाट किन्न सकिनेछ।
प्रतियोगिताको लिग चरण र फाइनल गरी नौ दिनमा चार दिन म्याच डे हुनेछन्। नेपालले फागुन ५ मा किर्गिस्तान, फागुन ८ मा लेवनान र फागुन ११ मा म्यानमारसँग खेल्नेछ।
नेपाली टोली
गोलकिपर
एञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ
डिफेन्डर
अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समिक्षा घिमिरे, बिमला चौधरी, मनमाया दमाई
मिडफिल्डर
अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरू लिम्बु, सविता राना मगर, रेनुका हमाल, सुष्मा तामाङ
फरवार्ड
सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल
खेल तालिका
फागुन ५
म्यानमार भर्सेस लेवनान : दिउँस २ बजे
नेपाल भर्सेस किर्गिस्तान : साँझ ६ बजे
फागुन ८ गते
किर्गिस्तान भर्सेस म्यानमार : दिउँस २ बजे
नेपाल भर्सेस लेवनान : साँझ ६ बजे
फागुन ११ गते
किर्गिस्तान भर्सेस लेवनान : दिउँस २ बजे
नेपाल भर्सेस म्यानमार : साँझ ६ बजे
फागुन १४ गते
फाइनल : साँझ ६ बजे
![Football--Nepal-photo-library-01-ink-1739705747.jpeg](https://www.setopati.com/uploads/posts/Football--Nepal-photo-library-01-ink-1739705747.jpeg)