एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोली अहिले प्रशिक्षणमा व्यवस्त छ।
नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डे विल्डेको प्रशिक्षणमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले अभ्यास गरिरहेको छ।
उज्वेकिस्तानमा हुने क्वालिफायरका लागि महिला टोलीले तयारी गर्दैछन्। फ्रान्समा व्यावसायिक फुटबल खेलिरहेकी सावित्रा भण्डारी पनि टोलीमा जोडिएकी छन्। युएईमा दुबईमा खेल्दै आएकी रेखा पौडेल पनि दुई दिन अगाडि नेपाल आइपुगेकी थिइन् । उनले पनि बुधबार टोलीसँगै प्रशिक्षण गरिन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का एएफसी एशिया कप छनोटको तयारीका लागि
प्रो लाइसेन्सप्राप्त प्रशिक्षक प्याट्रिक डे विल्डलाई नेपाली टोलीको मुख्य प्रशिक्षकमा भित्राइएको हो ।
उनको प्रशिक्षण टोलीमा राजेन्द्र तामाङ, भगवती थापा र सुरज लामा (गोलकिपिङ प्रशिक्षक) छन्। राजेन्द्रले नै यसअघि नेपाली टोली हेर्दै आएका थिए ।
नेपाली महिला टोलीले एएफसी एसियन कप छनोटको तयारीका लागि थाइल्याण्डमा दुई मैत्रीपूर्ण खेल पनि खेलेको थियो। नेपाली टोलीले पहिलो खेल १–० र दोस्रो २–० ले गुमाएको थियो ।
उज्वेकिस्तानमा हुने एएफसी एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा छ । यो समूहमा नेपालसहित लाओस, उज्वेकिस्तान र श्रीलंका छन् । यस समूहको खेल उज्बेकिस्तानमै हुने तालिका छ।
नेपालले जुन २९ मा लाओससँग खेल्दै छनोटको सुरुवात गर्नेछ । नेपालले जुलाई २ मा श्रीलंका र ५ मा घरेलु टोली उज्वेकिस्तानको सामना गर्नेछ । समूहको शिर्ष स्थानमा रहने टोलीले अस्ट्रेलियामा हुने एसियन कप खेल्न पाउनेछ।
—न्युज एजेन्सी नेपाल