इंग्लिस क्लब लिभरपुलका फरवार्ड डिओगो जोटाको स्पेनमा भएको कार दुर्घटनामा आफ्ना भाइ आन्द्रेसँगै २८ वर्षको उमेरमा निधन भएको छ।
पोर्चुगिज फुटबलर जोटा र उनका भाइ आन्द्रे सवार कार जामोरा प्रान्तमा सडकबाट खसेर आगो लाग्दा दुवैको मृत्यु भएको हो। आन्द्रे पनि फुटबल खेलाडी हुन्।
उनीहरू चढेको कार जामोरा शहर नजिकै सडकबाट अनियन्त्रित भई खसेको र त्यसमा आगो लागेको थियो।
यो दुर्घटना ए-५२ राजमार्गमा भएको बताइएको छ, जहाँ उनीहरूको कार सडकबाट बाहिर गएर आगलागी भएको थियो।
यो खबर बीबीसी स्पोर्ट्स र स्काइ स्पोर्ट्सले स्थानीय अग्निनियन्त्रक र गार्डिया सिभिललाई उधृत गर्दै लेखेका छन्।
यो दुर्घटना जोटाको कार्डोसोसँग जुन २२, २०२५ मा भएको विवाहको दुई हप्ता पनि नबित्दै भएको हो।
२८ वर्षीय जोटा सन् २०२० मा प्रिमियर लिग प्रतिद्वन्द्वी वुल्भ्सबाट ४४.७ मिलियन युरोमा लिभरपुलमा अनुबन्धित भएका थिए।
त्यसयता उनले लिभरपुलका लागि १८२ खेल खेल्दै ६५ गोल गरेका छन् र २६ गोलका लागि असिस्ट प्रदान गरेका छन्।