नेपाली महिला फुटबल टोली एएफसी वुमन्स एसियन कप २०२६ मा छनोट हुन असफल भएको छ।
समूह ‘एफ’ को निर्णायक खेलमा घरेलु टोली उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४-२ ले पराजित हुँदा नेपाल एसियन कपमा छनोट असफल भएको हो। समूह विजेता मात्र एसियन कपमा छनोट हुने व्यवस्था छ।
निर्धारित समयको खेल ३-३ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पुगेको नेपालका लागि दुई खेलाडी गोल गर्न असफल भए।
पहिलो पेनाल्टी प्रहार गरेकी कप्तान सावित्रा भण्डारी साम्बाको प्रहार पोलमा लागेर फर्कनु नेपालका लागि दुर्भाग्य सावित भयो।
त्यसपछि गीना राना र सविता रानाले गोल गरे। तर चौथो पेनाल्टी हानेकी गोलकिपर अन्जना रानामगर असफल भइन्। उनको प्रहार उज्वेकिस्तानकी गोलकिपरले विफल पारिन्।
उज्वेकिस्तानका लागि भने चारै खेलाडीले पेनाल्टीमा गोल गरे।
त्यसअघि पहिलो हाफमा नेपाल ३-१ गोलले पछि पर्यो। तर दोस्रो हाफमा नेपालले दुई गोल फर्कायो।
दोस्रो मिनेटमा गीना रानाले हेडमार्फत् विपक्षीको प्रहार रोके पनि त्यहि स्थनमा रहेकी खाबबुलेएभाले गोल गरिन्।
१२औं मिनेटमा विपक्षीको क्रस रोक्ने क्रममा समिक्षा घिमिरेको खुट्टामा लागेर बल छिर्दा नेपाल २-० गोलले पछि पार्यो।
तर २४औं मिनेटमा कप्तान साम्बाले डिबक्स बाहिरबाट सशक्त प्रहार गर्दै गोल गरिन्।
३७ मिनेटमा सरस्वती हमालको ह्यान्ड बलमा पाएको पेनाल्टीमा उज्वेकिस्तानका लगि सोयिमोभाले गोल गर्न सफल भइन्।
पहिलो हाफको इन्जुरी समयमा साम्बालाई फल गरेकी नोजिमाखोनले रातो कार्ड पाउँदा घरेलु टोली १० खेलाडीमा सीमित बन्यो।
दोस्रो हाफमा ७० र ७१औं मिनेटमा साम्बाले गोल गर्दा नेपाल खेलमा फर्कन सफल भए। त्यसपछि पेनाल्टी सुटआउटमा भने नेपाल अभागी सावित भयो।
यसअघि दुवै टोलीले लाओस र श्रीलंकलाई पराजित गरेका थिए। नेपालले लाओसलाई ९-० र श्रीलंकलाई ८-० गोलले हराउँदा उज्वेकिस्तानले श्रीलंकालाई १०-० र लाओसलाई ७-० ले पराजित गरेको थियो। दुवै टोलीले गोलअन्तर १७ भएकाले खेल बराबरी भएपछि पेनाल्टी सुटआउटबाट नजिताको टुंगो लगाइएको हो।