बुधबारदेखि एएफसी यू-२० वुमन्स एसियन कप छनोट प्रतियोगिता हुँदैछ।
भुटानमा हुने समूह ‘ए’ छनोटमा आयोजक भुटानसँगै नेपाल, उत्तर कोरिया र साउदी अरेबियाले प्रतिस्पर्धा गर्नेछन्।
समूहको खेलपछि शीर्ष टोली अर्को वर्ष थाइल्यान्डमा हुने एएफसी यू-२० एसियन कपमा पुग्नेछ। दोस्रो हुने टोलीको पनि सम्भावना हुनेछ।
छनोटअघि नेपाली टोलीका प्रशिक्षक यमप्रसाद गुरुङले साफ यू-२० च्याम्पियनसिप खेल्दा राम्रो तयारी भएको र एसियन कपमा छनोट हुन लक्ष्य भएको बताए।
साफ यू-२० को उपाधिको टुंगो लाग्ने खेलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो। साफमा नेपालले भुटानविरूद्ध खेलेका दुवै खेलमा जित निकालेको थियो।
‘साफ यू-२० च्याम्पियनसिप खेल्दा राम्रो तयारी गर्ने मौका मिल्यो। साफमा भुटानलाई दुई पटक हराएका थियौं। तर साफ र एएफसी छनोट खेल्नुमा धेरै फरक छ। अर्कोतर्फ भुटानको मैदानमा खेलिरहेका छौं। भुटान टोलीलाई सम्मान गर्छौं। उसले पनि प्रगति गरिरहेको छ। भुटान टोलीलाई घरेलु दर्शकको पनि माया हुनेछ। सधैं खेलिरहेको मैदान भएर सजिलो पनि हुन्छ। साफको नतिजाले यो प्रतियोगितामा केही फरक पर्दैन,’ गुरुङले भने।
उनले अघि थपे, ‘हामी यहाँ छनोट हुन आएको हो। भुटानमा खेल्दा नेपालकै खेलिरहेको जस्तो अनुभव हुनेछ। हामी आफ्नो खेल खेल्नेछौ। कुनै डर छैन। यसपटक समर्थकलाई खुसी दिनेछौं।’
नेपालकी कप्तान बिर्सना चौधरीले पनि सबै टोली बलिया भएको बताउँदै समूह विजेता बनेर छनोट हुने दाबी गरिन्।
नेपालले बुधबार आयोजक भुटानसँग खेल्नेछ। त्यसपछि ८ अगस्टमा साउदी र १० अगस्टमा उत्तर कोरियासँग प्रतिस्पर्धा हुनेछ।
समूहको शीर्ष टोली अर्को वर्ष थाइल्यान्डमा हुने प्रतियोगितामा छनोट हुनेछ। दोस्रो हुने टोलीको पनि सम्भावना हुनेछ। आठ समूहमध्ये तीन वटा उत्कृष्ट दोस्रो टोली मात्र छनोट हुनेछन्। च्याम्पियनसिप सन् २०२६ को अप्रिल १ देखि १८ सम्म थाइल्यान्डमा हुनेछ।
नेपाली टोली
गोलकिपर
लिला जोशी, करुण बुढाथोकी, सुजाता तामाङ
डिफेन्डर
सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बू पाण्डक, सिमरन राई, सजिना स्याङ्तान, गंगा रोकाया, अनिशा राई, सीता रोकाया
मिडफिल्डर
कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्सना चौधरी (कप्तान), सेनु परियार
फरवार्ड
कुसुम खतिवडा, सुक्रिया मिया, मनीषा सेन, बर्षा ओली, पूर्णिमा राई, मीना देउबा, समीक्षा मगर
मुख्य प्रशिक्षक : यमप्रसाद गुरुङ