नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रिति राईले जोर्डनको महिला प्रो लिगमा आफ्नो यात्रा सुरू गर्दैछिन्।
प्रितिले जोर्डन महिला लिगको दुई पटकको च्याम्पियन इतिहाद क्लबबाट खेल्न लागेकी हुन्। क्लबले प्रितिसँग मंगलबार औपचारिक रूपमा सम्झौता भएको सार्वजनिक गरेको छ।
क्लबले प्रितिलाई स्वागत गर्दै नेपाली 'मेसी' भनेर प्रशंसा गरेको छ।
यो सिजनको जोर्डनको महिला लिग सेप्टेम्बर १८ देखि सुरु हुँदैछ। त्यसको एकमहिनाअघि जोर्डन पुगेकी प्रितिसँगै क्लबमा तीन जना अरु विदेशी खेलाडी छन्। अरु तीनै विदेशी खेलाडी अल्जेरियाका छन्।
यो सिजनको लिगमा सन् २०२३ र २०२४ को च्याम्पियनसहित ६ वटा क्लबले भाग लिँदैछन्।
नेपाली टोलीमा उत्कृष्ट कौशल र प्राविधिक खेलका लागि परिचित प्रितिले विदेशी लिग खेल्न लागेको यो दोस्रो पटक हो।
यसअघि उनले सन् २०२३ मा भारतको किकस्टार्ट एफसीबाट खेलेकी थिइन्।
सन् २०२१ मा नेपाली राष्ट्रिय टोलीमा १६ वर्षको उमेरमा डेब्यू गरेर गोल समेत गरेकी प्रिति घरेलु फुटलब एपिएफ क्लबबाट खेल्छिन्।
अरब क्षेत्रको लिग खेल्न लागेकी प्रिति दोस्री महिला खेलाडी हुन्। राष्ट्रिय टोलीकी फरवार्ड रेखा पौडेल युएईको लिग खेलिरहेकी छन्।