एन्फा ग्रास रुट कार्यक्रमको मंगलबार औपचारिक उद्घाटन भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकविक्रम नेम्बाङले उद्घाटनसँगै लोगो समेत अनावरण गरे।
कार्यक्रमका लागि टिडिएच र चाइल्ड नेपालसँग सम्झौता पनि भएको ग्रास रुट विभागका प्रमुख पंकज शाहीले जानकारी दिए। दुवै संस्थासँग भिन्न भिन्नै सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
टिडिएचका सेभ गार्डिङ कोअर्डिनेटर कमल लामा तथा चाइल्ड नेपालका कार्यकारी निर्देशक मोहन दंगालले हस्ताक्षर गरे।
कार्यक्रमको अध्यक्षता एन्फाका ग्रास रुट समिति संयोजक मणि चेम्जोङले गरेका थिए।
विषयगत क्षेत्रमा सहकार्य गर्दै बालबालिकाको सुरक्षित रूपले फुटबलमा सक्रिय रहने वातावरण सृजना गर्ने कुराका सहकार्य भएको शाहीले बताए।
३ वर्षे सो कार्यक्रम विश्व फुटबल महासंघ (फिफा) को आर्थिक सहयोगमा हुन लागेको हो। ३ वर्षे कार्यक्रम ३९ जिल्लामा सञ्चालन हुनेछ।