दोस्रो विश्वयुद्धका कारण १२ वर्षसम्म विश्वकप फुटबल आयोजना हुन सकेको थिएन। विश्वयुद्धको समाप्तिपछि शान्तिको सन्देश दिन सन् १९५० मा ब्राजिलमा आयोजना भएको चौथो संस्करणको विश्वकपले ठूलो महत्व बोकेको थियो।
प्रतियोगितामा आयोजक ब्राजिल, युगोस्लोभाकिया, स्विट्जरल्यान्ड, मेक्सिको, स्पेन, इंग्ल्याण्ड, चिली, अमेरिका, स्विडेन, इटाली, पाराग्वे, उरुग्वे र बोलिभियाको सहभागिता रहेको थियो।
यी टिमबाहेक स्कटल्याण्ड, भारत र टर्की पनि प्रतियोगिताका लागि छनोट भएका थिए। ब्रिटिस च्याम्पियनसिपमा पहिलो र दोस्रो स्थान हात पार्ने टिमहरु विश्वकपका लागि छनोट हुने घोषणा फिफाले गरिसकेको थियो। पहिलो स्थानमा अएको इंल्याण्डले प्रतियोगितामा सहभागिता जनाएपनि दोस्रो स्थानको स्कटल्याण्ड प्रतियोगितामा सहभागी भएन।
भारत विश्वकपमा छनोट हुने पहिलो र अहिलेसम्मकै एकमात्र दक्षिण एशियाली राष्ट्र बन्यो।
सन् १९४८ को लण्डन ओलम्पिकमा भारतले आफ्नो प्रदर्शनले विश्वलाई चकित बनाएको थियो। भारतीय राष्ट्रिय फुटबल टोलीका खेलाडीले जुत्ता बिना खेलेका थिए। केही खेलाडीले मोजा लगाएर खेल्दा धेरैजसो खेलाडीले खाली खुट्टा खेलेका थिए।
भारतले स्वतन्त्र राष्ट्रको रूपमा (ब्रिटेनबाट स्वतन्त्रता प्राप्त गरेपछि) ओलम्पिक खेल्दै पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनले धेरैको ध्यान खिचेको थियो। भारतीय टोलीका खेलाडीले खाली खुट्टाले खेलेको विषय चर्चाको विषय बनेको थियो।
फिफाले भारतलाई सन् १९५० को फिफा विश्वकपमा जुत्ता बिना खेल्न नदिने स्पष्ट पारेको थियो।
फिफाले सात टिम युरोपबाट, छ टिम अमेरिकाबाट र एउटा एसियाबाट प्रतिस्पर्धा गराउने निर्णय गरेको थियो। विश्वकपमा निमन्त्रणा गरिएका चार एसियाली टोलीहरू मध्ये तीन (फिलिपिन्स, इन्डोनेसिया र बर्मा) छनोट राउन्डअघि नै प्रतियोगिताबाट बाहिरिएका थिए। जसले गर्दा भारतले विश्वकपमा स्वत: स्थान बनाएको थियो।
यो विश्वकपमा भारत पहिलो पटक उपस्थिति हुनेवाला थियो। तर भारतले पनि प्रतियोगिताबाट नाम फिर्ता लियो।
भारतको स्पोर्ट्स इलस्ट्रेटेड पत्रिकाका अनुसार अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) ले 'टोली छनोटमा असहमति र अभ्यासको अपर्याप्त समय' भन्दै विश्वकपमा सहभागी नहुने घोषणा गरेको थियो।
आयोजक समितिले भ्रमण खर्चको ठूलो हिस्सा वहन गर्ने आश्वासन दिँदा पनि विश्वकपमा भाग लिने महत्त्वलाई बुझ्न एआईएफएफले सकेको थिएन।
त्यतिबेलाका भारतका कप्तान सेलेन मन्नाले एआईएफएफले विश्वकपलाई गम्भीरतापूर्वक नलिएको बताएका थिए।
उनले स्पोर्ट्स इलस्ट्रेटेडलाई भनेका थिए, ‘त्यतिबेला विश्वकपको बारेमा हामीलाई कुनै जानकारी थिएन। हामीलाई राम्रोसँग सूचित गरिएको भए हामीले आफैंले पहल गर्ने थियौं। हाम्रो लागि ओलम्पिक नै सबैथोक थियो। त्योभन्दा ठूलो केही थिएन।'
तर कतिपयले भारतले बुटका कारण विश्वकपबाट नाम फिर्ता लिएको भने हल्ला चलाए।
१९५० को विश्वकपमा भारतले नाम फिर्ता लिँदा टर्कीले प्रतियोगितामा सहभागिता जनाउन अस्वीकार गरेका थिए।
चार समूहका शीर्ष चार टिमबीच अन्तिम चरणमा प्रतिस्पर्धा भएको थियो। अन्तिम चरणमा उरुग्वे, ब्राजिल, स्विडेन र स्पेन पुगेका थिए।
बोलिभियालाई ८–० गोलको फराकिलो अन्तरले हराउँदै उरुग्वेले अन्तिम चरणमा स्थान बनाउन सफल रह्यो। ब्राजिल, स्पेन र स्विडेनले अन्य समूहमा शीर्ष स्थान हात पार्दै अन्तिम चरणमा स्थान बनाएका थिए।
अन्तिम चरणको पहिलो खेलमा स्विडेनलाई ७–१ र अर्को खेलमा स्पेनलाई ६–१ ले हराउँदै ब्राजिलले उरुग्वे विरूद्धको खेलअघि ४ अंक बटुलेको थियो। उरुग्वेले स्पेनसँग बराबरी खेलेको थियो भने स्विडेनलाई ३–२ ले हराएको थियो।
युद्ध मैदानमा शक्तिशाली मानिएका युरोपेली राष्ट्रहरूले फुटबल मैदानमा आफ्नो शक्तिलाई देखाउन चुकेपछि उरुग्वे र ब्राजिलमध्ये एकले विश्वकपको उपाधि जित्ने पक्का एक साताअघि नै भइसकेको थियो।
ब्राजिलले विश्वकै सबैभन्दा ठूलो रंगशाला निर्माण गरेको थियो, फाइनल खेलका लागि। तर, यो विश्वकपमा कुनै एउटा निश्चित फाइनल खेल नै भएन। विश्वकप लिग शैलीमा खेलाइयो। अन्तिम तथा निर्णायक भिडन्त भने उरुग्वे र ब्राजिल नै भिडे। तर ब्राजिलले रंशालालाई जति भव्य बनायो, त्यति भव्य बनाउन सकेन आफ्नो निर्णायक खेललाई।
अन्तिम खेलमा उरुग्वेलाई बराबरीमा रोक मात्रै पनि ब्राजिलले उपाधि जित्ने पक्का थियो। खेलमा आल्विनो फ्रासाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएपछि उरुग्वेको उपाधि जित्ने सम्भावना कमजोर हुँदै गएको थियो। गर या मरको अवस्थामा पुगेपछि उरुग्वेले दोस्रो हाफमा दुई गोल गर्यो। जुवान अल्वर्टो र इडवार्डो घिजियाले १–१ गोल गरेपछि उरुग्वेले दोस्रो पटक विश्वकपको उपाधि उचालेको थियो।
उरुग्वेसँग २–१ गोलले पराजित भएपछि ब्राजिलको विश्वकप जित्ने सपना पूरा हुन सकेन र रंशालामा उपस्थित झण्डै २ लाख समर्थकह निराश भएरै घर फर्किए।