फिफा विश्वकप २०२२ मा मोरक्कोले पहिलो जित हात पारेको छ। आइतबार भएको समूह ‘एफ’ को खेलमा मोरक्कोले बेल्जियममाथि २-० गोलको जित हात पारेको हो।
मोरक्कोको जितमा अब्देहामिद सबिरीले ७३ मिनेटमा पहिलो गोल गरे। उनले कर्नर एरिया नजिकबाट हानेको फ्रिकिकलाई बेल्जियमका गोलकिपरले रोक्ने मौका नै पाएनन्।
दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा जिएचले उपलब्ध गराएको पासमा अबोउख्ललले उत्कृष्ट फिनिसिङ गरेपछि मोरक्कोको जित पक्का भएको थियो।
जितसँगै मोरक्कोले समूहमा ४ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। अघिल्लो खेलमा मोरक्कोले क्रोएसियासँग बराबरी खेलेको थियो।
यता अघिल्लो खेलमा क्यानडालाई हराएको बेल्जियम ३ अंक जोडेर समूहको दोस्रो स्थानमा छ। अहिले समूहको खेलमा क्रोएसिया र क्यानडा भिड्दैछन्।