फिफा विश्वकप २०२२ बाट क्यानडा बाहिरिएको छ। समूह ‘एफ’ मा लगातार दोस्रो खेलमा पराजित भएपछि क्यानडा आफ्नो अन्तिम खेलअघि नै बाहिरिएको हो।
क्यानडालाई आइतबार राति भएको खेलमा क्रोएसियाले ४-१ गोलले हरायो।
क्रोएसियाका लागि क्रामारिकाले ३६ र ७० मिनेटमा गरी दुई गोल गरे। लिभाजाले ४४ मिनेट र मजेरले दोस्रो हाफको इन्जुरी टाइममा गोल गरेपछि क्यानडा फराकिलो अन्तरले हार्यो।
त्यसअघि खेलको दोस्रो मिनेटमै अल्फन्सो डेभिजले गोल गर्दै क्यानडालाई अग्रता दिलाए पनि क्रोएसियाले अन्तिमसम्म उत्कृष्ट खेल्यो।
डेभिजले विश्वकपमा क्यानडाका लागि गोल गर्ने पहिलो खेलाडी बन्दै इतिहास रचेका छन्।
अन्तिम खेलअघि समूहका क्रोएसिया र मोरक्कोले चार चार अंक जोडेका छन्।
तीन अंक जोडेको बेल्जियम तेस्रो स्थानमा छ।
पहिलो खेलमा बेल्जियमसँग हारेको क्यानडाले लगातार दुई पराजतसँगै अंक जोड्न सकेको छैन।
समूहमा अब क्यानडा र मोरक्को तथा क्रोएसिया र बेल्जिमयबीच खेल हुनेछ। क्रोएसिया र मोरक्कोलाई बराबरी भए पुग्छ भने बेल्जिमयलाई जितको खाँचो छ।