फिफा विश्वकप २०२२ मा घानाले पहिलो जित हात पारेको छ। सोमबार भएको समूह ‘एच’ को खेलमा घानाले दक्षिण कोरियालाई ३-२ गोलले हराउँदै पहिलो जित हात पारेको हो।
जितसँगै तीन अंक जोडेको घानाको अन्तिम १६ को सम्भावना जीवित बनेको छ। अघिल्लो खेलमा एक अंक जोडेको दक्षिण कोरियाको पनि आशा बाँकी नै छ।
सोमबारको खेलमा घानाले सुरुवातमा दुई गोलको अग्रता लियो। घानाका लागि मोहमद सालिसूले २४ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए।
३४ मिनेटमा कुडुस मोहमदले अग्रता दोब्बर पारे।
पहिलो हाफमा २-० गोलको अग्रता लिएको घानाविरुद्ध कोरियाले दोस्रो हाफमा तीन मिनेटको अन्तरमा दुई गोल गर्दै खेललाई बराबरीमा ल्याएका थियो।
कोरियाका लागि दुवै गोल चो गुइसङले गरेका थिए। उनले ५८ मिनेटमा पहिलो गोल गर्दा ६१ मिनेटमा बराबरी गोल फर्काएका थिए। दुवै गोल उनले हेडमार्फत गर्दै खेललाई रोमाञ्चक मोडमा पुर्याएका थिए।
कोरियाले बराबरी गोल फर्काएको सात मिनेटपछि घानाले खेलमा फेरि अग्रता लियो। घानाका लागि कुडुसले व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा डिबक्स भित्रबाट उत्कृष्ट फिनिसिङ गर्दै टिमको अग्रता ३-२ पुर्याएका थिए।
इन्जुरी टाइमको अन्तिम मिनेटमा दक्षिण कोरियाका प्रमुख प्रशिक्षक पाब्लो बेन्टोलाई रेफ्रीले रातो कार्ड देखाएका थिए। उनले रेफ्रीको निर्णयमा असन्तुष्टि जनाएका थिए।
यसअघि पहिलो खेलमा घानालाई पोर्चुगलले हराउँदा कोरियाले उरुग्वेसँग बराबरी खेलेको थियो। समूहको अर्को खेलमा आज राति पोर्चुगल र उरुग्वे भिड्दैछन्। अन्तिम चरणमा घाना र उरुग्वे तथा पोर्चुगल र कोरिया भिड्नेछन्।