गुरिल्ला म्याराथन दौड परतियोगिताको उपाधि दुर्गाराज बुढाले जितेका छन्।
नेपालकै कान्छो जिल्लाको रुपमा रहेको रूकुम महत गाउँपालिकामा सम्पन्न दौडमा बुढाले पुरूषतर्फको उपाधि जितेका हुन्।
युद्व पर्यटनलाई विकास र विस्तार गर्दै तत्कालिन ‘जनयुद्ध’ को ऐतिहासिकतालाई प्रचार–प्रसार गर्न र जिल्लाको पर्यटन प्रवद्धन गर्ने लक्ष्यका आयोजित प्रतियोगितामा रूकुम पूर्व, रूकुम पश्चिम, रोल्पा र अछाम जिल्लाका जम्मा ११ महिला तथा २३ पुरूष गरि कुल ३४ जना धावक सहभागिता थियो।
प्रतियोगिताको पुरुषतर्फ रुकुम पश्चिमको मुसीकोट नगरपालिकाका दुर्गाराज बुढाले जम्मा ३ घण्टा ३ मिनेट २३ सेकेण्डमा तोकिएको दुरी पार गर्दै प्रथम स्थान हासिल गरे भने, रुकुम पूर्वको सिस्ने गाउँपालिकाकै चेतकुमार केसीले जम्मा ३ घण्टा ६ मिनेट १७ सेकेण्डमा तोकिएको दुरी पार गर्दै दोस्रो स्थान हात पारेका छन्।
रूकुम पूर्व सिस्ने गाउँपालिकाकै गोपाल बुढाथोकीले जम्मा ३ घण्टा ७ मिनेट ४ सकेण्डमा उक्त दुरी पार गर्दै तेस्रो स्थान सुरक्षित गरे।
यस्तै महिलातर्फ जम्मा ४ घण्टा २२ मिनेट १५ सेकेण्डमा दुरी पार गर्दै रुकुम पूर्वको भुमे गाउँपालिकाकी रोजिना बुढा प्रथम, ४ घण्टा २५ मिनेट ११ सेकेण्डमा तोकिएको दुरी पार गर्दै भुमे गाउँपालिकाकै कविता बुढा दोस्रो र ४ घण्टा २५ मिनेट ३४ सकेण्डमा दुरी पार गर्दै सिस्ने गाउँपालिकाकी गिता विक तेस्रो भइन्।
प्रतियोगितामा बिजेता धावकहरूलाई रूकुम पूर्वकी प्रतिनिधि सभा सदस्य तथा पूर्व खेलकुद मन्त्री कमला रोकाले मेडल, प्रमाण–पत्र तथा नगदसहित पुरस्कृत गरेकी थिइन्।
तत्कालिन माओवादीले बि.सं. २०५२ सालदेखि झण्डै १२ बर्षसम्म संञ्चालन गरेको सशस्त्र युद्धताका युद्धमा सहभागी लडाकुहरु अर्थात ‘गुरिल्ला’ हिँडेको रुकुम पश्चिम र पूर्व तथा रोल्पाका पहाडी बाटोलाई ‘गुरिल्ला मार्ग’को रुपमा विकास गरेर दुई जिल्लाको पर्यटन प्रवद्धन गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको थियो।
रूकुम पश्चिमको खाराबाट रोल्पाको रातोमाटे हँदै रुकुम पूर्वको चुन्बाङ, महत, रोल्पाको थबाङ्ग र रुकुम पूर्वकै तकसेरा, हुकाम–मैकोट प्वाङ्ग र पोखराबाट रुकुम पश्चिमको बाँफिकोट हुँदै आठविसकोटसम्मको रुटलाई गुरिल्ला मार्गका रुपमा तय गरिएको छ।
यही मार्ग अन्तर्गत शनिबार रुकुम पूर्वको महतबाट रोल्पाको थबाङ्गसम्म जम्मा २७.०२ किलोमिटर लामो पहिलो गुरिल्ला ट्रेल दौड परतियोगिता २०७५ आयोजना गरिएको आयोजक संस्था तथा जिल्ला अखिल नेपाल खेलकुद महासंघ रुकुम पूर्वका संयोजक सुनिल रोका मगरले बताए।
प्रदेश ५ को एक मात्र हिमाली जिल्लाको रुपमा रहेको यस रूकुम पूर्वमा यस्ता साहसिक खेलहरु आयोजना गर्न राम्रो सम्भावना रहेकोले यसलाई अगामी दिनमा आवश्यक व्यवस्थापन गर्दै अन्य खेलहरु पनि आयोजना गरिने भुमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढाले बताए।
‘पर्यापर्यटनका हिसाबले रुकुम पूर्व ५ नं. प्रदेशकै अन्य जिल्लाभन्दा अगाडि छ। आगामी वर्षहरुमा म्याराथनलाई थप स्तरवृद्घि गर्दै निरन्तरता दिनेछौ,’ बुढाले भने।