एथलेटिक्स परिवार नेपालको आयोजनामा असारको पहिलो साता युथ ओपन फाइभ के रन आयोजना हुने भएको छ।
एथलेटिक्सका युवा खेलाडीलाई प्रवद्र्धन गर्ने उद्धेश्यका साथ दशरथ रंगशाला एरियामा असारको २ गते प्रतियोगिता सञ्चालन हुने भएको हो।
पुरुष र महिला गरि दुई स्पर्धामा सञ्चालन हुने प्रतियोगितामा १४ वर्ष उमेर पुगेका खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् ।
प्रतियोगिताको विजेता (महिला र पुरुष)ले ट्रफी, पदक सहित समान २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले १० हजार, तेस्रोले ५ हजार, चौथो र पाँचौं हुनेले समान दुई हजार र छैटौं देखि दशौं स्थान सम्म हासिल गर्ने खेलाडीले समान एक हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा नाम दर्ताका लागि जेठ ३२ गते बिहिबारसम्मको समय तोकिएको छ। खेलाडी दर्ता वल्र्ड ट्रेड सेन्टरको दोस्रो तलामा रहेको एथलेटिक्स परिवार नेपालको सम्पर्क कार्यालयमा गर्न सकिनेछ।
नेपालको एथलेटिक्स खेलको विकासमा सहयोग पुर्याउने उद्धेश्यले स्थापना भएको एथलेटिक्स परिवार नेपालले वार्षिक रुपमा ट्रयाक एण्ड फिल्ड र रोड रोस कार्यक्रम सञ्चालन र समन्वय गर्दै आएको अध्यक्ष राजन खत्रीको भनाइ छ।