राष्ट्रिय विभूति एवं कलाकार अरनिकोको स्मृति दिवसका अवसरमा विभिन्न कलाकारलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ।
आइतबार राजधानीमा आयोजित कार्यक्रममा ‘क्यान कला पुरस्कार २०७४’ बाट सुरेश द्यःलालाई प्रदान गरिएको छ। त्यस्तै हेमगंगा युवा कला प्रतिभा पुरस्कार २०७४ बाट कलाकार केशवराज खनाल पुरस्कृत भएका छन्। पुरस्कारको राशि १० हजार १ सय १ रुपैयाँ रहेको थियो।
त्यसैगरी १० हजार १ सय १ राशिको हेमगंगा महिला कला प्रतिभा पुरस्कार २०७४ बाट भने प्राज्ञ सुस्मा राजभण्डारीलाई प्रदान गरिएको छ ।पाँच हजार नगद राशिको ‘क्यान आइडियल कला अवार्ड २०७४’ बाट ज्ञानेश्वर उदय पुरस्कृत भए भने १० हजार नगद राशिको ‘शिवाता प्रतिभा पुरस्कार २०७४’ बाट फोटोग्राफीका विद्यार्थी सुजान श्रेष्ठ पुरस्कृत भइन्।
७७ वर्षीय कलाकार चन्द्रमणि दाहाल तथा ७१ वर्षीय कलाकार यादवचन्द्र भुर्तेललाई कला सम्मान प्रदान गरिएको छ। संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशी, ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति रागिनी उपाध्याय लगायतका अतिथिहरूले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए।
कार्यक्रममा बोल्दै संस्कृतिविद् जोशीले अरनिकोको कलाको संरक्षणसँगै उनको कलाका बारेमा थप खोज एवं अनुसन्धान हुन जरुरी रहेको बताए।नेपाल कमर्सियसल आर्टिष्ट संघकाे वार्षीकीको अवसरमा संघले कलाकारहरूलाई सम्मान गरेकाे हाे।