प्रथम साहित्यिक हिमाल आरोही एवं धावक लक्ष्मण सापकोटाले नेपालकै होचो स्थान झापास्थित केचनाकवलबाट शनिश्चरेसम्म सद्भावना दौड दौडेका छन्।
सापकोटाले मंगलवार कचनकबलको माटो सगरमाथा पुर्याउने उद्देश्यले पैदल यात्रा आरम्भ गरेका हुन्। झापा क्षेत्र नम्बर ३ का सांसद राजेन्द्र लिंगदेन, प्रदेश सांसद वसन्त बानियाँ लगायत स्थानीय जनप्रतिनिधिकासाथ उनले शहीद दिवसका दिन एकदिने सद्भावना दौड गरेका थिए।
विभिन्न साहित्यिक कृतिहरू प्रकाशन गरिसकेका सापकोटा अगामी वसन्त ऋतुमा सगरमाथा आरोहण गर्दैछन्। विश्वको अग्लो स्थानमा पुग्दै गर्दा नेपालको होचो स्थानको पनि नाम फैलाउनका लागि आफूले यहाँको माटो चुचुरोमा लैजाने उद्घोष उनले गरेका छन्।
काभ्रेपलाञ्चोक निवासी सापकोटाले गएको मंसिर महिनामा सोलुखुम्बु जिल्लाको ‘इम्जात्से’ हिमालको साहित्यिक आरोहण गरेका थिए।