काठमाडौं माउन्टेन फिल्म फेस्टिभल (किम्फ) पहिलो दिन अमेरिकी निर्देशक एन्टोनेलो पाडोवानोले बनाएको फिल्म 'द एसेन्ट अफ एभरेष्ट' बाट बुधबार उद्घाटन हुँदैछ।
५३ मिनेट लामो फिल्ममा सन् १९५३ मा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथा आरोहण गर्दाको फूटेज छ। भिडिओमा हिलारी आफैंले पनि बोलेका छन्।
उद्घाटन फिल्म भएकाले सर्वसाधारणलाई यसपछिका फिल्म मात्रै देखाइनेछ। हिलारीकै भूमिका रहेको अर्को फिल्म 'ओसियन टु स्काई' भने शनिबार ५ बजे सर्वसाधारणले हेर्न पाउँनेछन्। हिलारीले बंगालको खाडीबाट गंगामा 'अपस्ट्रिम पावरबोट' यात्रा गरेको हेर्न पाइन्छ। यो वर्ष हिलारीको शताब्दी वर्ष भएकाले यी फिल्म हेर्न पाउनु संयोग र खुसीको विषय भएको किम्फ अध्यक्ष वसन्त थापा बताउँछन्।
१७ औं संस्करणको किम्फमा 'भ्वाइसेस फ्रम द मार्जिन' ट्यागलाइन छ। राष्ट्रिय सभा गृह र नेपाल पर्यटन बोर्डमा हुने पाँच दिने महोत्सवमा २९ देशका ७९ फिल्म छन्।
आज दुई फिल्म देखाइँदै छ। विदेशी निर्देशकले बनाएको भए पनि यी नेपाली समाजमा केन्द्रित छन्। फिल्मका अन्य विशेषता यस प्रकार छः
ग्राउलिङ माउन्टेन
फ्रान्सका निर्देशक अरोरी लरेन्टले बनाइएको फिल्म हो, ग्राउलिङ माउन्टेन। ५२ मिनेट लामो फिल्म तीन बजे देखाइनेछ। फिल्मले नेपाली समाजमा हेभी मेटल गीतको विकास र अवस्थाको कथा बताउँछ।
नेपाली समाजमा हेभी मेटल सुन्ने प्रचलन निकै कम छ। तर मेटल गीत १९६० कै दशकमा नेपाल भित्रिएको हो। १९९० को दशकबाट भने केही चर्चा बटुल्न थाल्यो। मेटालिका, लेड जेपलिन, गन्स एन रोजेज, पिंक फ्लोयड जस्ता पश्चिमी म्युजिक ब्यान्डको प्रभाव त्यस समयका युवाहरूमा देखिन थाल्यो।
सन् २००० सालमा नेपाली ब्यान्ड 'उग्रखाना'ले पहिलो पटक नेपालमा मेटल गीत रेर्कड गरेको सन्दर्भ जोड्दै फिल्ममा मेटल गीतप्रति लोकप्रियता बढ्दै गएको कुरा समावेश छ।
अन्डरसाइड, द इन्सेप्सन, टम्ब्लरविड आइएनसी, एनिम्यालिटी जस्ता नेपालका ब्यान्डहरूको कथा फिल्ममा देख्न सकिन्छ। नेपाली समाजमा सजिलै स्वीकार नहुने गीतले हालका युवा वर्गलाई आर्कषित गराएको कुरा यसले देखाउन खोजेको छ।
गीत संगीतमा चासो राख्ने 'मेटलहेड' ले नेपालको मेटल इतिहास बुझ्न यो फिल्म हेर्दा राम्रो। नेपाली भाषामै फिल्म छ भने अंग्रेजी उपशीर्षक सहायताका रुपमा छ।
जर्नी टु द सेन्टर अफ द हर्ट
अष्ट्रेलियाका कलानी गाकोनले निर्देशन गरेको फिल्म हो, 'जर्नी टु द सेन्टर अफ द हर्ट'।
८० मिनेट लामो फिल्म बेलुकी ४ः३० मा देखाइन्छ। फिल्ममा आप्रवासी नेपालीको समस्या र वेदना समेटिएका छन्।
कथाको विषयवस्तु पूर्वी र पश्चिम बीचको सम्बन्धबारे हो।
अहिले नेपालमा प्रायः युवा आफ्नो जीवनोस्तर सुधार्न विदेश जान्छन्। जसमध्ये थोरै मात्रै देश फर्कन्छन्। यसैबीच विकसित देशका विदेशी सबै छाडेर नेपालजस्तो देशमा जीवन सुरू गर्न आउँछन्।
बाह्र भिन्न–भिन्न राष्ट्रका विदेशी नेपाल आएका, हराएका र फेरि यात्रा बढाएको सन्दर्भ फिल्ममा छ। उनीहरूले नेपाली भूमिमा त्यसपछि भोग्नु परेका संघर्ष र रमाइलो यात्रा फिल्ममा हेर्न सकिन्छ।
यो पनि पढ्नुहोस्ः 'किम्फबाट युवा पुस्ताले परिचय बनाउने ठाउँ पाएका छन्'
हेर्नुस्, किम्फको समयतालिकाः