उपल्लो मुस्ताङ- लोमान्थाङ। माथि–माथि मनोरम नाङ्गा डाँडा। तल बारीमा राय काट्दै गरेकी 'खान्डो'। उनीसँगै ज्यामी गरिरहेका केही साथी।
खान्डो र साथीहरूमाझ हाँसीमजाक चल्छ- खान्डोले अब फेरि बिहे गर्नुपर्यो।
यस्तै-यस्तै दृश्यमा कथा अघि बढ्छ।
मुस्ताङकी पेमा डोल्करले तिब्बती भाषाको फिल्म 'आमा खान्डो' मा मुख्य भूमिका निर्वाह गरेकी छिन्। खान्डो २६ वर्षीया विवाहित एकल आमा हुन्। उनको छोराको नाम धोन्डुप हो जो ७ वर्षको छ।
१७औं काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म महोत्सवमा देखाइएको फिल्म 'आमा खान्डो'को कथा यिनै दुई पात्र सेरोफेरो घुमेको छ।
जौका लागि ज्यामी काम गर्ने खान्डोले छोरा धोन्डुपलाई राम्रो शिक्षा र पालनपोषण दिन सक्ने कोही खोज्दै छिन्। मान्थाङको विद्यालयमा धोन्डुपको प्रस्तुति निकै कमजोर थियो। गाउँका धेरैजसोले उनलाई 'हरामी' पनि मान्थे। आमा खान्डो छोराको बानीबाट निराश थिइन्। आफू अशिक्षित भए पनि उनको मनमा छोराको राम्रो भविष्य बनोस् भन्ने थियो।
कथा अघि बढेसँगै धोन्डुप तिब्बतका खाम्बा सैनिकका छोरा भएको खुलासा हुन्छ। खाम्बा सैनिक उपल्लो मुस्ताङ आएका बेला धोन्डुपकी आमासँग घरजम गरेका रहेछन्।
कथामा मुस्ताङको मौसम बदलियो। हिउँद नजिकिँदै थियो। मौसम बदलिँदाको प्रभाव खान्डोको जीवनमा पनि पर्यो। लोमान्थाङकै एक धर्मगुरूसँग खान्डोले कुरा गरेकी थिइन्। धर्मगुरूका माध्यमबाट उनले छोराको पालनपोषण र पढाइ व्यहोरिदिने मान्छे भेटाइन्।
जाडो महिना लागेसँगै उपल्लो मुस्ताङका मानिस तल गाउँ झर्थे। खान्डो पनि छोरा लिएर छिमेकीसँग जाडोका लागि बास सर्न यात्रामा लागिन्। यो यात्रा खान्डोले छोरालाई बिदाइ दिने हिसाबमा गरेकी थिइन्।
केही दिनको यात्रापछि खान्डोले छोरा धोन्डुपलाई सँगै गएका गाउँले छिमेकीको हातमा छाडिदिइन्। आफू लोमान्थाङै फर्किन्। छोरालाई त्यसरी छाड्न खान्डोलाई गाह्रो त थियो, तर छोराको राम्रो भविष्यका लागि टाढै राख्नु सही लाग्यो। त्यसै गरिन्।
कथाको विषयवस्तु यिनै आमा–छोराको बिछोड र पुनःमिलन हो।
मुस्ताङको संस्कृति मात्रै नभई फिल्ममा उपल्लो मुस्ताङको भाषा र जीवनशैली जस्ता स–साना कुराको ठूलो भूमिका देखिन्छ। कथामा छोराको भूमिका खेलेका धोन्डुपको नाम फिल्म निर्देशक धोन्डुप छिरिङको नामबाट साभार छ।
'कथाका घटना मेरै वास्तविक जीवनीसँग मेल खान्छ। कथा मेरै जीवनी हो भन्दा फरक नपर्ला,' निर्देशक धोन्डुपले भने, 'मेरो बाबा म सानै हुँदा बित्नुभएको थियो। आमा हुनुहुन्छ। आमाबाट प्रेरणा मिलेको कथा हो।'
'आमा खान्डो' धोन्डुपद्वारा निर्देशित पहिलो फिल्म हो। उनी उपल्लो मुस्ताङबासी हुन्। लामो समय भने त्यहाँ बिताएनन्। सानै उमेरमा पोखरा गए र त्यहाँबाट छात्रवृत्तिमा भारत पढ्न गए। उनले बौद्ध दर्शनमा स्नातकोत्तर सकेका छन्।
पहिलो फिल्म नै अन्तर्राष्ट्रिय जगतमा छाए पनि उनलाई यो क्षेत्रमा उति चाख थिएन रे।
धोन्डुपका बाल्यकालका साथी छेवाङ रिन्जिन गुरुङ छन् जसलाई उनी चन्दन भन्छन्। छेवाङले तल्लो मुस्ताङमा आधारित 'सेरधक' फिल्मका लागि स्क्रिप्ट लेखेका रहेछन्। मलेसियाका अलि रसिदले छायांकन गरेको उक्त फिल्म रजत काथेटको निर्देशनमा बनेको हो।
अलिलाई यसपछि नेपालको उपल्लो मुस्ताङमा आधारित कथा रच्न मन लागेछ। यसका लागि छेवाङसँग कुरा गरे र छेवाङले उनको भेट धोन्डुपसँग गराइदिए।
अलिले धोन्डुपलाई स्क्रिप्ट लेख्न आग्रह गरे। धोन्डुपलाई कथाहरू पढ्ने र लेख्ने बानी थियो। उनले स्क्रिप्ट लेखिदिने भए।
पहिलो चरणको स्क्रिप्ट एक साता लगाएर २० पानाको लेखे रे।
तर कथा शैलीमा लेखिएको स्क्रिप्ट फिल्मका लागि भएन। माल्दिभ्स गएर साथी छेवाङसँग स्क्रिप्ट लेख्न सिकेर आए। यस बेला उनी बौद्ध दर्शनमा स्नातकोत्तर गर्दै थिए।
तरिका सिकेपछि धोन्डुपले पुनः कथाका लागि लेखे। यो पनि चित्तबुझ्दो भएन। राजनीति मुछिएको कथा छायांकनका लागि राम्रो मानिएन। अन्ततः फेरि लेख्न पर्यो।
धोन्डुप युट्युबमा भ्लग बनाउँछन्- आफ्नी आमाका साथमा। भ्लग हेरेका छेवाङलाई आमाको भ्लग मनपरेछ। यो पटक आफ्नै कथा समेट्दै स्क्रिप्ट लेखे। छायांकनका लागि चुनियो।
स्क्रिप्ट तयार भएपछि काम सकियो भन्ने लागेको थियो रे धोन्डुपलाई। तर सानो टोली भएका कारण उनलाई फिल्म निर्देशन गर्न आग्रह गरियो। कथाको निर्माता प्रविन कार्की हुन्। उनलाई पनि कथाले तान्यो।
'कथा मनपरेकै कारण निर्माण गर्न केही गाह्रो लागेन,' उनले भने, 'नयाँ विषयवस्तु त होइन तर उपल्लो मुस्ताङको वास्तविक जीवनमा आधारित चित्रले मलाई पनि तान्यो।'
'आमा खान्डो' मा मुन्ताङकै स्थानीय समावेश छन्। योबाहेक फिल्म टोली नै कथाका पात्र बनेका छन्। झन्डै २५ लाख रूपैयाँको लगानीमा बनेको फिल्म साढे दुई वर्ष लगाएर छायांकन सकेको निर्माता प्रविन बताउँछन्।
निर्देशक धोन्डुप यो फिल्म बन्न दुई वर्ष मात्र ढिला भएको भए यति राम्रो नहुने बताउँछन्।
'यो फिल्म जुन परिवेशमा खिचिएको छ, त्यसले दस-पन्ध्र वर्षअघिको दृश्य बुझ्न सकिन्छ,' उनले भने, 'दुई वर्ष मात्र ढिला भएको भए यहाँ भएको विकास र पूर्वाधारका कारण पुरानो अवस्था देखाउन सकिँदैन थियो।'
कथाकी मुख्य पात्र पेमा (खान्डो) तल्लो मुस्ताङकी वासिन्दा हुन्। यसअघि एउटा फिल्ममा सानो भूमिका खेलेकी उनलाई 'आमा खान्डो' टोलीले छाने। अझ, आमाको सल्लाहमा पेमा चुनिएकी धोन्डुप बताउँछन्।
'मेरै आमालाई पेमाको फोटो देखाएँ। उहाँलाई मन पर्यो,' धोन्डुपले मुख्य पात्र चुनेको समय सम्झिँदै भने, 'आमाले पेमाको फोटो देख्नासाथ म पनि पहिले यस्तै थिएँ। राम्रो लाग्यो, भनेपछि पेमालाई फाइनल गर्यौं।'
उसो त ३० वर्षीया पेमाको जीवनसँग पनि फिल्मको कथा मिल्छ। फिल्ममा उनको जस्तो चित्र छ, वास्तविक जीवनमा त्यस्तै। उनी १० वर्षका छोराकी एकल आमा हुन्। कथाको स्क्रिप्ट हेरेपछि आफ्नै जीवनसँग मेल खाएको उनले भनिन्, 'कथा बुझेँ। मलाई आफ्नै कथा लाग्यो।'
तिब्बती भाषामा 'खान्डो' भनेको 'परी' हो, अर्को शब्दमा भन्दा 'देवी' पनि। आमाको कथाबाट प्रभावित भएकाले र आमालाई देवी मानिने भएकाले नाम 'आमा खान्डो' राखेको निर्देशक धोन्डुपले बताए।
'आमा खान्डो' ११० मिनेट लामो छ। तर कथाको विषयवस्तुले दर्शकलाई बाँधेर राख्न सक्ने क्षमता बोकेको छ। दक्षिण कोरियामा भएको २४ औं बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल र इन्टरनेसनल फिल्म फेस्टिभल अफ इन्डिया,गोवामा पनि 'आमा खान्डो' देखाइएको थियो। थुप्रैले मन पराए।
चलिरहेको पाँच दिने लामो फिल्म फेस्टिभल, किम्फमा दोस्रो दिन यो दर्शकमाझ राखिएको थियो। निकै सकारात्मक प्रतिक्रियाहरू 'आमा खान्डो'को टोलीले पाएका थिए।