नेपाली चलचित्रलाई विश्व सिनेमाको बजारमा प्रवेशोन्मुख स्तरमा राख्न सकिन्छ। विश्व सिनेमाको मानचित्रमा अट्न नसक्नु नेपालजस्तो कला र संस्कृतिमा धनी देशका लागि चिन्ताको विषय हो। तर यसका मूल कारणहरूको विश्लेषणमा हाम्रो बौद्धिक समाजले कमै समय खर्चेको देखिन्छ।
अन्तर्राष्ट्रिय स्तरमा बहुसंख्यक कला उपभोक्ताका लागि चलचित्र अन्य माध्यमभन्दा बढी प्रभावकारी हुन्छ भन्ने उदाहरण खोज्न टाढा गइरहनै पर्दैन।
आफ्नो सांस्कृतिक संवेदनशीलताका लागि भारत र नौलो कथानक शैलीका लागि कोरियाले विश्व चलचित्र जगतमा गहिरो छाप छोड्न सफल छ। पछिल्लो दशकमा उनीहरूको चलचित्रलाई बाह्य मान्यता बढ्दो छ।
पछिल्लो दशकमा नेपालले सूचना(प्रविधिमा हासिल गरेको प्रगति र नेपाली चलचित्रको विकासक्रमलाई समानान्तर दृष्टिले हेर्ने हो भने अन्तर(औद्योगिक उपलब्धिको यो एउटा रोचक उदाहरण बन्छ। चलचित्र विधाको सूचना(प्रविधिप्रति निर्भरता बढिरहेको सन्दर्भमा भविष्यमा यसले अझ व्यापक र रचनात्मक रूप लिने निश्चित छ।
चलचित्र क्षेत्रको भविष्य त्यसको व्यवसायिक सफलतामा निर्भर हुन्छ। त्यसैले यसमा योजनाकार र बजेट निर्धारणको अहम् भूमिका हुन्छ। तर व्यवसायिक र प्राविधिक प्रगतिले मात्र चलचित्रको गुणात्मकता मापन हुँदैन। त्यसो हुँदो हो त निर्देशक सत्यजीत रे सन् १९९२ देखि अस्कर अवार्ड पाउने एक मात्र भारतीय निर्देशक हुने थिएनन् होला।
उनको बहुप्रतिष्ठित पहिलो बांग्ला चलचित्र 'पाथेर पंचाली' प्राविधिक रूपले आफ्नै समयमा पनि निकै कमसल भएको र आफू स्वयं असन्तुष्ट भएको तथ्य उनले सन् १९८२ को आफ्नो लेख 'अण्डर वेस्टर्न आइज'मा स्वीकारेका छन्।
यथार्थवादी अभिनयका लागि प्रतिष्ठित भारतीय अभिनेता कमल हासनले सन् २००४ मा पहिलो पटक पूर्णतस् एथ्निक (जातीय) चलचित्र निर्माण/निर्देशन गरेपछि भनेका थिए, 'विश्व जिज्ञासु छ र हामी एथ्निक भएर मात्र विश्वव्यापी रूपमा फैलन सक्छौं। 'वीरूमाण्डी' नामक उनको सो तमिल चलचित्रमा वास्तवमै भारतको स्वदेशी संस्कृतिको विशुद्ध प्रदर्शन छ। ६० वर्ष लामो करियरमा यो उनको एक सर्वाधिक सफल स्वलेखन पनि हो।
कलाबाट देशको परिचय दिन पहिले कलाकार स्वयं आफ्नो मौलिक कला र संस्कृतिका बारेमा प्रष्ट हुनु आवश्यक छ। नत्र कलाको उपलब्धी व्यवसायिक सफलतामा सीमित हुन्छ। आफ्नो समाज, संस्कृति र देशको परिचय बन्न असमर्थ हुन्छ। जसरी नेपाली ललितकलाले विदेशी संग्रहालयहरूमा स्थान पाएको छ, तिनै देशका सिनेमाहलहरूमा हाम्रा चलचित्रहरूले स्थान नपाउनुको कारण यसैबाट स्पष्ट हुन्छ।
मौलिकताको सूक्ष्म अध्ययन गर्न जिज्ञासाको अपरिहार्यता रहन्छ जसमा स्वदेशीभन्दा विदेशी आँखा अभ्यस्त हुनु स्वाभाविक हो। सन् १९८० को आफ्नो लेख दी न्यू सिनेमा एण्ड आईमा सत्यजीत रेले भनेका छन्, 'विदेशी दर्शकले मन नपराएका भए म चलचित्र निर्माताका रूपमा बाँच्न सक्तिन थिएँ होला।
औपचारिक रूपमा हासन र रे दुवै चलचित्रका विद्यार्थी थिएनन् तर समाजको अध्ययनमा उनीहरूले एथ्निक दृष्टिकोणलाई पहिल्याएको देखिन्छ। उनीहरूका चलचित्रले आफ्नो देशका परिचायक बन्न कोरा राष्ट्रवादको नारा लगाएनन्, कृत्रिम स्वदेशीपनालाई अँगालेनन् र बहुसंख्यकले बुझ्ने निहुमा हिन्दीमा समेत निर्माण गरिएनन्। राष्ट्रलाई चिनाउन सफल चलचित्र, राष्ट्रको कुनै पनि भाषामा निर्माण गर्न सकिन्छ भन्ने यसैबाट पुष्टि हुन्छ।
चलचित्र एक मात्र यस्तो विधा हो जसमा अपरिहार्य रूपमा कला र प्रविधि सँगै साहित्यको पनि वर्चस्व रहन्छ। कुनै पनि भाषाको भविष्य बोल्नेहरूको संख्याले मात्र हैन लेखनको इतिहास र लेखकहरूको सम्भावनाले समष्टिगत रूपमा निर्धारण गर्छ। अन्तर्राष्ट्रिय स्तरमा पनि भाषालाई व्याकरण हैन साहित्यले नै चिनाउँछ।
जब एउटा भाषाको साहित्य लोकप्रिय हुन्छ, त्यसको रसास्वादनका लागि परभाषी अर्थात् त्यस भाषाबाहेक अन्य भाषा बोल्ने मानिस लालायित हुन्छन् र अनुवादको विकल्प रहन्न। सीमा पारी परिचय यसरी नै स्थापित हुन्छ। परभाषीले नेपाली चलचित्र हेर्नाको कारण सिर्जना गर्न उनको जिज्ञासालाई तृप्त पार्ने सामग्रीको उपस्थिति पहिले अनिवार्य हुन्छ।
मौलिकताको रेखा नाघेर ती सामाग्री, जिज्ञासा र परिचय सबैबाट हामी एकै पल्टमा टाढिन्छौं। देशको परिचय बन्नु हाम्रा चलचित्रको लक्ष नहोला तर वर्ल्ड सिनेमाको प्रतिमानलाई हामीले नबुझ्ने हो भने प्रविधिको लहरले नेपाली चलचित्रक्षेत्रलाई पछि पार्दै जानेछ।
सन् २०१४ को एउटा आँकडा अनुसार बेलायतमा २५ वर्ष मुनिकाहरू सबैभन्दा बढी सिनेमा हल जाने देखियो। फेरि पोष्ट्राक नामक संस्थाले २०१९ मा प्रकाशन गरेको पछिल्लो तथ्यांकअनुसार पनि यसमा कुनै परिवर्तन देखिएन। सामाजिक समानुपातको सिद्धान्त अपनाउने हो भने नेपाली दर्शक समुदायमा पनि तथ्यांकगत हिसाबमा धेरै फरक नहुने अनुमान गर्न सकिन्छ।
यद्यपि शिक्षित नेपाली युवा समाजमा भाषिक विकल्प अधिक हुने र अंग्रेजी माध्यमप्रतिको आकर्षणलाई नकार्न सकिन्न। सिनेमा हल नगई अनलाइन माध्यमबाट भिडियो स्ट्रिमिंग गर्नेहरूको बाहुल्य पनि युवा समुदायभित्रै छ।
पश्चिमा मुलुकमा युवा समुदायले टेलिभिजनको विकल्पका रूपमा कम्पयुटरलाई लिइसकेका छन् भने दक्षिण एसियामा पनि बिस्तारै यो क्रम सहरी क्षेत्रबाट शुरू भइसकेको छ। सूचना/प्रविधिको माध्यमबाट कुनै पनि चलचित्र आफूले चाहेको स्थान, समय र उपरकणमा हेर्न नमिल्ने हो भने त्यस चलचित्रप्रति असमान्य रूचि नै जगाउनु पर्ने देखिन्छ।
आज आएर हलको ठूलो पर्दामै हेर्नु पर्ने चलचित्र भनेका केवल दुई(तीन प्रकारका हुनेछन् भन्ने बारे हलिउड पनि विश्वस्त देखिन्छ।
पहिलो, डिजास्टर अथवा प्रकोपमा आधारित चलचित्र।
दोस्रो, स्पेशल इफेक्टले सजिएको र तेस्रो भिजुअल स्पेक्टकल अथवा मन्त्रमुग्ध पारिदिने दृष्यले भरिएको चलचित्र। अझ केही वर्ष यतादेखि ओभर दि टप (ओटिटि) प्लयाटफर्महरूले भिडियो स्ट्रिमिंगको रूपरेखा नै फेरिदिएका छन्।
दक्षिण एशियामा नेटफ्लिक्स, अमेजन प्राइम, हटस्टार, जी(फाइभ, ए(एल्(टीजस्ता स्ट्रिमिंग सेवा प्रदाता वेबसाइटहरूले चलचित्र हेर्ने मात्र हैन अभिनय र निर्माण गर्रे प्रक्रियामा पनि शताब्दीकै ठूलो परिवर्तनलाई निम्त्याइसकेका छन्। यसबारे नेपाली चलचित्र क्षेत्र अनभिज्ञ त हैन तर खासै तयार पनि छैन।
एपिसोडहरूले बनेका विभिन्न सिजनहरूमा विभाजित ७/८ घण्टा लामो चलचित्र निर्माणको ढाँचा सिनेमा हलको २/३ घण्टा भन्दा एकदमै भिन्न छ। यसले युवा दर्शकहरूलाई पर्याप्त मनोरञ्जन र निहित स्वतन्त्रता पनि प्रदान गर्छ।
यति लामो अवधिसम्म उनीहरूलाई बाँधेर राख्न कथानक निरन्तर रूपमा रोचक भइराख्नु पर्छ भने नयाँ कथावस्तुको आवश्यकता झनै तड्कारो देखिन्छ। नेपाल र भारत जस्ता केही दक्षिण एशियाली देशहरूमा अनुभव गर्न सकिने अतिरिक्त शक्तियुक्त सेन्सर बोर्डको अनुपस्थितिमा ओटीटी माध्यममा हिंसा र यौनजस्ता विषयमा अकल्पनीय छुट पनि छ।
नेपालमा चलचित्रको व्यावसायिक स्ट्रिमिंगका प्रयासहरू नभएका हैनन्। उपयोगिताको लक्ष हासिल गर्नुअघि ती डिजिटल सेवाहरूले प्राविधिक परीक्षामा नै पूर्णत् सफल भएनन् र उपभोक्ताहरूको विश्वास पनि जित्न सकेनन्।
बलियो उपभोक्ता समूह नभएसम्म डिजिटल सेवादाताहरूले राम्रा चलचित्र र निर्माताहरूलाई आकर्षित गर्ने कुरै आएन। नेटफ्लिक्स, अमेजन र हटस्टारले महत्वाकांक्षी निर्माता-निर्देशकहरूलाई आकर्षित गरिरहेका छन्।
यता कोरोनाभाइरस महामारीका कारण महिनौं लकडाउनले ग्रस्त भारतीय चलचित्र निर्माताहरूले नयाँ चलचित्र सिनेमा हलमा हैन धमाधम डिजिटल रिलिज गर्ने भएका छन्। लोकप्रिय भारतीय अभिनेता नसीरूद्दिन शाहले कुनै बेला भनेका थिए, ‘सिनेमा हलहरू एक दिन संग्रहालयमा परिणत हुनेछन्।’
त्यो दिन कति छिटो आउला भनेर थाहा नभएता पनि त्यस दिशातर्फ हामीलाई ओटीटीले बिस्तारै डोर्याइरहेको थियो। कोरोनाभाइरसको महामारीले त्यतै हुइकाइदिएको छ।
सन् १९९७ मा स्थापना भएको अमेरिकी संस्था नेटफ्लिक्सले २०१६ देखि मात्र नेपालमा सेवा प्रदान गर्न थालेको हो।
एक सेमिनारको सिलसिलामा यसै वर्ष नेपाल आएका बेला नेटफ्लिक्सका स्टुडियो एक्जक्युटिभले भनेका थिए, 'तपाईं राम्रो चलचित्र बनाउनुस्, नेटफ्लिक्सले आफैं भेटाउने छ। तर वास्तवमा नेटफ्लिक्समा समावेश हुन चलचित्रप्रति अन्तर्राष्ट्रिय दर्शकको जिज्ञासा, कुनै स्थापित वितरक, अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय अभिनेता वा पर्याप्त मिडिया आकर्षणले बलियो भूमिका खेल्ने देखिन्छ।
नेपाली चलचित्रलाई माथिका धेरै कोठाहरू भर्न सजिलो छैन। लकडाउनपछिको विश्वमा प्रमुख परिवर्तनमध्ये चलचित्र बनाउने र हेर्ने शैलीमा आउने हेरफेर पनि मुख्य परिवर्तन हुनेछ।
हाम्रो लागि वास्तवमै वर्ल्ड सिनेमाको दायरामा आफूलाई राखेर हेर्नु र परिचयात्मक कलाको अवधारणालाई चाँडोभन्दा चाँडो बुझ्नुको विकल्प छैन।