गुड फ्राइडे सिनेमा
भारतमा एक नामी चोर थिए, जो कार लिएर चोर्न जान्थे। चोरी गर्न लागेको घरअगाडि कार पार्किङ गर्थे। गरगहना र महँगा सामान उठाएर त्यही कारमा फरार हुन्थे।
उनी न हतियार प्रयोग गर्थे, न कुनै हिंसा हुन्थ्यो। पटक-पटक प्रहरीले पक्राउ गर्दा पनि उनी भाग्न सफल हुन्थे।
'सोखिन चोर' मा गनिने उनका आँखा सानातिना सामानमा जान्थेनन्। धनीमानीका घरमा घुसेर उनी करोडौंका धनमालमा बडो सफाइका साथ हात फेर्थे।
भारतका दिल्ली, बैंगलोर, चन्डिगढजस्ता सहरमा आफ्नो कारनामा देखाइसकेका यी सोखिन चोरको खास नाम देवेन्दर सिंह हो, तर मान्छेहरू उनलाई 'बन्टी' भनेर चिन्छन्। चोरी गर्ने बेला घरका मान्छेसँग जम्काभेट हुँदा होस् वा प्रहरीको फन्दामा पर्दा, उनी कहिल्यै आत्तिएनन्। त्यसैले उनले 'सुपरचोर' को उपनाम समेत पाएका छन्।
प्रहरी हिरासतबाटै आँखा छलेर भाग्न सक्ने यी चोरका अनेक किस्सा छन्। बलिउड निर्देशक दिवाकर बनर्जीले तिनै रोचक किस्सामा थप अनुसन्धान गरेर फिल्म बनाए- ओए लकी लकी ओए।
उनले आफ्ना अन्तर्वार्तामा बन्टीबारे छापिएका समाचार र प्रहरीले तयार पारेको प्रतिवेदनसमेत अध्ययन गरेको बताएका छन्। यो फिल्ममा उनले बन्टीलाई लकी पात्रको रूप दिई आफ्नै अन्दाजमा कथा भन्न हास्यरस रोजेका छन्।
फिल्ममा अभिनेता अभय देवल लकी बनेका छन्। लकी १५ वर्षका थिए, जब उनका बुवा दोस्रो पत्नी लिएर घर आए। बुवासँग उनको सम्बन्ध कहिल्यै जमेन। उनका सानादेखि ठूला चाहना बुवाबाट पूरा हुँदैन थिए। तिनै चाहना पूरा गर्ने क्रममा लकीले साथीहरूसँग मिलेर चोर्न थाले।
उनी चोरेका सामान गोगी भाइलाई बेच्थे। यसरी चोरी गर्नु लकीको जीवनशैली बन्यो। आवश्यकताबाट सोख बन्दै गयो। हुँदाहुँदा उनी महँगा सामान, गरगहना र महँगा कुकुरसमेत चोर्न थाले।
द्वन्द्व खासै नभएको यो फिल्म लकीको चोर्ने स्टाइलमा केन्द्रित छ। यसमा लकीको पृष्ठभूमि विस्तारमा देखाइएको छ। निर्देशक बनर्जीले पात्रहरूको आर्थिक-सांस्कृतिक परिवेशको पनि सूक्ष्म चित्रण गरेका छन्।
दिल्लीमा हुर्के-बढेका बनर्जी पछिल्लो दशक बलिउडका उत्कृष्ट निर्देशकमध्ये एक हुन्। पहिलो फिल्म 'खोसलाका घोसला' मा जस्तै उनले यसमा पनि पात्रको बोलीचाली र व्यवहारबाट दिल्लीका मानिसको वर्गीय खाडल र मध्यमवर्गीय मनोविज्ञान देखाएका छन्।
यो फिल्मले दर्शकलाई हसाउँदै सामाजिक विकृतिको कथा नयाँ शैलीमा भन्छ। फिल्ममा चोर भएर पनि लकी इमानदार देखिन्छन्, जबकि समाजमा इमानदार देखिने केही पात्र निकै धूर्त छन्।
निर्देशक बनर्जीका फिल्ममा मनोरञ्जन र कलात्मक पक्षको सन्तुलन पाइन्छ। चोटिला संवाद र कलाकारहरूको जीवन्त अभिनय 'ओए लकी लकी ओए' को सबल पक्ष हो। स्वाभाविक अभिनयका कारण फिल्ममा अभय देवल आफ्नो भूमिकामा फिट छन्। आत्मविश्वासी चोरका रूपमा प्रस्तुत हुन उनी कतै चुकेका छैनन्।
तेहरो भूमिकामा देखिने परेश रावल तीनवटै चरित्रमा जमेका छन्। फिल्ममा तीनवटै परेश रावलको भूमिका सकारात्मक छैन। नीतु चन्द्रा, ऋचा चड्डा र किशोर उमेरको लकी बनेका मन्जोत सिंहको अभिनयले पनि पात्रलाई प्रभावकारी बनाएको छ।
'ग्यांग्स अफ वासेपुर' बाट चर्चा कमाएकी स्नेहा खन्वाल्करको संगीतले फिल्मको मुड फुत्कन दिँदैन। फिल्ममा किशोर कुमारले गाएको पुरानो गीत 'चाहिए थोडा प्यार' लाई थिमसङ बनाइएको छ, जसले मायाको अभावमा भड्केको लकीको मनोभाव बोकेको छ।
कथावाचन शैलीमा पनि निर्देशक बनर्जीले रमाइला प्रयोग गरेका छन्। ठाउँ ठाउँमा संवाद बिनाका दृश्यले कथालाई गति दिन्छ। भारतको नेसनल फिल्म अवार्ड २००९ मा बेस्ट पपुलर अवार्ड पाएको यो फिल्मले फिल्मफेयर अवार्डमा संवाद, पहिरन र अभिनय विधामा अवार्ड जितेको थियो।
मनोरञ्जनात्मक कमेडी फिल्म रुचाउनेका लागि 'ओए लकी लकी ओए' स्वादिलो खुराक हुन सक्छ।