तिम्रो नातामा हो छैनौं
तिम्रो जातैमा पर्दैनौं
हाम्रो मतलब नराख
हामी कोही होइनौं
कोही होइनौं...
पहिलो कोरोना लहर र लकडाउनताका समाजमा स्वास्थ्य संकटसँगै रोजिरोटीको समस्या चुलियो। महामारीको आपतबीच जातीय, लैंगिक, सामुदायिक विभेदका घटना सतहमा आए। भेरी तीरमा जातीय तारोका कारण नवराज विकलगायत केही युवा मारिएको घटनाले समाज तरंगित बन्यो।
यस्तै संकटले निम्त्याएको विरक्तिमा संगीत र अन्जानको जोडीले गत वर्ष तयार पारेको गीत हो- हामी कोही होइनौं।
दोस्रो लहरको कोरोनामा अक्सिजन नपाएर नागरिक छटपटाइरहे। सरकार भने विकास र समृद्धिको नारा लगाउँदै बस्यो। खानीजन्य ढुंगा, गिट्टी, बालुवा निर्यात गर्ने नीतिगत प्रस्ताव ल्यायो। कयौंले यसको विरोधमा आवाज उठाए।
तिनै विरोधको स्वरमा फेरि संगीत र अन्जानले 'बगर पल्ट्यो खोली' भन्दै लय हाले,
चौतारी, पोखरी मिचेर
ढुंगो र माटै बेचेर
कहाँ जान्छौ मान्छे किचेर?
संगीत र अन्जान यस्तै–यस्तै समसामयिक विषयमा गीत गाउने जोडीका रूपमा परिचित छन्। यो जोडीले कल्पना वा भावनामा बग्नेभन्दा सामाजिक-राजनीतिक टिप्पणी गर्ने यथार्थपरक गीत रच्दै आएको छ।
संगीत मूलतः गीत लेख्छन् र लय हाल्छन्। अन्जान त्यसलाई आवाज दिन्छन्। संगीतको लेखनमा विद्रोही चेत प्रखर छ भने अन्जानको स्वरमा ठेट लोकपारा झल्किन्छ। रैथाने भाका दुवैको प्राथमिकता भइहाल्यो।
यी बालसखाको सहयात्रा उनीहरूको जन्मस्थल पर्वतको बाजुङ गाउँबाट सुरू भएको हो। लोकसंस्कृतिमा भिज्दै, प्राकृतिक धून सुन्दै पर्वतका रनवन, खेतपाखा डुल्ने उनीहरू सानोमा सुसेली, पात र तालीका भरमा गीत बनाउँथे। गाईबाख्रा चराउन जाँदा आफैं बाँस काटेर बाँसुरी बनाएर बजाउँथे।
सामाजिकीकरण क्रममा जीवन शर्मा, खुसीराम पाख्रिन, जेबी टुहुरे, रामेश, रायनलगायतका गीत-संगीतले उनीहरूको विचारमा लेप लगायो। विद्यालय र जिल्ला स्तरीय सांस्कृतिक कार्यक्रममा तिनै सर्जकका 'सिमली छाया', 'गैती बेल्चा उचालेर' जस्ता गीत गाउन थाले।
कालान्तरमा उनीहरूका सिर्जनामा त्यसकै छाप पर्यो। ग्रामीण जीवनका दुःखसुख भोगेर हुर्केका उनीहरूले गीतसंगीतमा आमजनका सवाल उठाए। दुई दशकदेखि गीत सिर्जना गरिरहेका उनीहरूले हालसम्म दुई सयभन्दा बढी गीत बनाइसके। सबैमा लोकशैली र लोकसरोकार जोडिएको छ।
उनीहरूले बनाएका गीत संख्या धेरै भए पनि कमै रेकर्ड भएका छन्।
'किन होला?'
'हामी व्यावसायिक गायक वा संगीतकार नभएकाले रेकर्ड गराउने वा धेरै स्रोतामा पुग्ने प्राथमिकता नपरेको हो,' संगीतले भने, 'हामी बजारमा चलाउन नभएर सार्थक गीत बनाउने प्रयत्न गर्छौं। यो पनि अर्को कारण हो।'
'गीत रेकर्ड गराएर रातारात आममान्छेमा पुगौं भन्ने लोभ नभएकाले पनि हतार नगरेका हौं,' अन्जानले थपे।
एक दशकअघि 'म काठमाडौं आइपुगेँ' कविता संग्रह प्रकाशित गरेका संगीत लामो समय पत्रकारितामा सक्रिय रहे। अन्जान सहकारीमा काम गर्छन्। यसैबीचको समय चोरेर संगीत सिर्जनालाई निरन्तरता दिइरहेका उनीहरूका हालसम्म एक दर्जनजति गीत सार्वजनिक छन्।
सहरको सानो वृत्तलाई थाहा छ, अन्जान र संगीतको गीत जिमेलको इनबक्स मार्फत रिलिज हुन्छ।
हिजोआज समाचारसमेत पढ्ने वा सुन्नेबाट हेर्नेतिर ढल्केको बेला उनीहरू सुन्ने संगीत बनाइरहेका छन्। यो उनीहरूको रहर वा बाध्यता?
'खासमा आवश्यकता हो,' संगीतले भने, 'हामी नाफामुखी संरचनामा छौं। कवि, कलाकार तथा लेखकहरू कसरी धेरै पैसा र चर्चा कमाउनेतिर कुदिरहेका छन्। के राम्रो भन्दा पनि के चल्छ भन्ने कुरा हाबी छ। हामी यसको विपक्षमा छौं र अन्य विकल्प खोज्नुपर्छ भन्ने सोच्छौं।'
अन्जानका अनुसार एउटा गीतको अडिओ र भिडिओ बनाउने हो भने एक लाखभन्दा बढी खर्च लाग्छ। उनले भने, 'हामीसँग भिडिओ बनाउने पैसा छैन। वैकल्पिक माध्यमबाट गीतहरू स्रोतामा पुर्याउने प्रयास गर्नुको एउटा कारण यो पनि हो।'
तामझामपूर्ण खर्च गरेर संगीत बनाउने प्रतिस्पर्धामा सहभागी हुन नसक्ने–नचाहने उनीहरूका गीत साउन्ड क्लाउडमा भेटिन्छन्।
यीमध्ये धेरैजसो गीत कीर्तिपुरको डेरामा रेकर्ड भएका हुन्। पात, सुसेली, ताली, चुड्की बजाएर साथी र परिवारका सदस्यसहित मिलेर गाउने उनीहरूले कति गीत स्टुडियो नगई मोबाइलमा रेकर्ड गरेका छन्। ती गीत साहित्यिक–सांस्कृतिक कार्यक्रम र आन्दोलनका मोर्चाहरूमा प्रस्तुत गरेका छन्।
बजारभन्दा समाजको मापदण्डमा उत्कृष्ट गीत-संगीत सिर्जना गरिरहेका उनीहरूका धेरै गीत उनका साथीसंगी र प्रशंसकले फैलाइरहेका छन्। माध्यम जुनसुकै भए पनि राम्रा गीत-संगीत बिस्तारै मान्छेसम्म पुग्ने अडानमा हिँडेका उनीहरूको 'चरी लैजा समाचार' यसैगरी चर्चामा आएपछि त्यो विश्वास झन् बलियो बन्यो।
हामीकहाँ बर्सेनिजसो बाढी-पहिरोले घरबार, बस्ती डुबाउँछ। प्रकोपको मार सोझै आर्थिक-सामाजिक सोपानमा तल रहेका वर्ग र समुदाय पर्छन्। तिनका लागि वर्षा त्रासको समय हो। यस्तो त्रासदीलाई 'चरी लैजा समाचार' ले जुन शैलीमा कथा हाल्यो त्यसले बाढी नभोगेका स्रोताको मनसमेत चिराचिरा बनायो।
यो गीत स्रोताले यति मन पराए, हरेक वर्षाको विपतसँगै दोहोरिन्छ। यस वर्ष पनि वर्षा सुरू हुँदानहुँदै मेलम्चीको बाढीले कयौंका घरबार डुबायो। विस्थापित बनायो। पानी पर्ने क्रमसँगै देशभरबाट दुःखद खबर आइरहेका छन्। यो दुःखमा फेरि मुटु-कलेजो चिरिने गरी 'हामी भयौं बेघरबार' गुञ्जिरहेको छ।
संगीतले यो गीत २०६५ सालको कोशी बाढी प्रभावितका पीडा अनुभूत गरेर लेखेका थिए। गीत रेकर्ड भएपछि धेरैले मन पराए। २०७१ सालमा सुर्खेतका मादलवादक प्रेमदेव गिरिले सुर्खेतकै बाढीपीडितका फुटेजसमेत राखेर भिडिओ बनाएपछि गीतले थप चर्चा पायो।
'तर यो चर्चाले हामीलाई हरेक वर्ष बिझाउँछ। पहिला हाम्रो गीत बज्यो भनेर खुसी लाग्थ्यो। अचेल यो गीत बज्ने बित्तिकै घरबार डुबाउने र मानिसहरू बेघरबार हुने मौसम आयो भनेर झस्काउँछ। हामी चाहन्छौं बाढी पीडितको सिलसिला रोकियोस् र यो गीत इतिहासको सन्दर्भ मात्र बनोस्,' संगीतले भने।
हालै उनीहरूले गाएको नयाँ गीतमा पनि बाढी-पहिरो र प्रकृति विनाशको प्रसंग छ-
बाढी पैरो, दुःख गैरो, हामीलाई बज्रपात
आफू नाच्ने, आफू हाँस्ने, को हो त्यो धर्ती नारेर
संसारभर आणविकीकरण, युद्ध, हिंसा, विभेद, वातावरण विनाशको विरोधमा जागरण अभियान र आन्दोलनसँग जोडिएका गीत-संगीत बनेका छन्। आन्दोलनका मोर्चामा देखिइरहने संगीत र अन्जानले पनि संगीतविधाको यो शक्तिबारे राम्ररी थाहा छ। उनीहरूकाे जोड दिन्छन्, 'नेपालमा पनि यस्ता संगीत अभियानहरू चलाइनुपर्छ।'
संगीत र अन्जानको गीत-संगीत यस्तै अभियान हो जुन युट्युब भ्यूज, लाइक, कमेन्ट र सब्सक्राइबको रिले दौडबाट टाढा छ। यो अभियानमा आफ्नै गति, सूर र लय साथ अघि बढेका उनीहरू भन्छन्,
हिँडिसक्यौं, अब हिँड्ने छौं
हिँडुला खुन हुन्जेल
भेट हुँला अनि गाउँला
यो सउरै थर्कुन्जेल
साथी हो हामी त बाटैमा छौं...।