गुड फ्राइडे सिनेमा
दुई दिनपछि भारत बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७४ वर्ष पुग्दैछ। भारत स्वतन्त्र भएको जति समय भयो, भारत र पाकिस्तान विभाजन भएको पनि त्यति नै समय पूरा भएको छ।
स्वतन्त्रता र विभाजनको यो अगस्ट महिनामा प्रसिद्ध लेखक सलमान रुश्दीको बुकर प्राइज जितेको चर्चित उपन्यास 'मिडनाइट्स चिल्ड्रेन' को चर्चा सान्दर्भिक छ। रुश्दीको यो उपन्यासमा स्वतन्त्र भारतका जटिलतालाई सशक्त रूपमा चित्रण गरिएको छ। सन् १९८१ मा प्रकाशित यो उपन्यास उत्तर-औपनिवेशिक भारतको अनुहार देखाउने कलात्मक दस्तावेज हो।
यसमा लेखकले भारतको स्वतन्त्रतादेखि इन्दिरा गान्धीको संकटकालसम्मको समय समेटेका छन्। भारत पाकिस्तान युद्ध र बंगलादेशको जन्म जस्ता यही अवधिभित्रका महत्वपूर्ण घटनाक्रम पनि उपन्यासको कथाभित्र अटाएका छन्।
चर्चित निर्देशक दीपा मेहताले रुश्दीको चर्चित उपन्यासमा पनि फिल्म बनाएकी छन्। भारत पाकिस्तान विभाजनको सन्दर्भबारे यसअघि उनले '१९४७ अर्थ' फिल्म बनाएकी थिइन्।
सन् २०१२ मा सार्वजनिक भएको 'मिडनाइट्स चिल्ड्रेन' मा भने स्वतन्त्रतापछिका केही दशकको भारतको कथा देखाइएको छ। भारत र पाकिस्तानबीचको ऐतिहासिक सम्बन्धलाई ठूलो क्यानभासमा प्रस्तुत गरिएको यो फिल्मको केन्द्रमा सलीम सिनाई पात्र छन्। फिल्ममा भारत स्वतन्त्र भएको रात ठीक १२ बजे जन्मिएका सलीम र भारतको स्वतन्त्रताको कथा सँगसँगै अघि बढ्छ।
हामीलाई सलीम पात्रले सुनाउने यो कथा सन् २०१७ बाट सुरू हुन्छ। उनको हजुरबुबाको पालादेखिको यो कथा काश्मिरदेखि सुरू भएर बम्बई, आगरा हुँदै पाकिस्तानको कराँची र बंगलादेशको ढाकाको परिवेशसम्म पुर्याउँछ।
भारत स्वतन्त्र भएको मध्यरातमा एउटै समयमा दुई बालक जन्मेका हुन्छन्। एक जना धनी परिवारमा र अर्को गरिब परिवारमा। हस्पिटलकै नर्सले ती दुई बच्चा साटेपछि ती दुईको पहिचान संकटमा पर्छ। संयोगले सलीम बम्बईको धनाढ्य परिवारमा हुर्कन्छन्। उनीसँग साटिएको अर्को बच्चा शिव भने गरिब परिवारमा पुग्छन्।
भारत स्वतन्त्र भएको मध्यरातमा जन्मिएका सलीमसँग अनौठो क्षमता छ। उनी आफूजस्तै त्यो रात जन्मिएकाहरूसँग कुराकानी गर्न सक्छन्। 'म्याजिक रियालिज्म' प्रयोग गरिएको यो कुराकानीले कथालाई रोचक बनाएको छ।
फिल्मले भारत स्वतन्त्र भए पनि स्वतन्त्र भएकै मध्यरातमा जन्मेका यी बालबालिकाको जीवन कति स्वतन्त्र छ भन्ने प्रश्न उठाउँछ। उनीहरूको निजी जीवनका अप्ठ्यारा र राष्ट्रिय राजनीतिक समस्यालाई बुन्दै, फुकाउँदै कथा अघि बढ्छ।
सलीम एकदमै जोखिमपूर्ण पात्र हुन्। बसाइ सरिरहने उनी भारत, पाकिस्तान र बंगलादेश जहाँ पुगे पनि युद्ध र हिंसाका घटना सबैतिर भइरहेका हुन्छन्। सबैतिरका आममानिसले दु:ख र हिंसा भोग्न बाध्य छन्।
जन्मिँदै पहिचानको संकट भोगेका सलीमको कथा भारत देशकै कथा हो। फिल्ममा पात्रको संकट र भारत देशकै संकटबीच गहिरो तादाम्य छ। फिल्ममा यो अन्तर्सम्बन्धलाई ऐतिहासिक घटनाहरूको दुरुस्त सन्दर्भसँग जोडेर देखाउने प्रयास गरिएको छ। यसक्रममा भारत र पाकिस्तानबीचका दुई ठूला युद्ध, पूर्वी पाकिस्तान छुटिएर बंगलादेशको जन्म र लोकतन्त्रलाई संकटमा पार्ने इन्दिरा गान्धीकालीन संकटकालसँग फिल्मका मुख्य पात्रहरू जोडिन पुग्छन्।
मिडनाइट्स चिल्ड्रेन बुकर अफ बुकर्स पुरस्कारबाट समेत सम्मानित अत्यन्तै लोकप्रिय पुस्तक हो। संरचनाको हिसाबले पनि यो जटिल कथानक भएको उपन्यास हो। त्यसैले मिडनाइट्स चिल्ड्रेनमा फिल्म बनाउने काम दीपाका लागि चुनाैतीपूर्ण थियो।
सत्य भवले सलीमको भूमिका निर्वाह गरेको मिडनाइट्स चिल्ड्रेनमा रजत कपुर, श्रीया शरन, रोनित राय, राहुल बोस, शबाना आजमी, सहाना गोश्वामी, सीमा विश्वासलगायत कलाकारले अभिनय गरेका छन्।
प्रस्तुति, संवाद, सिनेमाटोग्राफी, आर्ट डाइरेक्सनजस्ता धेरै पक्ष सबल भए पनि फिल्मका पात्रहरूले दर्शकमा किताबले जस्तो संवेदना जगाउन नसकेको टिप्पणी पाएको थियो।
दर्शक र समीक्षकमा अपेक्षित प्रभाव पार्न नसके पनि लेखक सलमान रुश्दी र निर्देशक दीपा मेहताजस्ता अब्बल जोडीको सहकार्यले निराश भने बनाउँदैन। बरू, आख्यान र सिनेमामार्फत् भारत र समग्र दक्षिण एसियाकै इतिहासलाई नजिकबाट हेर्ने-बुझ्ने आधार दिन्छ।