गुड फ्राइडे सिनेमा
तपाईंलाई श्रीदेवी मनपर्छ र 'सद्मा' फिल्म हेर्नुभएको छैन भने तपाईं श्रीदेवीको फ्यान होइन। कमल हसन मन पर्छ तर सद्मा हेर्नुभएको छैन भने तपाईं कमल हसनको पनि फ्यान होइन।
यी दुई कलाकारले उत्कृष्ट अभिनय गरेको सद्मा फिल्मको कथा उत्तिकै मर्मस्पर्शी छ। यसमा सवारी दुर्घटनापछि स्मरण शक्तिमा ह्रास आएर बच्चाजस्तै व्यवहार गर्ने युवतीको कथा छ।
फिल्ममा श्रीदेवी नेहलता र कमल हसन सोमप्रकाशको भूमिकामा छन्।
फिल्मको सुरूमै नेहलताको कार दुर्घटना हुन्छ। दुर्घटनाका कारण उनको स्मृतिमा ह्रास आउँछ। उनी आफ्नै आमाबुबालाई नचिन्ने हुन्छिन्। डाक्टरका अनुसार उनीसँग छ-सात वर्षको उमेरसम्मको स्मरण मात्र बाँकी छन्। डाक्टरले नेहलताको स्मरण फर्किनेमा विश्वस्त छन् तर उनी भन्न सक्दैनन् कहिले।
बरू नेहलताका आमाबुबालाई मनोचिकित्सककहाँ उपचारका लागि लैजाने सल्लाह दिन्छन्। उपचारकै क्रममा नेहलता नर्सिङ होमबाट भाग्छिन्। यही बेला कुनै अपरिचितले उनलाई वेश्यालयमा लगेर छोडिदिन्छ।
त्यहीँ उनको भेट सोमप्रकाशसँग हुन्छ।
सोमप्रकाश साथीको करकापमा परेर पहिलो पटक वेश्यालय पुगेका हुन्छन्। यी दुई पात्रको पहिलो भेट वेश्यालयको बन्द कोठामा हुन्छ। नेहलता आफूलाई जानकारी बिना वेश्यालय आइपुगेका थाहा पाएपछि सोमप्रकाशले उनलाई त्यहाँबाट भगाएर लैजान्छन्। सोमप्रकाश शिक्षक हुन्। आमाबुबाको अभिभावकत्व नपाई उनलाई छिमेकी महिलाले हुर्काएकी हुन्छिन्।
नेहलता र सोमप्रकाश एकअर्कालाई रेशमी र सोमु भन्छन्। फिल्म यिनै दुई पात्रको वरिपरि घुम्छ। दुई अपरिचित युवायुवती भावनात्मक रूपमा जोडिनु सामान्य कुरा हो। तर यहाँ त रेशमी पहिल्यै अप्ठ्यारो परिस्थितिमा छिन्।
हेर्दा ठूली भए पनि सानो उमेरका केटाकेटीजस्तै व्यवहार गर्छिन्। उनको व्यवहारले सोमप्रकाशलाई पटकपटक झर्को पनि लाग्छ। तर त्यो क्षणिक हुन्छ।
अर्कोतिर नेहलता हराएदेखि उनका परिवार र प्रहरीले खोजिरहेका हुन्छन्। यसबारे बेखबर सोमप्रकाशलाई भने नेहलताको साथको बानी परिसकेको हुन्छ।
रेशमीसँग भेट हुनुअघि सोमप्रकाश गम्भीर स्वभावका हुन्छन्। तर रेशमीको बचकाना क्रियाकलापले उनलाई पनि बच्चाजस्तै बनाइदिन्छ। संवादमा होस् वा संगीतमा, बोलिरहँदा होस् वा दुवैले संवादबिनै हाउभाउले मात्र अभिव्यक्त गर्दा फिल्ममा यी दुईको हरकतलाई रोचक शैलीमा देखाइएको छ।
मानसिक रूपमा असामान्य देखाइएको फिल्मकी महिला पात्र यति स्वच्छन्द छिन् कि उनका हरेक कुरा दर्शकलाई प्रिय लाग्छ।
सम्भवतः यो पात्र तपाईं वर्षौंसम्म पनि सम्झिरहनु हुनेछ। श्रीदेवीको अभिनयजस्तै फिल्मको अन्तिम दृश्यमा देखिने कमल हसनको छविले पनि तपाईंलाई पछ्याइरहनेछ।
फिल्मका दुई मुख्य पात्रहरुको भूमिका सतहमा चञ्चल छ, अन्तर्यमा गम्भीर। यी दुई पात्र पर्दाभित्र हाँस्दाहाँस्दै रुन्छन् र रुँदारुँदै हाँस्छन्। उनीहरूको भावनात्मक उतारचढावको दर्शकमा पनि उसै गरी असर पर्छ।
प्रेम कथा भए पनि यसको कहानी चलनचल्तीको प्रेमभन्दा बिलकुल अलग छ। यो कहानीमा फिल्मको गीत संगीत र सिनेमाटोग्राफीले थप सौन्दर्य थप्छ।
निर्देशक बालु महेन्द्राको निर्देशनमा बनेको यो फिल्मको कथा पनि उनैले लेखेका हुन्। गीत र संवाद गुलजारको छ। इलैयाराजाको संगीतमा बनेको फिल्मको 'ए जिन्दगी गले लगा ले' आज पनि उत्तिकै चर्चित छ।
यो फिल्म तमिल 'मूनड्रोम पिराई' को रिमेक हो। दुवै फिल्ममा कमल हसन र श्रीदेवीले मुख्य भूमिका निर्वाह गरेका छन्।
(फिल्म हेर्न 'Watch on Youtube' मा क्लिक गर्नुहोस्)