अभिनेत्री तथा मोडल मलिका महत दसैं-तिहारसँगै ल्होसार पनि मनाउँछिन्। आमातिरकी हजुरआमा शेर्पा भएकाले सानैदेखि उनको परिवारमा हिन्दु धर्मसँगै बौद्ध धर्मको प्रभाव छ।
हजुरआमालाई उनी इबी भन्छिन्। इबीसँग ल्होसारमा घ्युको टीका लगाएर आशीर्वाद थाप्ने उनी दसैं-तिहारमा हिन्दु धर्मअनुसार अक्षता-जमरा र सप्तरंगी लगाउँछिन्।
तिहारको सेलरोटीजस्तै उनलाई ल्होसारमा बनाइने खाप्से, आलुदम र रोटी उत्तिकै मन पर्छ। बख्खु त उनको मनपर्ने पहिरन नै हो।
'सत्यम' फिल्मका लागि एक साता पोखरा बसेर बुधबार काठमाडौं फर्केकी उनले तिहारका लागि पूर्वतयारी गर्ने समय पाइनन्। त्यसैले अहिले तिहारका लागि गर्ने किनमेल र सरसफाइको चटारो छ।
'पोखरा जानु परेकाले व्यस्त भइयो। तयारी गर्न अलि ढिलो भयो, मेरो तिहार बल्ल सुरू हुँदैछ,' मलिकाले सेतोपाटीसँग भनिन्।
मलिका गौशालामा हुर्केकी हुन्। बालकुमारी सर्नुअघि हरेक वर्ष उनी किनमेलका लागि आमासँग चाबहिल, गणेशस्थान पुग्थिन्। खानेकुराका मसला र पूजा सरसामानको भारी बोकेर भीडमा धक्का खाँदै हिँडेपछि बल्ल उनलाई तिहार लागेझैं हुन्थ्यो।
बालकुमारी सरेपछि भने उनको किनमेल गर्ने ठाउँ एउटै छैन। यसपटक त समय नै कम भयो।
उनले भनिन्, 'भ्याइ-नभ्याइ छ।'
भाइटीकाको मसला पोको पार्ने, दाजुभाइलाई दिने उपहार, घरको सरसफाइ र लक्ष्मीपूजामा बनाउने रंगोलीसम्मका काम उनको सूचीमा छ। मलिकाका अनुसार उनकी आमा असाध्यै धार्मिक छिन्। त्यसैले विधि पुर्याएर पूजाआजा हुन्छ।
धपेडी हुने भए पनि तिहार उनलाई विशेष मनपर्ने चाड हो।
'रंगीचंगी फूल, झिलिमिली बत्ती, रंगोली र सप्तरंगी टीकाले तिहारमा बेग्लै महशुस हुन्छ,' उनले भनिन्।
उनलाई तिहारमा रंगोली बनाउने बेला सबभन्दा रमाइलो लाग्ने रहेछ। हरेक वर्षझैं आज लक्ष्मीपूजामा आफैं रंगोली बनाउन उत्साहित छिन्।
'सानैदेखि रंगोली बनाउन एकदमै रहर लाग्थ्यो। यही रहरले होला पहिलाभन्दा झन्झन् राम्रो बनाउन सिकिरहेकी छु।'
भाँडाकुटी खेल्ने उमेरमा घरका ठूलाले भाँडा माझेको, लुगा धोएको देखेर आफू पनि ती काम गर्न अघि सर्थिन्। रंगोली बनाउन पनि देखासिकी गर्दै सिकेको उनले बताइन्।
लक्ष्मीपूजा, भाइटीकाजस्तै देउसी र भैलो तिहारको मुख्य आकर्षण हो। जीवनमा देउसी वा भैलो नखेलेको मान्छेले तिहार पूर्ण रुपमा मनाएको कसरी मान्नू!
मलिकालाई पनि यस्तै लाग्छ। दुखद, उनीसँग भैलो खेलेको अनुभव भने छैन भन्दा हुन्छ।
उनले एकपटक मात्र भैलो खेलेकी छन्। त्यो पनि आफ्नै घरको तल्लो तलामा बस्ने साथीहरूसँग।
'बच्चैदेखि भैलो खेल्न एकदमै मन लाग्थ्यो तर कहिल्यै पाइएन। एक्लै बस्ने र अन्तर्मुखी स्वभाव भएकाले भैलो खेल्ने साथी भएनन्। राति अबेरसम्म घरबाहिर जाने अनुमति पनि थिएन,' उनले भनिन्, 'मज्जाले भैलो खेल्दै नाच्ने गाउने रहर अधुरै छ। एकचोटि भए पनि घरघर डुल्दै भैलिनी भन्दै मज्जाले खेल्न मन छ।'
तर उनलाई त्यसरी भैलो खेल्ने दिन आउला भन्नेमा शंका छ।
'भैलो खेल्न न साथीहरू छन् न माहोल,' उनले भनिन्।
त्यसैले तिहारमा देउसी-भैलो खेल्दै हिँड्ने सामूहिक गतिविधिले उनलाई सधैं आकर्षित गर्छ। अझ राजधानीमा हुर्केकी उनी गाउँघरतिर खेलिने देउसीभैलोको किस्सा सुनेर लोभिन्छिन्। अनि आफूले त्यसरी हिँड्न नपाएको कुराले उनलाई खिन्न बनाउँछ।
तिहारमा धेरै केटाकेटी पटाका पड्काउन रमाउँछन्। मलिकासँग सानोमा पटाका पड्काउँदाका रमाइलो सम्झना रहेछ।
'दाइ, भाइ र अरू केटाकेटीसँग मिलेर हामी घरको प्यासेजमा पटाका पड्काइरहेका थियौं। एक्कासि त्यहाँ पुलिसहरू आएर पड्काउन हुँदैन भन्ने थाहा छैन भनेर थर्काए,' उनले भनिन्, 'त्यस बेला यति डर लागेको थियो कि हामी दौडेर कोठाभित्र छिर्यौं। निकैबेरसम्म डराएर म सोफापछाडि लुकेको थिएँ।'
दसैं-तिहार होस् वा ल्होसार मलिका चाडवाड भनेको केटाकेटी उमेरमा बढी रमाइलो हुने बताउँछिन्। केटाकेटीमा जिम्मेवारी कम हुने भएकाले स-साना कुरामा रमाइन्छ। तर ठूलो भएपछि बिस्तारै जिम्मेवारी आफूमा सर्छ।
यसपटकको दसैं घर सफा गरेर बितेको बताउने उनी तिहारमा फेरि सरसफाइमै होमिइसकेकी छन्।
तिहारमा धेरै जना सेलरोटी, अनारसा, फिनी, मालपुवा पकाउन व्यस्त हुन्छन्। तर मलिकाको घरमा भने पकाउने भन्दा बाहिरबाटै किनेर ल्याउन चलन रहेछ।
उनले भनिन्, 'आफैं बनाउँदा खासै मिठो नभएकाले किनेर ल्याउन थाल्यौं।'
तिहारमा उनी आफूभन्दा तीन वर्ष ठूला दाइ र सात वर्ष सानो भाइलाई टीका लगाउँछिन्। भनिन्, 'भाइटीकापछि फेरि काममा व्यस्त भइन्छ। त्यसैले तिहार पूरै रमाइलो गरी मनाउँदै छु।'
मलिका सिनेमामा स्थापित हुन प्रयास गरिरहेकी कलाकार हुन्। प्लस-टु पढ्ने बेला 'यात्रा' फिल्ममा अभिनय गर्दा २२ वर्षकी भइन्। उनको चर्चा भने 'फूलबुट्टे सारी' गीतको भिडिओपछि चुलिएको हो। भिडिओमा उनी पल शाहका साथमा देखिएकी थिइन्।
युट्युबमा सबभन्दा छिटो करोड भ्युज पाउने रेकर्ड बनाएको यो गीतपछि पलसँगै मलिकाले अभिनय गरेको 'टाढाबाट भए पनि' ले पनि करोड भ्युज काट्ने अर्को रेकर्ड बनायो।
यसबीच मलिकाले पलका साथमा 'लाखौं हजारौं', 'तिम्रो मनमा ए कान्छा', 'आँखामा आउने सपनी' लगायत भिडिओमा काम गरिसकेकी छन्।
हाल मलिकाले काम गरिरहेको 'सत्यम्' फिल्ममा राजेश हमाल, अनुप विक्रम शाही, पल शाह लगायत कलाकारको मुख्य भूमिका छ। निर्देशक शंकर कार्कीको यो फिल्ममा मलिकालाई फेरि पलकै जोडीका रूपमा देखिने छ।
यसबाहेक खगेन्द्र लामिछानेले निर्देशन गरेको 'पानी फोटो' मा खगेन्द्रसँगै मेनुका प्रधान, अनुप बरालका साथमा देखिने छिन्।