युट्युबमा सबभन्दा धेरैले रुचाएमध्येको तिहार गीत हो- झिलिमिली रातमा। गीत यसरी सुरू हुन्छ:
झिलिमिली रातमा साथीभाइ साथमा
रमाइलो मनाउँदै
लड्दै र पड्दै आएका हामी
देउसी रे भट्याउँदै
यो तिहारमा हामीले यही गीतका म्युजिक प्रोड्युसर अल्मोडा राना उप्रेतीसँग कुराकानी गरेका छौं।
त्यस बेला अल्मोडा स्कुलमा पढाउँथे। उनले संगीत संयोजन गरेको पहिलो गीत जेरी फिल्मको 'के यो माया हो' चर्चित भइसकेको थियो। अल्मोडाको काम मनपराएर होला, उनलाई तिहार थिममा गीत बनाउने प्रस्ताव आयो।
कृपा स्टुडियोका शिव लामिछाने, अमनप्रताप अधिकारी लगायतले उनलाई उक्त प्रस्ताव गरेका थिए।
'संगीत क्षेत्रमा पहिचान बनाउन संघर्ष गरिरहेको समय थियो। उहाँहरूको प्रस्तावलाई मैले काम गरेर देखाउने अवसर ठानेँ। तर तिहारनजिकै आइसकेकाले हतार थियो। तीन दिनभित्रै गीत तयार पार्नुपर्ने भयो,' अल्मोडाले भने।
न्यूरोडनजिकै मरूटोलमा हुर्केका अल्मोडासँग तिहारमा गीत गाउँदै देउसी खेलेको आफ्नै अनुभव थियो। देउसी-भैलोका थुप्रै लय उनले सुनेका थिए।
'आफूले सानोदेखि सुनेको र गाएको लय र शब्दलाई आधार बनाएर नयाँ तिहार गीत कम्पोज गर्ने निर्णय गरेको थिएँ,' उनले भने।
उनले सम्झेको तिहार गीत लामो समयदेखि गाइँदै आएको लयमा थियो। समाजमा स्थापित भइसकेको भाकालाई आफ्नो शैलीमा प्रस्तुत गर्ने चुनौती पनि थियो। तर यसका लागि सोच्ने पर्याप्त समय उनीसँग थिएन। स्कुल आउँदा जाँदा बाटोमै लय र शब्द बनाउन थालेको उनी बताउँछन्।
एक दिनमै मुखडा र अन्तिम भाग तयार पारेका उनलाई बीचको भागमा के गर्ने भन्ने कुराले सताइरहेको थियो। 'नयाँ पनि सुनिने र फिलरको काम पनि गर्ने भएकाले बीचको भागमा र्याप हाल्दा ठिकै होला भन्ने भयो,' अल्मोडाले भने।
यो गीतमा अक्षताले स्वर दिने तय भइसकेको थियो। बीचको भागमा र्याप गाउने क्रममा युवा र्यापर नवाज अन्सारी जोडिए।
हिन्दुहरूको तिहार गीतमा मुसलमान गायकले र्याप हानेको तपाईंले याद गर्नुभएको थियो? छैन भने, यसमा नवाजको र्याप सुन्दा पक्कै रमाइलो लाग्ला।
यो नेपाली तिहार गीतमा नवाजले गाएको र्याप अंग्रेजीमा छ। गीतको भिडिओमा 'मदर लक्ष्मी आई लभ भू' भन्ने उनै नवाज नै हुन्। शब्द र स्वरका हिसाबले सबभन्दा धेरै हिस्सा नवाजले नै ओगटेका छन्। उनले यसमा १६ बिटको र्याप गाएका छन्। यो पनि गीतको रमाइलो पक्ष हो।
गीतमा अरू पनि धेरै रमाइला कुरा छन्। जस्तो, यो गीतमा हिन्दु र मुसलमानसँगै फ्रान्सेली कलाकार रोलान्ड कार्बिटी मिक्ली पनि जोडिएका छन्। गीतलाई उनको बिट बक्सले नयाँ स्वाद दिएको छ। भिडियोमा पनि उनी देखिएका छन्।गीतमा प्रिन्स नेपालीको सारंगी र शिव लामिछानेको पूर्वेली भाका पनि मिसिएको छ।
नेपाली लोकदेखि र्याप, रेगे, ज्याजसम्मको स्वाद मिसिएको यो गीतलाई अल्मोडा आफ्नो नभएर सामूहिक सिर्जना मान्छन्, 'फरक पृष्ठभूमिका कलाकार र धेरै खालको संगीतको स्वाद रहेको यो गीतमा मेहनत पनि धेरै जनाको परेको छ। त्यसैले गीत राम्रो बनेको हो।'
काठमाडौं विश्वविद्यालयबाट इथ्नोम्युजिकोलोजी पढेका अल्मोडा लोकमा आधारित फ्युजन संगीत मन पराउँछन्। उनका लागि यो तिहार गीत प्रयोगात्मक फ्युजन गर्ने अवसर थियो। उनले यो गीत तीन खण्डमा बाँडेर कम्पोज गरेका छन्। पहिलो सारंगीको अर्केस्ट्रेसन, दोस्रो लोक र रेगी अनि अन्तिम खण्डमा लोक र ज्याज।
सारंगीमा 'भैलिनी आइन् आँगन' को धुनबाट सुरू भएको यो गीतमा धेरै खालका संगीत फ्युजन गरिएको भए पनि केन्द्रमा नेपाली लोकलय नै छ। अल्मोडा आफ्नो उद्देश्य पनि त्यही रहेको बताउँछन्।
'हामीले सुन्ने देउसी-भैलो लोकशैली हो। लोकको मर्म नमारी मेरो आफ्नै शैलीमा कम्पोज गर्दा नयाँ पुस्तालाई पनि मनपर्छ भन्ने लागेको थियो। नभन्दै देश-विदेशसम्मका स्रोताले मन पराइदिनुभयो,' उनले भने।
यो गीतको अडिओ हतारमा बनेको थियो तर भिडिओ त्योभन्दा हतारमा बनेको उनी बताउँछन्।
बिजु कर्माचार्यको निर्देशन र सम्पादनमा बनेको भिडिओ कृपा दृश्य डिजिटलले निर्माण गरेको हो। अडिओमा जस्तै गीतको भिडिओमा पनि धेरै जनाले सहयोग गरेको देख्न सकिन्छ।
कृपा स्टुडियोको छतलाई नै सेट बनाएर खिचिएको भिडिओमा अल्मोडा, अक्षता, नवाज र मिक्लीको उपस्थिति त भइहाल्यो। निमा रूम्बा, नरेन लिम्बू, कालीप्रसाद बाँस्कोटा, अमनप्रताप अधिकारी, शिव लामिछाने, पाभेल उदास, शान्ता नेपाली, आलोक थापा, रोशन लामा लगायतको जमघट पनि देख्न पाइन्छ। यति धेरै कलाकारको उपस्थितिले भिडिओ रोचक बनेको छ।
सन् २०११ देखि संगीत संयोजक, संगीतकार तथा गायकका रूपमा सक्रिय अल्मोडाले हालसम्म धेरै सिर्जना गरिसके। पछिल्लो समय अल्मोडाको 'कहिले भेट्ने खै' निकै रूचाइएको गीत हो।
'के यो माया हो', 'झिलिमिली रातमा' र 'जालमा' उनका सुरूआती तीन काम हुन् जुन 'ब्याक टु ब्याक हिट' भएका थिए।अल्मोडाका अनुसार यही गीतको सफलताका कारण उनले कृपामा म्युजिक प्रोड्युसरका रूपमा चार-पाँच वर्ष काम गर्ने अवसर पाए।
'मेरो सफलतामा यो गीतको लोकप्रियताले महत्वपूर्ण काम गरेको छ,' उनले भने, 'म आफैंलाई पनि यो गीत मनपर्छ। दसैं, तिहार बेला धेरै कन्सर्टमा मैले यो गीत गाएको छु।'