सिक्किमको ग्यान्टोकमा प्राध्यापन पेशामा आवद्ध शोभा शर्माले करिब एक वर्षअघि नेपाली लेखक निलम कार्की निहारिकाका पुस्तकको समीक्षा पढेकी थिइन्।
समीक्षा पढेपछि उनलाई ती पुस्तकहरू पढ्ने मन भयो। अनलाइनबाट किन्न सकिन्छ कि, भनेर हातमा रहेको मोवाइल खोलिन्, अमेजन, फ्लीपकार्ट तिर खोजिन्, तर कहीँ भेटिएन। पुस्तक पसलहरूमा पाइन्छ कि, भनेर खोजी गरिन्, कतै पनि भेटिनन्।
निहारिकाका पुस्तक पढ्ने उनको धोको अब भने पुरा हुने भयो। चितवनको सौराहामा कविडाँडा साहित्य समाजले १९ औं वार्षिकोत्सवको अवसरमा गरेको नेपाल–भारत साहित्य उत्सवमा सहभागी बन्न आएकी उनले निहारिकाका चार वटा पुस्तकहरू किनिन्।
नेपाली भाषी शर्मा ग्यान्टोकको एउटा क्याम्पसमा अंग्रेजी विषय पढाउँछिन्। साहित्यमा धेरै रूची राख्ने उनी अंग्रेजी साहित्यका पुस्तकहरू खोजी–खोजी पढ्छिन्।
‘तर नेपाली भाषाका राम्रा पुस्तक जति खोजे पनि भेटिँदैनन्। हाम्रो तिरका बुक स्टोरहरूमा नेपाली भाषाका असाध्यै कम पुस्तकहरू भेटिन्छन्, ती पनि नेपालबाट लुकाएर लगिने रहेछन्,’ उनले सेतोपाटीसँग भनिन्, ‘राम्रो समीक्षा पढेपछि पुस्तक पढुँ–पढुँ हुन्छ तर किन्नै पाइँदैन।’
अंग्रेजीमा अनुवाद गरेर अन्तर्राष्ट्रिय बजारमा आएका पुस्तकहरू सजिलै पाइए पनि नेपाली भाषाकै पुस्तकहरू नपाउँदा चाहेर पनि नेपाली साहित्य धेरै पढ्न नपाएको उनले बताइन्।
‘मैले त सुरूमा साहित्यमार्फत नै नेपाल देखेको हो। आँखाले त धेरै पछि मात्रै देखेँ। अहिले नेपाल आएरै मात्र चाहेको पुस्तक किन्न पाएँ, लेखकलाई भेट्न पनि पाएँ। असाध्यै खुसी छु,’ उनले भनिन्, ‘सबै किताबहरू पढेर अंग्रेजीमा समीक्षा लेख्नेछु।’
उनले नेपाली भाषामा लेखिएका पुस्तकबारे धेरै मान्छेबाट प्रशंसा सुन्ने गरेको बताइन्। ‘पढ्नेहरूले नेपाली भाषामा यति राम्रा पुस्तकहरू छन् पढेर अनुवाद गर भन्छन्,’ विभिन्न भाषाका पुस्तकलाई अंग्रेजीमा अनुवाद गर्दै आएकी शर्माले भनिन्, ‘नेपाली भाषामा लेखिएका पुस्तकलाई अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउन अब पुस्तकको बजारलाई सहज बनाउनुपर्छ।’
भारतबाट नेपाल सहजै पुस्तकहरु आउने गरे पनि नेपाली पुस्तकहरू भारत लैजान सहज छैन। सीमापारी लैजाँदा भन्सारले रोक्ने भएकाले कतिपयले नेपाली पुस्तकहरू लुकाएर लैजाने गरेका छन्। भन्सारमा हुने झन्झटका कारण भारतका नेपाली भाषीको बाहुल्यता रहेका ठाउँका पसलहरूमा नेपाली पुस्तक पाउन कठिन छ।
भारतको आसामकी डा. सरिता शर्माको गुनासो पनि उस्तै छ।
‘नेपाली भाषाका पुस्तकहरू स्तरीय बन्दै जाँदा यसप्रतिको चाख बढेको छ तर हामीले चाहेर पनि पढ्न पाएका छैनौं,’ शर्माले भनिन्, ‘कहिले अनुवाद भएर बजार आउला र पढौंला भनेर कुरेर बस्नुपर्छ।’
साहित्य लेखन र अनुवादनमा सकृय शर्मा पल्पसा क्याफेको अंग्रेजी संस्करण पढेर नारायण वाग्ले प्रशंसक बनिन्। तर नेपालीमा लेखिएको उक्त पुस्तक धेरैतिर खोज्दा पनि पाइनन्।
‘नेपाल आएकी छु, मन लागेका पुस्तकहरू किनेर पढ्छु,’ सौराहामा भेटिएकी उनले भनिन्।
विदेशमा रहेका नेपालीभाषीले नेपाली पुस्तक पढ्न नपाएको भन्दा ठूलो दुःख लेखकलाई आफ्ना पुस्तक त्यहाँसम्म पुर्याउन नपाएकोमा छ। लेखक निलम कार्की निहारिकालाई उनका पुस्तकहरू पठाइदिन आग्रह गरेर विभिन्न देशहरूबाट म्यासेजहरू आउँछन्।
‘अनलाइनहरूमा खोज्यौं भेटिएन, म चेक पठाइदिन्छु किताब पठाइदिनुपर्यो भनेर धेरै म्यासेजहरू आउँछन् तर म चाहेर पनि उहाँहरूलाई मेरा पुस्तक पठाउन सकिरहेको छैन,’ उनले भनिन्, ‘मेरो पुस्तक बिक्री गर्ने त प्रकाशकले हो। प्रकाशकले यो कुरामा ध्यान दिनुपर्छ जस्तो लाग्छ।’
उनले नेपाली भाषाका पुस्तकको ठूलो बजार विदेशमा रहेको भए पनि कानुनी जटिलताका कारण पुर्याउन नसकिएको गुनासो गरिन्। ‘भाषा, साहित्य र संस्कृतीले संसारलाई हामीसँग जोड्छ, त्यसैले हामीले हाम्रा पुस्तकहरू संसारभर रहेका नेपाली भाषीमाझ सहजरूपमा पुर्याउन सक्नुपर्छ,’ उनले भनिन्, ‘भारत, भुटान, बर्मामा त राम्रो नेपाली बोल्ने धेरै मानिसहरू छन्। उनीहरूसम्म पुर्याउन सहज भए धेरै राम्रो हुन्थ्यो।’
उनले प्रकाशकहरूले ती देशमा रहेका नेपाली भाषीको नेपाली पुस्तकप्रतिको रूचीको विषयमा बुझेर त्यहाँ पुर्याउन भूमिका खेल्नु आवश्यक रहेको बताइन्।
सिलगुडीका राजा पुन्यानी नेपालमा लेखिएका नेपाली भाषाका पुस्तकलाई भारत लैजाने र भारतमा रहेका नेपाली भाषीले लेखेका पुस्तकलाई नेपालको बजारमा ल्याउने वातावरण बनाउन अब ढिला गर्न नहुने बताउँछन्।
‘नेपाली पुस्तक भारतका विभिन्न राज्यमा छरिएर बसेका नेपाली भाषीमा कसरी पुर्याउने भन्ने ठूलो चुनौती छ, उताकाले लेखेकालाई यता ल्याउन पनि सजिलो छैन,’ उनले भने, ‘इन्डो नेपाल डिप्लोमेटिक पोलिसीमा सुधार गरेर यसमा सहज बनाउनुपर्छ।’
उनले नेपालबाट जाने पुस्तकलाई अन्य मालसामान जस्तो ठानेर भन्सारमा तनाब दिइने गरेको सुनाए।
‘बरू लुकाएर लैजान सजिलो छ, वैध बाटोबाट लैजान असाध्यै गाह्रो छ,’ पुन्यानीले भने, ‘नेपाली पुस्तक पढौं, अरूलाई पढाउँ भनेर यताबाट लिएर जाँदा ठूलो झन्झट व्योहोरेको छु।’
चार वटा पुस्तक प्रकाशनको तयारीमा रहेका पुन्यानीले दुवै देशका प्रकाशकको नेटवर्क बनाएर पुस्तकको सीमापार बिक्रीमा सहज बनाउन सरकारलाई दवाब दिनुपर्ने बताए।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले भाषा, साहित्य र संस्कृतिका माध्यमबाट नेपाली पहिचान बचाउन भारतीय नेपाली भाषीको महत्वपूर्ण भूमिका रहेको बताए। 'हामीहरू दुई देशका नागरिक भए पनि साहित्य लेखनको धार उस्तै हो। राजनीतिक र प्राविधिक कारणले मात्रै घुलमिल कम भयो,’ उनले भने, ‘हामीले भारतमा नेपाली पुस्तक सहजरूपमा पठाउन नसक्नुको कारण पत्ता लगाएर पुस्तक आदानप्रदानमा सहज बनाउन खोजिरहे पनि दुई देशको वाणिज्य सम्झौतामा मिल्न सकिरहेको छैन। प्रयास जारी छ।’
यद्यपि अनलाइनको माध्यमबाट भने पनि दुई देशका नागरिकबीच भाषा, साहित्यहरु आदानप्रदान गर्न सकिने उनले बताए।
‘प्रतिष्ठानले आफ्ना सबै प्रकाशनहरू अनलाइनको माध्यमबाट जो सुकैले हेर्न मिल्ने बनाउँदैछ। यसो हुँदा पुस्तक नै कुरेर बस्नुपर्दैन,’ उनले भने, ‘बिस्तारै हामी प्रविधिमैत्री भएर फैलनुपर्छ।’
उनले प्रवासमा रहेका नेपाली भाषीहरूलाई भाषाको संरक्षण र संस्कृतिको प्रवर्द्धनमा सघाउन उर्जा मिलोस् भनेर प्रतिष्ठानले पुस्तकालय पनि स्थापना गरेको बताए।
सौराहामा गरिएको नेपाल-भारत साहित्य सम्मेलनमा पनि कविडाँडा साहित्य समाजले भारतमा रहेर नेपाली साहित्यमा योगदान पुर्याउने सर्जकलाई सम्मान गरेको थियो।
दार्जेलिङको बिजनबारीका कवि मनप्रसाद सुब्बालाई विशेष साहित्य साधना सम्मान प्रदान गरिएको समाजका अध्यक्ष एल.बी. क्षेत्रीले बताए। उनले नेपाली मुलका भारतीय सर्जकहरुका कारण नेपाली साहित्यको विकासमा सहयोग पुगेको भन्दै उनीहरूलाई सम्मान गर्दा नेपाली भाषाको विकासमा सघाउ पुग्ने विश्वास लिए।
आइतबार पनि जारी रहेको उत्सवमा नेपाली भाषामा लेख्ने नेपाल र भारतका सय भन्दा बढी साहित्यकाहरूको जमघट छ। आइतबार लीला लुइँटेलले ‘नेपाली साहित्यमा नारी श्रष्टा : सन्दर्भ नेपाल र भारत’ विषयमा कार्यपत्र पेश गर्ने कार्यक्रम रहेको छ।
त्यसैगरी ‘विश्व साहित्यमा नेपाली–गोर्खाली आवाज’ विषयमा हुने परिचर्चामा सरिता शर्मा, नीलम कार्की निहारिका, राजा पुनियानी, शरद प्रधान, राहुल राई सहभागी हुनेछन्।
त्यसैगरि, ‘साहित्यिक आदनप्रदान, बजार विस्तार–सन्दर्भ नेपाल र भारत’ विषयको परिचर्चामा भीष्म उप्रेती, रेनिका थापा, रामलाल जोशी, अर्जुन अधिकारी र युवा बरालले भाग लिने अध्यक्ष क्षेत्रीले जानकारी दिए।
उद्घाटन समारोहमा नेपालका साहित्यकार, समालोचकहरू मुकुन्दशरण उपाध्याय, इल्या भट्टराई, डिआर पोखरेल, श्रवण मुकारूङलाई सम्मान गरिएको थियो। त्यसैगरी कविडाँडा राष्ट्रिय उत्कृष्ट आख्यान पुरस्कारबाट आख्यानकार श्याम साह पुरस्कृत भए। उनको कथासंग्रह पथेरलाई सो पुरस्कार प्रदान गरेको कविडाँडा साहित्य समाजका अध्यक्ष क्षेत्रीले बताए।
कविडाँडा अविनासी कृति पुरस्कार संयुक्त रुपमा ‘ग्रिन टावेल’ कथासंग्रहका लागि शान्ति शर्मा र ‘निर्णय’ कथासंग्रहका लागि गायत्री अधिकारीलाई प्रदान गरियो। कविडाँडा युवा वाङ्मयी सम्मान तथा देव–खीना स्मृति पुरस्कार कथाकार, कवि तथा संगीतकार निर्दोष जीवनले पाए।
कविडाँडा साहित्य समाजले आयोजना गरेको निबन्ध प्रतियोगिताका पाँचजना विजेता पनि सोही कार्यक्रममा पुरस्कृत भएका थिए।