गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको निर्वाचनमा हामीले २ वर्षको रोडम्याप प्रस्तुत गरेका थियौं। म लगायत हाम्रो टिम जसको नेतृत्व सन्तोष कुँवरले गर्नुभएको छ।
हामीले २ वर्षमा गर्ने भनेको एउटा मुख्य काम ग्र्याण्डलाई व्यवस्थित गर्ने हो। अर्को महत्वपूर्ण काम भनेको दोस्रो पुस्तालाई कसरी डायस्पोराको मूलधारमा ल्याउने भन्ने हो। उनीहरूलाई भावनात्मक रूपमा कसरी जोड्ने भन्ने विषयमा छुट्टै तरिकाले काम गर्ने हाम्रो योजना छ। त्योबाहेक हामीले बहुसांस्कृतिक संस्थाहरूलाई साथ र सहयोग दिने भन्ने छ। यसअघि पनि एनआरएनएले गर्दै आएको छ अब यसलाई अझै व्यवस्थित र संस्थागत गरेर अघि बढ्नु पर्छ। त्यस्तै एनआरएनए अस्ट्रेलियाले स्थापना गरेको एनआरएनए फाउण्डेसनलाई संस्थागत रूपमा व्यवस्थित गर्ने हाम्रो योजना छ।
एनआरएनए कार्यकारी निकाय होइन
म विगत सात वर्षदेखि एनआरएनए अस्ट्रेलियामा आबद्ध छु। त्यसैले यसका अवसर र चुनौती दुवै बुझेको छु। अर्को कुरा अस्ट्रेलियामा नेपाली समुदाय ठूलो भइसकेको छ। अवसर भएका ठाउँहरूमा भन्दा पनि चुनौती भएका ठाउँमा हाम्रो भूमिका देखिनु पर्छ।
समुदायको बीचमा सम्बन्ध, नेपाली समुदायलाई स्थानीय समुदायसँग जोड्ने कुरा, नेप्लिज डायस्पोरा र नेपालसँगको सम्बन्ध विस्तार हाम्रो मुख्य काम हुनुपर्छ। अस्ट्रेलियाका विभिन्न राज्यहरूमा काम गर्नको लागि राज्य परिषदहरू पनि छन्। स्थानीय तथा राज्य स्तरका उनीहरूले काम गर्छन्।
अस्ट्रेलियामा रहेको नेपाली समुदायलाई स्थानीय राजनीतिसँग जोड्न जरूरी छ। आप्रवासीहरूका अवसरलाई पहिचान गर्दै त्यसको सदुपयोग गर्न हामी चुक्न हुँदैन।
गैरआवासीय नेपाली संघ (एनआरएनए) एउटा गैर नाफामूलक संस्था हो। हामी कुनै कार्यकारी निकाय पनि होइन। समुदयामा देखिएका समस्या समाधानका लागि हामीले सहजीकरण मात्र गर्ने हो। अर्थात् उनीहरूका समस्यालाई साँघुरो बनाउन हामीले प्रयास गर्नुपर्छ र गरिरहेका छौं।
१२ पास गरेर अस्ट्रेलिया आउने कि स्नातक?
नेपाली विद्यार्थीहरूको लागि अस्ट्रेलिया एउटा प्रमुख गन्तव्य हो भन्ने कुरा अब नौलो रहेन। हरेक वर्ष युवा विद्यार्थीहरू अस्ट्रेलिया आउने क्रम बढ्ने निश्चित छ। १२ पास गरेको कुनै पनि विद्यार्थीको पहिलो रोजाइ अस्ट्रेलिया बन्न थालेको छ। अस्ट्रेलिया आउन चाहने कति सफल हुन्छन्, त्यो एउटा कुरा हो। तर आउन चाहनेको संख्या ठूलो छ।
विद्यार्थी आउने क्रम बढ्दै गएसँगै यहाँ स्थायी रूपमा बसोबास गर्नेको संख्या पनि हरेक वर्ष थपिँदै गएको छ। अनि छोटो समयका लागि अस्ट्रेलिया आउने अभिभावकहरू पनि उत्तिकै छन्। उनीहरूका पनि कतिपय समस्या छन्। उनीहरूका लागि समेत विभिन्न स्तरबाट काम भइरहेका छन्।
१८ वर्ष पुग्नासाथ विदेश जान्छु भन्ने मानसिकता हावी हुँदै गएको छ। परिपक्व नभइकन विदेश जाँदा विद्यार्थीहरूले समस्याको सामना गर्न नसकेका घट्ना पनि बढ्दै गएका छन्। १२ कक्षा पास गर्नसाथ विदेशिनुको सट्टा स्नातकसम्म कुर्ने हो कि भन्ने बहस पनि चल्न थालेको छ। यसको लागि परिवार, समाज, सरकार अनि विद्यार्थी स्वयमको पनि भूमिका रहन्छ।
सन् २००८ मा अस्ट्रेलिया जाँदै गर्दाको अवस्था र अहिले धेरै फरक भइसकेको छ। अहिले कुनै पनि जटिल अवस्था आयो भने समुदायले केही न केही पहल गर्न सक्छ।
मानसिक समस्या, घरेलु हिंसाको कुरा पनि उत्तिकै आउँछ। यो एउटा विस्तृत विषय हो। म आफू पनि रजिस्टर्ड नर्स भएकाले यो विषयको गम्भीरतालाई राम्रोसँग बुझेको छु। अस्ट्रेलिया सरकारले पनि यसका लागि थुप्रै कार्यक्रम सञ्चालन गरेको छ। एनआरएनएले यसको लागि सहजीकरण भने गर्न सक्छ। जुन प्रयास हामीले विगतमा पनि गरिरहेका छौं र भोलिका दिनमा पनि गर्ने नै छौं।
अस्ट्रेलिया आएको विद्यार्थीलाई कन्सल्टेन्सीहरूले दुःख दिएको अनावश्यक प्रलोभनमा पारेको भन्ने जस्ता गुनासा पनि बेलाबखत आउने गर्छन्। म आफू पनि २० वर्षदेखि यही क्षेत्रमा रहेकाले यसबारेमा म जानकार छु। मेरो व्यवसाय एकातिर छ, त्यसैले यसबारे म अरू भन्न चाहन्नँ। तर विद्यार्थीले बुझ्नुपर्ने कुरा के हो भने आफूले कुन कन्सल्टेन्सीबाट सुझाव लिएको छु, कसको भर परेको छु भनेर ख्याल गर्नुपर्छ। अनि आफ्नो गन्तव्य के हो त्यसको लागि कस्तो काउन्सिलिङ चाहिएको हो भनेर विद्यार्थी पनि स्पष्ट हुनैपर्छ। यसो भन्दैगर्दा कुनै विद्यार्थी समस्यामा पर्यो भने हामी चुप लागेर बस्ने भन्ने हुँदैन। विद्यार्थीको समस्या समाधानमा हामी सधैं गम्भीर छौं।
विदेश आएर पनि नेपालको चासो किन?
जो नेपालमा जन्मिएर अस्ट्रेलियामा शिक्षा लियो अनि जो अस्ट्रेलियामै जन्मियो, त्यो पुस्तालाई एनआरएनएसँग चासो छैन। यो पुस्तालाई कसरी नेपालसँग भावनात्मक रूपमा जोड्ने भन्ने चुनौती छ। यसका लागि हामीले काम गर्छौं। योसँगै स्थानीय स्तरमा उनीहरूलाई कसरी अगाडि बढाउने भन्नेमा पनि हाम्रो भूमिका रहन्छ।
एकातिर अस्ट्रेलियामा हुर्किएको पुस्तालाई नेपालको चासो छैन अनि अर्को पुस्तालाई नेपालको अत्यधिक चासो छ भन्ने गुनासो पनि नआएका होइनन्।
नेपालको राजनीतिक उथलपुथल देखेर आएको पुस्तालाई अलि धेरै नेपालको बारेमा चासो पनि छ। यो एक किसिमले प्राकृतिक हो भन्ने मलाई लाग्छ। विदेश जानसाथ सबै कुरा भुल्ने भन्ने हुँदैन। उसँगै उसको विचार पनि गएको हुन्छ। तर अहिले देखिएको जस्तो चासो पनि विस्तारै कम हुँदै जान्छ। किनकि यहाँ आएका नेपालीहरू स्थानीय स्तरमा पनि घुलमिल हुने क्रम बढ्दो छ।
दोहोरो नागरिकता कहिले?
हामीले सबभन्दा धेरै उठाउने गरेको विषय हाम्रो नागरिकताको निरन्तरता अनि सम्पत्ति किनबेचको हक हो। यसको लागि नेपालमा धेरै राजनीति नभए हुन्थ्यो भन्ने लाग्छ। केही प्रावधानहरू राखेर दोहोरो नागरिकता दिँदा नेपाल सरकारलाई फाइदा हुन्छ। दोहोरो नागरिकता गैरआवासीय नेपालीको सवाल मात्र होइन। यो सवाल अब नेपाल सरकारको पनि हो। त्यसैले एकदिन नेपाल सरकारले हामीलाई दोहोरो नागरिकता दिने दिन आउँछ भन्नेमा हामी आशावादी छौं। हामीले दोहोरो नागरिकता पाउँछौं र पाउनु पर्छ भन्ने लाग्छ। त्यसको लागि हामीले गर्ने लबिइङ जारी रहन्छ।
(गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाका नवनिर्वाचित उपाध्यक्ष बबिन मिश्रसँग हामीले भिडिओ कुराकानी गरेका छौं।)
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- [email protected]