'ल हेर! शासकका बाहुलीबाट लेखक परिचय पत्र वितरण गर्न थालिएछ। आफू त एकबारको जुनीमा सत्ताछापे लेखक नभई मर्ने हो।'
लेखक खगेन्द्र संग्रौलाको यो ट्विट नेपाल प्रज्ञा प्रतिष्ठानले आइतबार वितरण गरेको 'लेखक स्रष्टा परिचय पत्र' तर्फ लक्षित छ।
३६औं प्राज्ञ सभाको उद्घाटन समारोहमा सत्यमोहन जोशी, बैरागी काइला, बासुदेव त्रिपाठी, गीता केशरी र प्रतिष्ठानका कुलपति गंगा उप्रेतीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले लेखक परिचय पत्र बाँडेका थिए।
योसँगै लेखक साहित्यकारलाई परिचय पत्र दिने कार्य औपचारिक रूपले सुरू भएको प्रज्ञा प्रतिष्ठानले जनाएको छ।
लेखक तथा साहित्यकारहरूले दिने भनिएको यो परिचय पत्र आखिर हो के? यसबारे लेखकहरूको धारणा के छ?
प्रतिष्ठानका सदस्य-सचिव जगतप्रसाद उपाध्यायका अनुसार परिचय पाउन इच्छुक लेखकले प्रतिष्ठानले तोकेको मापदण्डअनुसार फारम भर्नुपर्नेछ। लेखकको परिचय पाउन भाषा, साहित्य, संस्कृति, दर्शन र समाजशास्त्र विषयमा कम्तिमा एउटा पुस्तक प्रकाशित गरेको हुनुपर्ने नियम छ।
पुस्तक प्रकाशित नभएका लेखक तथा अनुसन्धाताका हकमा अन्तर्राष्ट्रिय जर्नलमा पाँचवटा लेख प्रकाशित भएको हुनुपर्ने सर्त राखिएको छ। परिचय पत्र प्राप्त गर्न सम्बन्धित लेखकले फारम भरेर प्रकाशित कृति वा लेखहरु प्रज्ञा प्रतिष्ठानमा बुझाउनु पर्नेछ। लेखकका कृति प्रतिष्ठानको पुस्तकालयमा राखिने बताइएको छ।
यो कार्यविधि बनाउन सदस्य-सचिवको संयोजकत्वमा परिचय पत्र सिफारिस समिति गठन गरिएको थियो जसमा प्रतिष्ठानका ११ जना सदस्य थिए।
लेखकलाई परिचय पत्र दिने यो अभ्यासबारे लेखकहरूले नै फरक-फरक मत राखेका छन्। धेरैले कुनै सेवा र सुविधाबिना परिचय पत्र बाँड्नुको औचित्य नरहेको भन्दै प्रश्न उठाए।
'परिचय पत्रले लेखकलाई सिर्जनशील बनाउन कुनै उत्प्रेरणा दिँदैन। त्यसैले यस्ता परिचय पत्रको हामीलाई आवश्यकता छैन,’ लेखक नयनराज पाण्डेले सेतोपाटीसँग भने।
लेखकको जीवनमा यसले खासै महत्व नराख्ने भएकाले आफूले परिचय पत्र नलिने उनले बताए।
प्रतिष्ठान झिनामसिना काम गरेर आफ्नो मूल कामबाट पन्छेको पाण्डेको आरोप छ। कोही लेखकलाई सम्मान महशुस होला तर त्यसले लेखकको सिर्जनात्मक र समग्र साहित्यको विकासमा उत्प्रेरणा दिन कुनै भूमिका नखेल्ने उनले बताए।
'नेपालमा प्रज्ञा प्रतिष्ठान मात्र एउटा यस्तो संस्था हो जसले नेपाली साहित्यलाई विश्व बजारमा पुर्याउन पहल गर्न सक्थ्यो। तर अनुवाद गर्नु मात्र पर्याप्त छैन। कस्तो र कसको कृति अनुवाद गर्ने र कुन स्तरको अनुवाद गराउने भन्नेमा स्पष्ट र निष्पक्ष हुनुपर्छ। यस्ता बहसमा प्रतिष्ठान प्रवेश नै नगरेको हो कि भन्ने देखिन्छ,’ उनले भने।
लेखक पाण्डेजस्तै कवि स्वप्निल स्मृति पनि लोपोन्मुख भाषा, साहित्यको जगेर्ना गर्दै राष्ट्रिय संस्कृति निर्माणमा योगदान दिन नेतृत्वदायी भूमिका खेल्नुपर्ने प्रतिष्ठान झिनामसिना काममा लागेको बताउँछन्।
'यसअघि चलचित्र विकास बोर्डले सेलेब्रिटी कार्ड बाँड्ने सुनिएको थियो। अहिले प्रज्ञा प्रतिष्ठानले लेखक साहित्यकारलाई कार्ड बाँडेको छ,' कवि स्वप्निल स्मृतिको टिप्पणी छ, 'भाषा, कला, साहित्य र संस्कृतिमा नीतिगत सुधार गर्नुपर्ने कुरा थुप्रै छन्। सेवा-सुविधा बिनाका कार्ड र परिचय पत्र बाँड्नु भनेको मेरो पालामा यस्तो गरेँ भनेर देखाउन खोज्नु मात्र हो।'
'यति हुँदाहुँदै नेपालमा भन्दा विदेश जाँदा कतिपय सरकारी चिठी वा कार्डले काम गर्ने भएकाले लेखकलाई परिचय पत्र बाँड्ने कुराको एकतर्फी विरोध गर्नुपर्छ जस्तो चाहिँ लाग्दैन। आगामी दिनमा परिचय पत्र पाएबापत राज्यबाट थप सेवा सुविधाको हामी लेखकले माग गर्न सके फाइदै हुन्छ होला,' उनले भने।
कवि मोमिला पनि परिचय पत्र दिनु राम्रो भए पनि यसलाई कागजको खोस्टामा परिणत हुने अवस्था आउन दिन हुन्न भन्छिन्।
'प्रज्ञा प्रतिष्ठानले बाँड्ने परिचय पत्रबारे सुनेको मात्र हुँ। सुविधासहितको परिचय पत्र हो भने त्यो एकदमै सुन्दर कुरा हो। तर कुनै सुविधाबिनाको कागजको खोस्टा मात्रको परिचय पत्रको कुनै अर्थ रहन्न,' उनले भनिन्।
प्रज्ञा प्रतिष्ठानमा पूर्वप्राज्ञसमेत रहेका कवि श्रवण मुकारूङ परिचय पत्र ल्याउने कुरालाई सकारात्मक रूपमा हेर्छन्। आफू प्रतिष्ठानमा हुँदै यसबारे गृहकार्य भएको बताउँदै उनले भने, 'राज्यले गर्ने हरेक काम नराम्रो हुँदैन। सुविधाबिनाको परिचय पत्र बोकेर मख्ख पर्न सकिन्न तर यो सुरूआत हो। भोलि लेखकलाई राज्यले के, कस्तो र कति सुविधा दिने भन्ने नीति बनाउन मद्दत गर्ने भएकाले परिचय पत्र बाँड्ने कार्य लेखकको हितमा छ।'
कवि मुकारुङ र स्वप्निल दुवै विश्वका अरू देशमा समेत यस्तो अभ्यास रहेको बताउँछन्। तर परिचय पत्रसँगै राज्यले सेवा सुविधा पनि दिने कुरालाई प्रतिष्ठानले मनन गर्नुपर्नेमा उनीहरूको जोड छ।
प्रतिष्ठानका सदस्य-सचिव उपाध्याय भने परिचय पत्र सुविधाका लागि नभई सम्मानका लागि बाँडिएको बताउँछन्।
राज्यद्वारा प्राप्त बजेटको सीमाभित्र रहेर प्रतिष्ठानले काम गर्ने भएकोले तत्काल आर्थिक वा अन्य सेवासुविधा दिने सम्भावनालाई उनले नकारे।
'केही लेखकले भत्ता दिन्छ कि दिँदैन भनेको पनि सुनियो। तर परिचय पत्र आर्थिक नभई भावनाको कुरा हो,' उनले भने, 'कतिपय लेखकले विरोध गरेको हामीले पनि सुनेका छौं। तर विरोध गर्नेभन्दा यसको प्रशंसा गर्ने धेरै हुनुहुन्छ।'