'फर यू!'
मृत श्रीमानको बाकस खोल्दा भेटिने डायरीको कभरमा लेखिएको 'मिस यू' शब्द पढ्दा उनको मनमा गाँठो परेको छ। मुटु काँपिरहेको छ। आँखामा आँसु र मनमा सकस बोकेर उनी डायरीका पाना पल्टाउँछिन्।
नीलो-कालो मसीले अनगिन्ती भावना पोखिएको डायरीमा श्रीमतीको पहिलो नजर 'माइली' शीर्षकमा पर्छ जहाँ लेखिएको हुन्छ-
टाढा टाढा मेरी मायालु बाटो हेर्दै होलिन्
फर्किन्छ कि भनी दिनहरू गन्दै होलिन्...
यी एक–एक शब्दले माइलीलाई माइलासँग बिताएका अतीतका क्षणहरूमा फर्काउँछ। स्मृतिको यो यात्रामा माइलाले आफ्ना लागि कोरेका भावना माइली हामीलाई सुनाउँछिन्।
यो तीन साताअघि अंकिता पुनको स्वरमा सार्वजनिक 'माइली' गीतको सन्दर्भ हो। हाल गीतको श्रव्य–दृश्यले प्रशंसा पाइरहेको छ।
'पाँच मिनेटको भनेर पनि पाँच वर्ष पुग्ने मार्मिक अनुभूतिका लागि धेरै धन्यवाद। दिनभरि न्यानो/चिसो दुवै भावनाहरूबारे सोचिरहने भएँ। एकदम मिठो लाग्यो, बधाइ र धन्यवाद,' पछिल्लो समयकी लोकप्रिय गायिका बर्तिका एम राईले माइली गीत सुनेर-हेरेर दिएको प्रतिक्रियाले पनि यो गीतको स्तर झल्काउँछ।
बर्तिकाले भनेजस्तै गीतका शब्द–संगीत, भाव, अर्थ र दृश्यकथा एकै पटक न्यानो/चिसो अनुभूति दिने खालको छ।
माइली अंकिताको दोस्रो 'अफिसियल' गीत हो। १९ वर्षको उमेरमा देखिएको उनको सांगीतिक परिपक्वता धेरैलाई प्रभावित बनाउने खालको छ।
हाल बुटवलमा बस्ने अंकितासँग हामीले मेसेन्जरमार्फत् माइली गीत र उनको संगीत यात्राबारे कुराकानी गरेका छौं।
'एकदमै सकारात्मक प्रतिक्रिया पाइरहेकी छु। यति धेरै जनाले मन पराउनु होला भन्ने सोचेकै थिइनँ,' अंकिताले कुराकानीको सुरूमा खुसी साट्दै भनिन्।
यो गीत सार्वजनिक भएपछि अंकितालाई गायिका बर्तिकाले एकपछि अर्को खुसी दिइन्। बर्तिकाकी प्रशंसक अंकिताले आफ्नी प्रिय गायिकालाई इन्स्टाग्राममा पछ्याएको धेरै भएको थियो। माइली सार्वजनिक भएपछि बल्ल उनले बर्तिकाबाट फलोब्याक पाइन्। त्यो खुसी अंकिताले यसरी पोखिन्, 'ड्याट वाज दाम्मी!'
गत असोजमा अंकिताको पहिलो अफिसियल भिडिओ 'चार दिन चार जुनी' सार्वजनिक भएको थियो।
ओरिजिनल गीतका आधारमा अंकिता नयाँ भए पनि निश्चित स्रोतामाझ कभर गायिकाका रूपमा उनको परिचय बनिसकेको छ। अंकिताको युट्युब च्यानलमा ४४ हजारभन्दा बढी सब्स्क्राइबर्स छन्। सन् २०१८ देखि युट्युब च्यानलमा कभर गीतहरू अपलोड गर्न थालेकी उनी बुटवलका पब र बारहरूमा पनि गाउँथिन्। उनले गिग र कभरबाटै यति धेरै स्रोता कमाएकी हुन्।
दाङ, तुलसीपुरमा जन्मेकी अंकिता आफ्ना बुबा र आमाबाट संगीतमा आकर्षित भएको बताउँछिन्। उनले भनिन्, 'बुबा र आमा दुवै जना एकदम राम्रो गाउनुहुन्छ। उहाँहरूले गाएको सुनेरै म पनि संगीतमा तानिएँ।'
बुबाका मोबाइलमा भएका पुराना गीतहरू नै उनले गुनगुनाउने सुरूआती गीत थिए।
योगेश वैद्यको 'सपना भुलाइ सारा' अंकिताले सार्वजनिक रूपमा गाएको पहिलो गीत हो। चार कक्षा पढ्दा यो गीत गाएर प्रथम बनेपछि अंकिताले स्कुल र गाउँघरमा हुने सांस्कृतिक कार्यक्रमहरूमा प्रस्तुति दिन थालिन्।
संगीतमा रूचि र दखल नै राख्ने अभिभावक भए पनि अंकितालाई संगीतमा लाग्न आमाको मात्र साथ मिल्यो। पूर्वसैनिक बुबाले भने अंकितालाई सधैं संगीतमा भविष्य छैन भनिरहे। त्यही भएर छोरीलाई विज्ञान पढाउन चाहे। एसएलसीपछि प्लस-टुमा विज्ञान लिएर पढे पनि अंकिताको चाहना संगीत पढ्ने थियो।
उनले भनिन्, 'त्यसैले ११ को पढाइ बीचमा छाडेर म बुटवल आएँ। खासमा काठमाडौं गएर संगीत पढ्न चाहन्थेँ। तर त्यहाँ कोही आफन्त नभएकाले बुटवलमा सानीआमाको घरमा बस्न थालेँ।'
संगीत पढ्ने रहर पूरा नभए पनि बुटवलमा होटल म्यानेजमेन्ट पढ्दै उनले संगीत क्षेत्रका कलाकारहरूसँग संगत बढाइन्। 'इथिरियल' र 'इन्फिनिटी' जस्ता ब्यान्डसँग जोडिएर पब र बारमा गाउन थालिन्।
यो काम उनका लागि रहरसँगै बाध्यता पनि थियो।
'संगीतमा पनि सक्रिय हुन पाइने र पकेट खर्च पनि निस्किने भएकाले पब र बारहरूमा गाउन थालेँ,' उनको भनाइ छ।
प्रतिभा सम्पन्न अंकितालाई बुटवलको सांगीतिक माहोलमा आफ्नो क्षमता देखाउन लामो समय लागेन। सामाजिक सञ्जालको प्रभाव र पहुँचका कारण उनको क्षमता बुटवलबाहिरका स्रोतामा पनि फैलिन थाल्यो।
एकदिन उनले 'प्रेमपिण्ड' फिल्मको 'गैरी खेतको शिरै हान्यो' गीत गाएर फेसबुकमा सेयर गरिन्। गीत यति धेरै सेयर भयो कि उनका पोखराका एक साथीले कभर गाएर युट्युब च्यानल खोल्न करै गरे।
'अरूले पनि सुझाव दिएकाले डराइडराइ युट्युब च्यानल खोलेँ,' उनले भनिन्।
युट्युबमा विकी गुरुङको 'मरी जाउँ-२' गीत गाएर राखेकी थिइन् उनले। धेरैले सकारात्मक प्रतिक्रिया दिएर उनको आत्मविश्वास बढाइदिए। त्यसपछि आस्था तामाङ, बर्तिका एम राई, आर्थर गन (दिवेश पोखरेल), स्वप्निल शर्मा, एएसएम लगायतका आफूलाई मनपर्ने गीतको कभर गाएर अपलोड गर्न थालिन्।
उनको गायकी मन पराउने बढे पनि युट्युबमा सज्जनराज वैद्यको कभर गीत उनका लागि टर्निङ प्वाइन्ट बनिदियो।
दुई वर्षअघि अंकिताले सज्जनराज वैद्यको 'हतासिँदै बतासिँदै' अपलोड गर्ने बेला उनको च्यानलमा चार हजार सब्स्क्राइबर्स थिए। गितार बजाउँदै उनले गाएको सुनेपछि अविश्वसनीय ढंगमा सब्स्क्राइब गर्नेहरू बढे।
'सज्जनराज वैद्यको कभरपछि एकैपटक दस हजारभन्दा बढीले मेरो च्यानल सब्स्क्राइब गर्नुभयो। त्यसपछि झन् उत्साह बढ्यो,' उनले सुनाइन्। उनले गाएको हतासिँदै बतासिँदै भिडिओको भ्युज झन्डै नौ लाख छ।
सज्जनराजले पनि अंकिताको स्वरमा आफ्नो गीत सुनेर लेखेका छन्, 'ग्रेट जब।'
आफ्नो च्यानलमा अंकिताले अकस्टिक भर्सनमा केही ओरिजिनल गीत पनि राखेकी छन्। अंकिताको क्षमता देखेका धेरैले कभरको साटो आफ्नै गीत निकाल्नुपर्छ भनेर सल्लाह दिइरहन्थे। तर आफ्नै गीत रेकर्ड गरेर सार्वजनिक गर्ने काम उनका लागि खर्चिलो थियो।
उनले भनिन्, 'आफ्नै गीत सार्वजनिक गर्नुपर्छ भन्ने कुराको महत्व मेरो दिमागमा घुसिसकेको थियो। उपयुक्त मौकाको प्रतीक्षामा थिएँ।'
प्रतीक्षा गरिरहेको उपयुक्त समय उनलाई थाहै नदिई नजिक आइसकेको थियो। यो कुरा उनले गत वर्ष पूर्वाञ्चल रक्सका रोहन लिम्बू र मिडिया पोर्टका प्रवीण कार्की 'टक्की' ले सम्पर्क गरेपछि बल्ल महसुस गरिन्।
'पूर्वाञ्चल रक्स र मिडिया पोर्टले संयुक्त रूपमा नयाँ पुस्ताका गायक/संगीतकारलाई प्रोत्साहन गर्ने प्रोजेक्ट सुरू गर्न लागेको रहेछ। यो प्रोजेक्ट मबाटै सुरू गर्ने प्रस्ताव गर्नुभयो,' अंकिताले भनिन्, 'त्यसपछि कुरा अघि बढ्यो। यो प्रोजेक्टअन्तर्गत एक वर्षभित्र सातवटा गीत रेकर्ड गरेर एल्बम तयार गर्ने सम्झौता भयो।'
एल्बमभित्रका सातमध्ये चार भिडिओ र तीन लिरिकल भिडिओसहितको एल्बम निकाल्ने सम्झौता भएको उनले बताइन्। 'चार दिन चार जुनी' र 'माइली' यही प्रोजेक्ट अन्तर्गतको गीत हो।
अंकिताले आफ्नो एल्बमको नाम 'माइली' राखेकी छन्। तीन दिदीबहिनीमध्ये उनी स्वयं माइली हुन्। एल्बमको नाम मात्र नभएर अंकिताका गीतहरू समेत उनको अनुभूति र भोगाइसँग जोडिएका हुनेछन्।
अंकितालाई कुकुरसँग डर लाग्थ्यो। यही डरका कारण कुकुरसँग टाढा बस्थिन्। तर एकपटक आफन्तको घरमा केही दिन बसेका बेला त्यहीँको कुकुरसँग उनको आत्मीय सम्बन्ध गाँसियो। चार दिन चार जुनी गीत उनको कुकुरसँग जोडिएको त्यही अनुभूतिमा आधारित गीत हो।
माइलीमा उनले निजी अनुभूतिबाहेक आफ्नै परिवार र समुदायको अनुभवलाई पनि जोडेकी छन्। माइली सैनिक पेसामा गएका श्रीमतीको पर्खाइ र वेदनाको गीत हो। यो गीतको अवधारणा अंकिताले आफ्नी दिदी चाहनासँग मिलेर तयार पारेकी हुन्।
अंकिताका मावलीतर्फका हजुरबुबा र आफ्नै बुबा सैनिक पेसामा थिए। सुरूमा उनको सैनिक पेसामा गएका मान्छेभन्दा कतार वा मलेसिया गएका पात्रको कथा भन्न सोच रहेछ। तर उनकी दिदी चाहनाले माइलालाई सैनिक पात्र बनाउने सुझाव दिएको उनले बताइन्।
अंकिता इन्डी, रक, ब्लुज, पप, मेलोडियस आदि धेरै खालका संगीत रूचाउँछिन्। पब र बारहरूमा रक गीत गाएकी उनका आफ्नै गीत भने सफ्ट–मेलोडियस छन्। उनले भविष्यमा रक गीतसमेत गाउन सक्ने संकेत पनि दिइन्।
जुन विधाको संगीत सुने पनि अंकितालाई विरह-रस मनपर्छ। माइली गीत सुन्दा अंकिताको आवाजमा महसुस हुने वेदनाको एउटा कारण यो पनि हुन सक्छ। उनको गायकीको यो पक्षले स्रोतालाई नजानिँदो गरी तान्छ।
अंकिताको मधुर आवाजमा सुसनजंग कार्कीको गितार, प्रिन्स नेपालीको सारंगी, जयराम कार्कीको ड्रमले, आशिष महर्जनको बाँसुरीको साथ मिसिँदा सम्मोहित बनाउँछ।
दोस्रो गीतका रूपमा सार्वजनिक भए पनि माइली खासमा अंकिताको पहिलो गीत हो। आफ्नो पहिलो गीतको भिडिओ उनी रुकुममा छायांकन होस् भन्ने चाहन्थिन्।
'दाङमा जन्मे पनि रुकुम हाम्रो मूलथलो भएकाले मलाई माइलीमा रुकुमको मगर संस्कृति र परिवेश ल्याउने चाहना थियो,' उनले भनिन्, 'तर पूर्वबाट रुकुम आएर खिच्न धेरै कुराले साथ दिएन।'
माइली गीतको धेरै अंश पूर्वी नेपालको पाँचथरको सप्तमी र केही अंश झापाको दमकमा छायांकन भएको छ।
गीतको भिडिओबारे हामीले निर्देशक अभिषेक सुवेदीसँग पनि छोटो कुरा गरेका थियौं। लिम्बूको बाहुल्य भएको पूर्वी पहाडमा मगर संस्कृति झल्किने खालको गाउँ खोज्ने क्रममा छायांकनका लागि पाँचथरको सप्तमी रोजेको उनले जानकारी दिए। अभिषेक अनुसार गत असारमा छायांकन सुरू गर्नुअघि त्यहाँको संस्कृति र परिवेश बुझ्न उनी र साथीहरूले दुई महिनाभन्दा बढी समय खर्चे।
अभिषेकले भने, 'मलाई प्रकृति र परिवेशको अनुभव, मान्छेका सुख–दुःख, जीवनशैली र संस्कृति झल्काउने खालको काम गर्न मनपर्छ। यो गीतमा काम गर्दा मैले आफ्नै सोचअनुसारको विषयमा काम गर्न पाएँ। दर्शकले पनि मन पराइँदिदा खुसी लागेको छ।'
वर्षाको समयमा छायांकन गरिएको भएर सप्तमी डाँडामा लाग्ने कुहिरो भिडिओको सौन्दर्य बनेको छ। कुहिरोपारिको रहस्य र गीतका पात्रहरूको जीवनको अनिश्चितताबीच तादात्म स्थापित हुँदा कुहिरोले गीतको भावअनुसारकै सौन्दर्य बोकेको महसुस गराउँछ।
भिडिओमा दीपा चाम्लिङ राई र चिरन लिम्बूको सहज अभिनय देख्न पाइन्छ। मिसेक लिम्बूको सिनेमाटोग्राफी, अर्जुन कार्कीको रङ-संयोजन तथा सम्पादन भिडिओको थप सबल पक्ष हुन्।
माइली सरसर्ती हेर्दा वियोगात्मक प्रेम गीत हो। तर यसले विभिन्न कारणले घर र देशबाट टाढा हुन बाध्य लाखौं माइला र माइलीको व्यथा बोलेको छ। लडाइँ लड्न होस् वा खाडी मुलुकमा श्रम गर्न हरेक दिन परिवारबाट नेपाली युवा टाढिन बाध्य छन्। माया गरेको मान्छे र परिवारसँग टाढा जाने उनीहरूमध्ये कति त फर्कनै पाउँदैनन्। मान्छेको साटो बाकस मात्र फर्कनु नेपाली समाजको वर्षौं पुरानो नियति हो।
माइलीले समाजको यो ठूलो दुःख र मर्मलाई सानो कथामा समेट्ने प्रयास गरेको छ। पर्खाइ, संवेदना र नियतिको यस्ता कथा यसअघि पनि साहित्य र संगीत सिर्जनामा आइसकेका छन्। तर यो गीतमा माइलाको भावना माइलीको स्वरमा न्यारेट गरिएको छ। यसले अन्य गीतभन्दा बिल्कुल अलग बनाइदिएको छ।
यो भिडिओ छायांकन बेला कहिल्यै पहाड नटेकेकी पश्चिमकी अंकिताले पूर्वी नेपाल घुम्ने मौका पाइन्।
'बर्खाको समय, अप्ठ्यारो बाटोमा गाडी पल्टेर हिँड्नुसमेत परेको थियो। तर पहिलो अनुभव भएकाले मलाई एकदमै रमाइलो लाग्यो,' पाँचथर र झापामा गरी झन्डै दुई हप्ता बिताएकी अंकिताले भनिन्, 'उतै बसूँ बसूँ लागेको थियो।'
माइली एल्बमका क्रममा नयाँ ठाउँ र प्रतिभावान् कलाकारहरूसँग काम गर्ने अवसर पाएकी अंकिता यति बेला मख्ख छिन्।
'तर अझै पनि धेरैले कभर गीतका कारण चिन्नुहुन्छ। कतिले कभर गाउन नछोडसमेत भन्नुहुन्छ। तर म आफ्नै ओरिजिनल गीतबाट चिनिन चाहन्छु,' उनले भनिन्।
माइली गीतसम्म आइपुग्दा अंकिताको आधा सपना पूरा भइसक्यो भन्दा फरक नपर्ला। पूर्वाञ्चल रक्स र मिडिया पोर्टको नयाँ कलाकारलाई अवसर दिने प्रोजेक्टले उनलाई टेको दिएको छ। यसका लागि उनी आभारी रहेको बताउँछिन्। तर दाङबाट बुटवल पसेकी अंकिता भविष्यमा आर्थिक रूपमा कसरी टिक्ने भन्ने चुनौती बोकेर हिँडिरहेकी छन्। प्लस-टु परीक्षाको नतिजा कुरिरहेकी अंकिता अब काठमाडौं आएर संगीत पढ्न चाहन्छिन्।
'संगीतमा लाग्छु भनेर दाङबाट बुटवल आइपुगेँ। अब संगीत पढ्न काठमाडौं आउने सपना छ,' उनले भनिन्, 'तर आफैं कमाएर पढ्नुपर्ने भएकाले संगीत पढ्ने रहर पूरा हुने हो कि हैन, थाहा छैन।'
अंकिताको चासो आर्थिक पाटोमा मात्र सीमित छैन। भावनात्मक रूपमा बुटवल आउने बेला उनले मानसिक तनाव पनि झेल्नुपरेको थियो।
'दाङबाट ११ को पढाइ बीचमा छोडेर हिँडेपछि बाबा निकै रिसाउनुभएको थियो। एक वर्ष मसँग बोल्नुसमेत भएन,' उनले सुनाइन्, 'मैले राम्रो गरिरहेको देखेर अचेल उहाँ सकारात्मक हुनुभएको छ। मेरो गीतहरू अरूलाई सुनाउनुहुन्छ। तै पनि अझै गीत त गाऊ तर करिअर चाहिँ हुँदैन भन्न छाड्नुभएको छैन।'
त्यसैले अंकिताको जीवनको सबैभन्दा ठूलो लक्ष्य नै अभिभावकलाई संगीतमा करिअर छ भनेर प्रमाणित गर्नु रहेको बताउँछिन्।
'आमाबाबाले क्षमता भएर पनि संगीतमा लाग्न सक्नुभएन। म संगीत क्षेत्रमा स्थापित भएर उहाँहरूलाई यसमा करिअर छ भनेर देखाउन चाहन्छु,' उनले भनिन्, 'यो मेरो इख होइन। उहाँहरूको अधुरो रहर पूरा गर्ने चाहना हो।'
तर यही भावनात्मक दबाब अंकिताको संगीत यात्राको प्रेरणा हो। बुबा आफूसँग एक वर्ष नबोलेको घटनाले अंकिताको मनमा ठूलो असर पारेको थियो। दाङबाट बुटवल आउनेबित्तिकै त्यही तनावमा उनले गीत सिर्जना गरिन्।
अंकिताको वास्तविक पहिलो गीत त्यही हो जुन हालसम्म सार्वजनिक गरेकी छैनन्, 'सम्भावना बोलको त्यो गीत मेरो लागि विशेष छ। कुनै खास सन्दर्भ पारेर सार्वजनिक गर्ने सोचमा छु।'