गुड फ्राइडे सिनेमा
निर्देशक प्रदीप भट्टराईले अर्का निर्देशक शिव रेग्मीबारे भनेका छन्, 'उहाँ सिनेमा दिमागमा राखेर मनले बनाउनु हुन्थ्यो। मेरा कथा/सिनेमामा उहाँको प्रभाव भेटिन्छ।'
निर्देशक प्रदीपलाई जस्तै नेपाली सिनेमा क्षेत्रका धेरैलाई निर्देशक शिव रेग्मीले प्रभावित पारेका थिए।
शिवको सम्झनामा कलाकार तथा निर्माता दीपकराज गिरीले दुई वर्षअघि लेखेका थिए, ‘चलचित्र लेखनमा म कसैको फ्यान थिएँ भने त्यो शिव रेग्मीको नै थिएँ। विषयवस्तु उठान, त्यसको प्रस्तुतीकरण र मर्मस्पर्शी संवाद, कमेडी सेन्स, गीत लेखन, समग्रमा भन्नुपर्दा उहाँ चलचित्र लेखनको लागि सिंगो पाठशाला नै हुनुहुन्थ्यो।’
सिनेमा क्षेत्रका कलाकारमा जस्तै निर्देशक शिवले आफ्ना फिल्ममार्फत दर्शकको पनि मन जितेका थिए।
शिवले निर्देशकका रूपमा पहिलो फिल्म 'आफन्त' बाट चर्चा कमाए। उनले करिब डेढ दशक अवधिमा 'आफन्त' सहित 'आफ्नो मान्छे', 'ए मेरो हजुर', 'सुख दु:ख', 'हामी तीन भाइ', 'मुग्लान', 'कहाँ भेटिएला' जस्ता हिट फिल्म दिए।
यीमध्ये केही फिल्म सिनेमा हलमा ५१ दिन र केहीले १०० दिनसम्म चलेको थियो। त्यस बेला चलेका निर्मातादेखि कलाकारहरू उनीसँग आफ्नो काम र नाम जोड्न चाहन्थे।
फरक विधाका कथामा फिल्म लेखन, निर्देशन र निर्माणमा सक्रिय शिवको स्वास्थ्यका कारण अल्पायुमै, २०७० मंसिर २४ मा निधन भयो। दुबै मिर्गौला फेल भएर उपचारक्रममा उनको ४९ वर्षको उमेरमा निधन भएको थियो।
शिवले भौतिक संसार छोडेको आज ठीक आठ वर्ष पुगेको छ। आजकै दिन उनले बल्खुको बयोधा अस्पतालमा प्राण त्यागेका थिए। आज उनको आठौं वार्षिकी हो।
चितवनमा जन्मिएका शिव ५० को दशकको आरम्भमा नारायणी कला मन्दिरबाट रंगमञ्चमा उदाएका थिए। ‘स्वदेशभित्र हराएको नागरिक’ नाटकको लेखन तथा निर्देशन गरेर राष्ट्रिय पुरस्कार पाएपछि उनको चर्चा चुलियो।
उनी त्यसपछि सिनेमाको कथा लेख्न थाले। 'प्रेम पूजा' बाट सिनेमाका कथा लेख्न थालेका उनलाई 'मोहनी' ले चिनायो। २०५५ मा आफ्नै लेखन रहेको 'आफन्त' निर्देशन गरेपछि पहिलो फिल्मबाटै निर्देशकका रूपमा स्थापित भए।
त्यसपछि करिब डेढ दशक सिनेमामा सक्रिय शिव निर्देशक, लेखक, निर्माता र गीतकारका रूपमा सक्रिय रहे। यसक्रममा उनका २० वटा फिल्म सार्वजनिक भए जसमार्फत् उनको आफ्नै शैली र ट्रेडमार्क स्थापित भयो।
लेखनमा अब्बल मानिएका शिवका प्रायः कथा एउटा खास विषयको वरिपरि घुमेको पाइन्छ। सामाजिक विषयवस्तु टिपेर लेखिएको कथामा समाजकै पात्र, परिवेश, बोलिचाली, भेषभूषा र संगीत मिसाउनु उनको खुबी थियो।
समाजको अवस्था र दर्शकको चाहनालाई बुझेर फिल्म बनाउन सक्नु शिवको विशेषता थियो जसले गर्दा उनका फिल्म हेर्न दर्शक हलसम्म पुग्न आतुर हुन्थे।
प्रकाश थापा, तुलसी घिमिरेजस्तै शिवका फिल्मले व्यवसायिक धारकै प्रतिनिधित्व गर्छ। उनका फिल्म नेपाली जनजीवनका दुःखसुखलाई पारिवारिक तथा सामाजिक सम्बन्धका अनेक आयामबाट हेर्ने आँखीझ्याल हुन्।
दर्शकको रूचि र संवेदनालाई छुन सफल शिवका फिल्मले एकातिर दर्शकलाई धुरुधुरु रुवायो भने अर्कोतिर पेट मिच्ने गरी हँसायो पनि। फिल्मका संवादमा पन्च लाइनहरू राख्न सक्नु उनको विशेषता हो। तडकभडकभन्दा सरलता रोज्ने शिव लेखक तथा निर्देशकबाहेक राम्रा गीतकार पनि थिए। उनका फिल्मका धेरै गीत आज पनि स्रोतामाझ लोकप्रिय छन्।
यस्तै क्षमताका कारण शिवले 'सुखदुःख', 'दुनियाँ', 'मानिस', 'कहाँ भेटिएला' जस्ता फिल्मबाट उत्कृष्ट निर्देशक विधामा पुरस्कार जिते। उनको फिल्मबाट कयौं अभिनेता, अभिनेत्री, संगीतकार, गायक तथा गायिकाले समेत पुरस्कार हात पार्न सफल रहे। आफ्नो समयका सक्रिय नयाँ पुराना पुस्ताका सबैजसो कलाकारसँग काम गरेका शिवले धेरै कलाकारलाई सिनेमा क्षेत्रमा स्थापितसमेत गराए।
आज हामीले उनै निर्देशक, लेखक, निर्माता तथा गीतकार शिवको स्मरणमा दर्शकले रूचाएका उनका दुई फिल्म 'आफन्त' र 'हामी तीन भाइ' फिल्म यहाँ राखेका छौं। यी दुबै शिव रेग्मीका हिट फिल्म हुन्।
आफन्तः
भनिन्छ, शिवले यो फिल्मको स्क्रिप्ट धेरै निर्माता तथा निर्देशकलाई देखाएका थिए। तर फिल्म बनाउन कोही तयार नभएपछि उनी आफैं निर्देशन गर्न अघि सरे।
आफन्त त्यस बेलाका चलनचल्तीका कथाभन्दा अलग थियो। कथा श्रीकृष्ण श्रेष्ठ (आकाश) र श्रद्धा (निरुता सिंह) को वरिपरि घुम्छ। सिनेमा हलमा ब्ल्याकमा टिकट बेच्ने आवारा आकाश श्रद्धाको बलात्कार गरेको अभियोगमा फस्छ। न्यायाधीशले आकाशलाई जेलमा राख्नुको साटो श्रद्धाको हेरचार र सुरक्षा गर्नुपर्ने फैसला सुनाउँछिन्।
यो फैसला आकाशलाई घृणाको नजरले हेर्ने श्रद्धालाई चित्त बुझ्दैन। आकाशका लागि पनि यो जिम्मेवारी पूरा गर्न सहज हुँदैन। यसैबीच बलात्कृत श्रद्धा गर्भवती हुन्छिन्। यी दुई पात्रको सम्बन्ध थप जटिल बन्छ।
एक जना अभियुक्त र अर्को बलात्कृत मान्छे। यी दुईको सम्बन्ध कसरी अघि बढ्ला? न्यायाधीशले आकाशलाई जेल पठाउनुको साटो श्रद्धाकै वरिपरि रहने आदेश किन दिइन्?
मान्छेका जटिल सम्बन्धलाई फरक कोणबाट हेर्ने प्रयास गरिएको आफन्तको यो कथाले दर्शकलाई बाँधेर राख्छ।
श्रीकृष्ण र निरुताबाहेक फिल्ममा सुनील थापा, पवन मैनाली, शुशीला रायमाझी, एनबी महर्जनलगायत कलाकारको मुख्य भूमिका छ।
आफन्तले यसअघि सहायक कलाकारका रूपमा अभिनय गर्दै आएका श्रीकृष्णलाई स्थापित गरिदियो। यसको श्रेय निर्देशक शिवलाई जान्छ। आफन्तमा श्रीकृष्ण छाएका छन्। त्यसपछि शिव र श्रीकृष्णबीच लामो सहकार्य भयो।
श्रीकृष्ण श्रेष्ठ आफैंले निर्माण गरेको फिल्म 'कहाँ भेटिएला' निर्देशक रेग्मीले निर्देशन गरे र फिल्म हिट पनि भयो।
आफन्तका 'रातमा निद्रा छैन', 'पाउजुको छमछम', 'जिन्दगी तँलाई मैले चिन्नै सकिनँ' जस्ता गीत चर्चित छन्।
हामी तीन भाइः
माथि भनिसकियो, शिव रेग्मी समाजका कथा र पात्र टिप्न खप्पिस थिए। हामी तीन भाइको कथा जुत्ता चोरेर पेट पाल्ने अनाथ बालक हरिको कथाबाट सुरू हुन्छ।
आफू अनाथ हुँदाहुँदै पनि परिस्थितिले हरि आफूभन्दा साना दुई बालकसमेतलाई हुर्काउन बाध्य हुन्छन्। तर हरिको संगतमा भाइहरू राम र लक्ष्मण पनि जुत्ता चोर्न थाल्छन्। एकदिन जुत्ता चोर्दै गर्दा साना भाइहरूले समेत पिटाइ खाएपछि हरिले चोरी गरेर खाने बाटो छोड्ने निर्णय लिन्छन्। आफू दिनरात काम गरेर भाइहरूलाई पढाउँछन्।
तीन दाइभाइको यो आत्मीय सम्बन्धमा तब समस्या आउँछ जब लक्ष्मणकी आमाले हरिसँग लक्ष्मण फिर्ता माग्छिन्। के यसपछि पनि तीन भाइको सम्बन्ध कायमै रहला? वा, उनीहरू एकअर्काबाट टाढिएलान्?
यो भावनात्मक कथालाई फिल्ममा भने रोचक शैलीमा प्रस्तुत गरिएको छ। दर्शकलाई सुरूदेखि अन्तसम्म हँसाइराख्ने यो फिल्ममा हरिको भूमिकामा राजेश हमालको अभिनय छ। श्रीकृष्ण श्रेष्ण राम र निखिल उप्रेती लक्ष्मण बनेका छन्। यी बाहेक रेखा थापा, झरना थापा, शुशीला रायमाझी मुख्य भूमिकामा छन्।
फिल्ममा बालकलाकारका रूपमा अहिलेका अभिनेता सलोन बस्नेत र अभिनेत्री सुहाना थापाले अभिनय गरेका छन्। बालक हरिको भूमिकामा सलोन बस्नेत निकै सुहाएका छन्।
फिल्ममा राजेशले श्रीकृष्ण र निखिललाई लखेट्ने दृश्य फिल्मको प्राण हो जुन जति पटक दोहोरियो त्यति मजा आउँछ। सामाजिक कथा भन्ने शिव रेग्मीका धेरै फिल्मका गीतमा लोकशैलीको प्रयोग भएका छन्।
हामी तीनभाइमा पनि 'तीर्खा लागे निरमाया', 'बाजा घन्काउँदै' जस्ता चर्चित गीत छन्। फिल्ममा रहेको शिवकै रचनाको गीत 'मलाई यो जिन्दगीले चोट दियो गनी गनी' पनि विशेष छ।