विष्णु कल्पितका कथामा अंकहरू दोहोरिएर आउँछन्। हालै अफ्रिकाको युगान्डामा डकुमेन्ट्री खिच्न जाँदा उनले दिनको पाँच सय डलर पारिश्रमिक लिए। अर्को नेटफ्लिक्स फिल्मका लागि उनले दैनिक सात सय डलर पाए।
अचेल करोडमा हिसाब राख्ने विष्णु कुनै बेला पाँच सय रूपैयाँमा बिहेको भिडिओ खिच्थे। स्टिल फोटोग्राफर, भिडिओग्राफर, पत्रकार हुँदै डकुमेन्ट्री र फिल्ममा सिनेमाटोग्राफरका रूपमा स्थापित उनी निर्देशकका रूपमा समेत चर्चा बटुलिरहेका छन्।
उनको आफ्नै प्रोडक्सन हाउस 'फिल्म क्रु नेपाल' पनि छ। नयाँ प्रविधिहरू उपलब्ध भएको यो नेपालकै ठूलोमध्ये एक प्रोडक्सन हाउस हो। उनको प्रोडक्सन हाउसले फिल्म तथा डकुमेन्ट्री निर्माणका विभिन्न चरणका काम गर्ने र आवश्यक सामग्री भाडामा दिन्छ।
दर्जन बढी कर्मचारी भएको बानेश्वर, थापागाउँस्थित फिल्म क्रु नेपाल घुमाउँदै विष्णुले भने, 'घर बनाउनतिर नलागेर जे जति कमाए यहीँ खन्याएँ। १२ करोड लगानी गरिसकेँ।'
विष्णु लामो समयदेखि अन्तर्राष्ट्रिय मिडिया, डकुमेन्ट्री तथा फिल्म प्रोजेक्टमा सक्रिय छन्। अलजजिरामा विगत १५ वर्षदेखि फ्रिलान्सरका रूपमा आबद्ध उनले बिबिसी, जर्मन टिभी, सिएनएन, च्यानल न्युजका लागिसमेत काम गरेका छन्। विशेष गरी डकुमेन्ट्रीमा अनुभव सँगालेका उनका कयौं कामले अन्तर्राष्ट्रिय चर्चा कमाएका छन्।
निर्देशक केसाङ छेतानको 'ट्रेम्बलिङ माउन्टेन', बेन्जामिन बेस्टको 'डर्टी गेम्स', 'क्याराभान' बाट ओस्कर मनोनित निर्देशक एरिक भ्यालीको 'वियोन्ड द क्लाउड्स', सुबिना श्रेष्ठको 'देवी' आदि उनले खिचेका केही महत्वपूर्ण डकुमेन्ट्री हुन्। अलजजिराको डकुमेन्ट्री 'नेपाल अर्थक्वेक एन्ड इट्स आफ्टरम्याथ' का लागि एमी अवार्डमा समेत मनोनित विष्णुले काम गरेको डकुमेन्ट्रीले न्यूयोर्क फिल्म फेस्टिभलमा सिल्भर अवार्ड जितेको छ।
विष्णु भन्छन्, 'म आफैंलाई यो छलाङ अपत्यारिलो लाग्छ।'
नलागोस् पनि कसरी!
गोदाबरी बडीखेलमा जन्मेका विष्णले आज जुन नाम, दाम र अनुभव बटुलेका छन्, त्यसको आरम्भ उनी १२/१३ वर्षका हुँदादेखि भएको हो।
उनका मामाहरूको पुतलीसडकमा द एक्सपो र नक्सालमा मुनाल फोटो स्टुडिओ थियो। गोदाबरीकै सरकारी स्कुल, किटिनीमा पढ्ने उनी जाडो बिदामा मामाका स्टुडिओमा समय बिताउँथे।
'त्यहाँ म बिल काट्ने, फोटो हेर्ने, फोटो काट्नेदेखि कुचो लगाउनेसम्मका काम गर्थें,' उनले भने। फोटो खिच्ने सीप त्यहीँ सिकेका उनलाई आफ्नै फोटो स्टुडिओ चलाउने रहर पलायो।
२०५० सालमा बाँडेगाउँ, ललितपुरमा आफ्नै फोटो स्टुडिओ खोले। व्यक्ति, स्कुल र सरकारी कामकाजका लागिसमेत फोटो खिचेका उनी सम्झन्छन्, 'कसैले आत्महत्या गर्यो भने हामीले फोटा नखिची लाससमेत उठाइन्थेन। पछि मात्र प्रहरीले आफ्नै फोटोग्राफर राख्न थाले। मैले नै करिब ४० वटा लासको फोटो खिचेँ होला।'
विष्णु आफू सानैदेखि फरक तरिकाले सोच्ने बताउँछन्।
'फोटोमा नाफा धेरै थियो। म बर्खी बारेका मानिसलाई ५० प्रतिशत छुट गरिदिन्थेँ। सस्तोमा तुरून्तै फोटोहरू बनाइदिन्थेँ। नयाँ नयाँ प्रयोग गर्न हिच्किचाउँदिन थिएँ।'
यस्तै सोचले उनको फोटो स्टुडियो चल्यो। फोटोपछि उनी भिडिओ खिच्न थाले। १२ सय वटा भिडिओ खिचेका उनी राती दुई घन्टा मात्र सुतेर पाटन कलेज पढ्न गएको बताउँछन्।
त्यसरी फोटो खिच्दा काँधमा आयोडेक्स लगाएरसमेत सुतेका छन् उनी। बिहेको भिडिओ खिच्दा खिच्दा यति थाक्थे, काँधमा आयोडेक्स लगाएर सुत्नुपर्थ्यो।
विष्णुमा फोटोग्राफीसँगै साहित्य र संगीतप्रति पनि आकर्षण थियो। त्यही भएर खास नाम विष्णुप्रसाद घिमिरेलाई साहित्यिक रङ दिँदै उनले आफ्नो नाम 'मृदु कल्पित' लेख्न थाले। आफ्नो टोलमा विष्णु नामका अरू धेरै मान्छे भएकाले उनले नाम फेरेका थिए।
कल्पनासँग जोडिँदा मान्छे सिर्जनशील हुन्छ भन्ने मान्यताले उनले आफ्नो नाममा कल्पनालाई जोडे। केही समयको रहर पूरा भएपछि मृदुका ठाउँमा विष्णु लेख्न थाले। कल्पितलाई साथै राखे।
फोटो स्टुडिओमा रमाइरहेका विष्णुको जीवनमा निर्देशक आलोकश्रीसँगको भेटले नयाँ मोड ल्याइदियो। आलोकश्रीको घरमा गायक रामकृष्ण ढकाल आउजाउ गरिरहन्थे। अझै पनि हार्मोनियम बजाएर गीत गाउन मन पराउने विष्णु रामकृष्णको संगतमा झ्याम्मिए।
यही सम्बन्धका आधारमा उनले २०५८ सालमा रामकृष्णले अभिनयसमेत गरेको शम्भु प्रधान निर्देशित 'आशीर्वाद' फिल्ममा स्टिल फोटोग्राफरको काम पाए। सिनेमामा फोटो स्टुडिओ चलाएको अनुभव काम लाग्यो। त्यसपछि 'बेइमानी', 'मुक्तिदाता', 'मुना मदन', 'भन्नै सकिनँ', 'बेइमानी' लगायत दुई दर्जनजति फिल्ममा स्टिल फोटाग्राफरका रूपमा काम गरे।
अलि पछि उनले दिनरात दुःख गरेर बिहेको भिडिओ खिचेको अनुभव पनि काम लाग्यो। ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्म 'हिफाजत' बाट उनले सिनेमाटोग्राफरका रूपमा पहिलो काम पाए। त्यसपछि 'दसगजा', 'समय', 'भीमदत्त', 'मंगलम', 'धन्दा', 'आधासुर', 'जलजला', 'झिंगे दाउ' 'अन्दाज' लगायत थुप्रै फिल्म खिचे। 'अन्दाज' बाट सिनेमाटोग्राफीमा नेसनल अवार्डसमेत पाए।
उनले निरन्तर फिल्ममा काम पाइरहे पनि आफूले गरेको कामबाट सन्तुष्ट भने थिएनन्।
'फिचर फिल्म त गरेँ तर सन्तुष्टि मिलेन। नेपाली फिल्मको खिचाइ स्क्रिप्टअनुसार हुँदैन। विदेशीले मेरो क्षमता अवमूल्यन गर्लान् भनेर नेपाली फिल्म विदेशीलाई देखाउँदिनँ,' उनले भने, 'तर भाग्य वा कर्म जे भनौं, जुन क्षेत्रमा हात हालेँ सफल भएँ।'
बिस्तारै फिल्म क्षेत्रमा मन्दी आएपछि उनले भारतको पुना पुगेर 'लाइिटिङ सिस्टम' पढे। धेरै मानिस टेलिभिजनतिर लाग्छन्। विष्णु भने त्यसपछि नेपाल वान टेलिभिजनमा क्यामरा चिफ भए।
त्यहीँ काम गर्दा विष्णुलाई एक जना विदेशीले बाबुराम भट्टराईको अन्तर्वार्ता मिलाइदिन अनुरोध गरे। माओवादी शान्ति प्रक्रियामा आएर वाइसिएल विभिन्न गतिविधिमा सक्रिय भएको थियो। वाइसिएलबारे डकुमेन्ट्री बनाउन आएका ती विदेशीको क्यामरा-पर्सन बिरामी भएकाले त्यो डकुमेन्ट्री विष्णु आफैंले खिच्ने अवसर पाएँ।
'ती विदेशीलाई मेरो खिचाइ मन परेछ। त्यसपछि उनले मलाई अलजजिरामा सिफारिस गरिदिए,' उनले भने। त्यो सिफारिस विष्णुको करिअरको टर्निङ प्वाइन्ट बन्यो।
विष्णुले अलजजिराका लागि खिचेको पहिलो डकुमेन्ट्री बैंककमा सम्पादन हुने बेला अलजजिरामै आवद्ध नेपालकी सुबिना श्रेष्ठको नजरमा पर्यो। सुबिनाले नेपाल आएर विष्णुलाई कामको प्रस्ताव गरिन्। त्यस बेला सुबिनाले विष्णुसँग काम गर्ने सर्त राखेकी थिइन्, 'म तिमीसँग न्युजमा काम गर्छु तर डकुमेन्ट्रीमा काम गर्दिनँ।'
आठ हजार पाँच सय रूपैयाँमा जागिर सुरू गरेका विष्णुले धेरै सोच्नै परेन। उनलाई दैनिक दुई सय डलरको प्रस्ताव आएको थियो। तर समाचारमा मात्र काम गर्ने सर्त राखेकी सुबिनाले विष्णुको काम मन परेरै होला, केही समयपछि कोशीको डकुमेन्ट्रीमा काम गर्ने प्रस्ताव गरिन्।
'सुबिनाले म सिकाउँछु भनेर लगिन्। मेरो काम हेर्दै यो खै? त्यो खै भन्दै समीक्षा गर्दै, गाली गर्दै सिकाइन्,' विष्णुले भने।
'पिपुल्स एन्ड पावर' नामको त्यो डकुमेन्ट्री वर्षकै उत्कृष्ट खिचाइमा दरियो।
विष्णुका अनुसार उनीसँग एकपटक काम गरेका मान्छेले उनलाई फेरि-फेरि खोज्छन्।
सुबिनाले आफ्नो डकुमेन्ट्री 'देवी' का लागि विष्णुलाई रोज्नुले उनको यो भनाइ पुष्टि गर्छ। देवी संसारका प्रतिष्ठित फेस्टिभलहरूमा पुगेको डकुमेन्ट्री हो।
विष्णु डकुमेन्ट्रीलाई समाजमा भएका कथा नबिगारी काँचको पर्दामा रूपान्तरण गर्ने विधा मान्छन्। त्यसैले उनी प्रविधि वा शैलीभन्दा बढी विषयमा जोड दिन्छन्।
गत महिना मंसिरमा सम्पन्न अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) मा चर्चा कमाएको 'गड्स बेफेलो' हेर्नुभएको छ भने विष्णुका कुरा तपाईंले मज्जाले बुझ्न सक्नुहुन्छ।
उनको यो कथाले किम्फमा सर्वोत्कृष्ट पर्वतीय फिल्म अवार्ड र नेपाल पानोरमा सर्वोत्कृष्ट डकुमेन्ट्री अवार्ड जित्यो। यसका लागि उनले करिब दुई लाख नगद प्राप्त गरे।
गएको असारमा मेलम्चीमा आएको बाढीले ठूलो जनधन क्षति गरेको थियो। त्यो विपतभित्र धेरै मानिसका आफ्नै व्यथा थिए। विष्णुले तीमध्ये एक जना वृद्ध र उनले आमासरह मानेको भैंसी बगेको कथा रोजे। भैंसीमा आश्रित वृद्धको सानो तर मार्मिक कथालाई उनले कुशलतापूर्वक देशकै ठूलो विपतसँग जोडे।
किम्फ जुरीले गड्स बफेलोलाई निकै सरल तर शक्तिशाली ग्रामीण जीवनको मर्मस्पर्शी कथा ठहर गरी पुरस्कृत गर्यो।
४५ वर्षीय विष्णुले निर्देशन गरेको यो दोस्रो डकुमेन्ट्री हो। उनले निर्देशन गरेको पहिलो डकुमेन्ट्री 'सवारी' पनि २०१६ को किम्फमा प्रदर्शन भएको थियो। उनले त्यस बेला पनि पुरस्कार जितेका थिए।
मुख्यतः सिनेमाटोग्राफरको छवि बनाएका विष्णु आफू इखले निर्देशक बनेको बताउँछन्।
उनले भने, 'कुनै बेला मलाई समाचारको मान्छेले फिल्म खिच्न के सक्ला भनेर धेरैले होच्याउँथे। फिचर फिल्ममा निर्देशकलाई केही सुझाव दिँदा क्यामरा-पर्सन भएर ठूलो कुरा गर्ने भन्थे। कति विदेशीले मैले खिचेको कामबाट अवार्ड थापे तर श्रेय दिएनन्। यस्तै व्यवहारले आफैं निर्देशन गर्न थालेँ।'
निर्देशकका रूपमा आफैंले आफैंलाई जाँचिरहेका विष्णु प्रशंसा र पुरस्कारलाई त्यस्ता सबैखाले घोचपेचको क्षतिपूर्ति भन्छन्। पुरस्कार नपाउँदा पनि किम्फमा छनौट भएर निर्देशकका रूपमा दुई-चार लाइन लेखिँदा मात्र पनि उनी सन्तुष्ट बनेको बताउँछन्। झन् अवार्ड नै जित्दा उनको खुसी बढ्ने नै भयो।
जसरी विष्णु इखले निर्देशक बने, फिल्म क्रु स्टुडिओमा ठूलो लगानी गर्नुमा पनि उनकाे इख नै मुख्य कारण रहेको बताउँछन्।
नेपालमा केही पनि पाइँदैन- विदेशी फिल्म निर्माताहरूसँग काम गर्दै आएका विष्णुले धेरैपटक यस्तो भनाइ सुन्नुपरेको छ, 'विदेशीबाट धेरै कुरा सिक्ने मौका पाए पनि मलाई उनीहरूको यस्तो मानसिकता चिर्न मन थियो।'
उनले फिल्म क्रु नेपालमा ११ लाख खर्चेर एरिको स्काइ प्यान लाइट ल्याएका छन्। अरू पनि धेरै महँगा सरसामान र उपकरणमा लगानी छ। धेरैले उनलाई यति महँगो लाइट किन ल्याएको भन्छन्। उनी यसकै जवाफ विदेशीहरूलाई दिन पाउँदा दंग पर्छन्।
'कति विदेशीले मलाई सोध्छन्- विष्णु, डु यु ह्याभ स्काइ प्यानल,' उनी भन्छन्, 'अनि म भन्छु- यस आइ डु ह्याभ।'
नेपालमा आउने विदेशी फिल्म निर्मातालाई सबै खालका उपकरण उपलब्ध गराउनुमा आफ्नो निजी स्वार्थ मात्र नरहेको उनको भनाइ छ।
'हामीले मजस्तै राम्रा र ठूला विदेशी प्रोजेक्टमा काम गर्न सक्ने जनशक्ति पनि तयार गर्नुपर्ने खाँचो छ,' उनले भने, 'त्यसो गर्न सके हामीले नेपालभित्र र बाहिर पनि धेरै अवसर पाउने थियौं। सधैं भारी बोक्न, तेल भर्न वा रेस्टुरेन्टमा काम गर्न मात्र विदेश कति जानू!'
नामको पुछारमा कल्पित लेखेका विष्णु आफ्नै मूल्यांकनमा कल्पनै नगरेका धेरै अवसर पाउने थोरै नेपालीमा पर्छन्।
इख र सिपले खारिएका उनले भने, 'एमीमा मनोनित भएँ। ओस्कर विजेता निर्देशकसँग पनि काम गरेँ। कम्तीमा ओस्करमा मनोनित हुने सपना छ। ओस्कर नै जित्न पाए त झनै गज्जब!'