रोहित जोन क्षत्रीलाई चिनाउन दुई शब्द काफी छ– बिस्तारै बिस्तारै।
दर्जनौंले कभर बनाएको 'बिस्तारै बिस्तारै' रोहितलाई युवा पुस्तामाझ स्थापित गराउने गीत हो।
सन् २०१३ मा सार्वजनिक याे गीत सुनाउन उनी देश-विदेश डुले। यही क्रममा अस्ट्रेलिया पुग्दा त्यहाँको माहोलबाट उनी निकै प्रभावित भएका थिए। त्यहाँ उनले एउटा यस्तो पब-बार देखे जहाँको एम्बियन्स, सजावट, संगीत, नाच, नाटक आदिले उनलाई हिरिक्कै हुने गरी लोभ्यायो।
उनको मनमा त्यही बेला नेपालमा पनि त्यस्तै ठाउँ खोल्न पाए संगीत र व्यापार सँगसँगै हुने सोच पलाएको थियो।
केही वर्षपछि उनको त्यो सोचले मूर्तरूप लिएको छ।
हालै रोहितले अस्ट्रेलियामा देखेजस्तो भव्य नभए पनि खाँदै–पिउँदै संगीतको आनन्द लिने आफ्नै सानो थलो बनाएका छन्- थ्री बाई फोर क्याफे एन्ड बार।
अचेल रोहित प्राय: यही बारमा भेटिन्छन्। त्यहाँ म पहिलोपटक रोहितलाई भेट्न नभई जगन्नाथ धगौडाको तबला र सन्तोषभक्त श्रेष्ठको इशराज बाजाको प्रस्तुति सुन्न पुगेको थिएँ। त्यो साँझ घर पुग्दासम्म तबला र इशराजको जुगलबन्दीबाट गुञ्जेको संगीतले पछ्याइरह्यो।
त्यो साँझ मजस्तै थ्री बाई फोर पुगेका धेरैलाई त्यस्तै भएको थियो सायद।
थ्री बाई फोर सानेपास्थित फिटनेस सेन्टर 'इन्टरनेसनल क्लब' परिसरभित्र छ। राणाकालीन भवनको आँगनमा खुलेको थ्री बाई फोरको आँगनमा घाम ताप्दै रोहितसँग न्यानो कुराकानी सुरू भयो।
'लकडाउनअघि नै एउटा आफ्नै ठाउँ होस् भन्ने लागेको थियो। लकडाउनमा बचाएर राखेको थोरै पैसा सकियो। एउटा व्यवसाय भयो भने सजिलो होला भन्ने महशुस गरेपछि थ्री बाई फोर सुरू गरेँ,' उनले भने।
बिहान ९ देखि राति १० बजेसम्म खुल्ने यो क्याफे एन्ड बारमा छ जना कर्मचारी छन्। रोहित आफैं पनि यहाँ धेरै समय बिताउँछन्।
चर्चित गायक रोहितले खोलेको क्याफे एन्ड बार भन्दै आउनेदेखि इन्टरनेसनल क्लबमा आउनेहरू यहाँका ग्राहक हुन्। खाना खाने, कफी पिउने र मदिरा पिउनेसम्मका ग्राहकलक्षित थ्री बाई फोर खोल्ने रोहित आफैं खानाको स्वादलाई विशेष महत्व दिन्छन्।
उनले भने, 'म र मेरो गर्लफ्रेन्ड खानेकुराका सोखिन हौं। त्यसैले यहाँ आउने ग्राहकको सन्तुष्टिबारे सचेत छौं। अहिलेसम्म आउने सबैले खानेकुरा मिठो भन्नुहुन्छ, खुसी लाग्छ।'
हाल खाना मात्र खुवाइने यहाँ उनी चाँडै ब्रेकफास्ट पनि थप्ने तयारीमा छन्।
खानपिनको स्वादमा संगीतको स्वाद थपिँदा ग्राहकहरू आकर्षित हुने नै भए। रोहित रक, पप, ज्याज, लोक, सुफी, आधुनिक, शास्त्रीय लगायत धेरै विधाका संगीत सुन्छन्। सबै खालका संगीत गाउन र बजाउन मन पराउँछन्।
रोहित थ्री बाई फोरलाई सबै विधाका संगीत प्रस्तुत गर्ने थलो बनाउन प्रयासरत छन्। उनको रूचि र ज्ञानको फाइदा यहाँ आउने ग्राहकले पनि उठाइरहेका छन्।
थ्री बाई फोरमा साताको चार साँझ सांगीतिक प्रस्तुति हुन्छ। उनका अनुसार मंगलबार पूर्वीय शास्त्रीय, बिहीबार काठमाडौं ज्याज कन्जर्भेटरी र अरू विद्यार्थीहरूको प्रस्तुति, शुक्रबार चाहिँ गुड फ्राइडे विशेष 'फिल गुड' लाइभ संगीत र शनिबार ज्याज संगीत प्रस्तुत गरिन्छ।
गत मार्चदेखि सञ्चालनमा आएको थ्री बाई फोर सुरू भएको छोटो समयमै लकडाउन भएको थियो। लकडाउनकै कारण पुराना कर्मचारी कताकता पुगे। लकडाउनपछि नयाँ कर्मचारी खोजेर काम सुरू गरिएको उनले बताए।
यहाँ संगीत प्रस्तुति सुरू भएको चाहिँ तीन महिना भयो। संगीत प्रस्तुतिकै कारण थ्री बाई फोरको प्रचार भइरहेको छ, रोहितले भने, 'संगीतकै कारण ग्राहकहरू आइरहनुभएको छ। म्युजिक सेसनका लागि स्पोन्सर खोज्न सकिएको छैन। व्यापार तलमाथि भए पनि नयाँ काम गर्न आनन्द आइरहेको छ।'
उनी यहाँ बजाउने सबै कलाकारलाई पारिश्रमिक दिने गरेको बताउँछन्। महामारीको अप्ठ्यारो परिस्थितिमा संगीत प्रस्तुतिका लागि छुट्टै लगानी गर्नु, संगीतकर्मीलाई पारिश्रमिक दिनु खर्चिलो हुने नै भयो। तै उनी व्यवसाय र आत्मसन्तुष्टिबीच सन्तुलन कायम गर्ने प्रयासमा लागिपरेका छन्।
३० वर्षीय रोहितले आफ्नो क्याफे एन्ड बारको नाम 'थ्री बाई फोर' राख्नुमा पनि सन्तुलनको सिद्धान्त जोडिएको छ।
थ्री बाई फोरले संगीतमा टाइम सिग्नेचरलाई जनाउँछ। रोहितका अनुसार संगीतमा जस्तै कफी, मदिरा र खानामा पनि थ्री बाई फोर इकाईका रूपमा प्रयोग हुन्छ।
'संगीत, खाना वा जीवन- हरेक कुरामा मात्रा र सन्तुलनको महत्वपूर्ण भूमिका हुन्छ। सन्तुलन मिलेको खाना मिठो हुन्छ। सन्तुलन मिलेको जीवन सार्थक हुन्छ। धेरै पक्ष समेट्ने भएकाले यो नाम सोचेरै राखेको हो,' उनले भने।
तर थ्री बाई फोर खोल्ने बेला आफन्त र साथीहरूसँग पैसा सापट लिएका रोहितको जीवनको सन्तुलन भने पूरै लयमा आउन बाँकी छ। सानै उमेरदेखि आर्थिक अभावसँग जुधेका रोहित निरन्तर आर्थिक सुरक्षाका लागि संघर्ष गरिरहेका छन्। सायद संगीतसँग जोडिएका उनका कयौं रहर पनि सन्तुलन मिल्ने क्षणको पर्खाइमा छन्।
टाढाबाट चिन्नेका लागि रोहित 'सुकिला मुकिला' सेलिब्रेटी संगीतकारजस्तै लाग्न सक्छन्। तर उनको कथामा चमकधमकको साटो अभाव र सादगी बढी छ।
शिक्षक आमा र लेखापाल बुबाको कमाइले काठमाडौंमा घरघडेरी जोड्न साह्रो थियो। कोठा भाडामा लिएर बस्ने भएकाले घरको आर्थिक अवस्थाबारे रोहितलाई कसैले केही बुझाइराख्न परेन। एक्ला छोरा भएकाले जति ठूलो भयो उति आर्थिक जिम्मेवारी बढेको महशुस हुँदै गयो।
धनसम्पत्तिको अभाव भए पनि रोहितको घरभित्र माया र कलाको अभाव थिएन। रोहितका अनुसार उनका बुबा आफैं राम्रो गाउँथे, बजाउँथे र लेख्थे। उनका मामा पनि गीत लेख्थे। संगीत भनेपछि उनकी आमा पनि हुरूक्कै।
घरमै गितार र हार्मोनियमसँग खेल्दै हुर्केका रोहित सानै उमेरदेखि संगीतप्रति आकर्षित भए। खासगरी बुबाको संगतले उनी सुर र बाजातिर लहसिए।
'स्कुलमा धेरैले राम्रो गाउँछ भनेर प्रोत्साहित गर्नु हुन्थ्यो। स्टेजमा गाउँदा अरू रमाएको देखेर मलाई रमाइलो लाग्थ्यो। संगीत र स्टेजको माहोलले त्यही बेला तानिसकेको थियो,' उनले भने।
आठ वर्ष उमेरमा उनले इन्टरस्कुल प्रतिस्पर्धामा कर्ण दासको 'जिन्दगीको के भरोसा' गीत गाएका थिए। गीतकार किरण प्रधानले रोहितलाई खुसी हुँदै सय रूपैयाँ दिएका थिए। त्यही पैसाले 'द बेस्ट अफ अरुण थापा' क्यासेट किनेको उनी अझै सम्झन्छन्।
त्यस बेला चर्चा कमाएको 'एन्जल्स' ब्यान्डका गायक राजु लामा उनका टाढाका मामा हुन्। उनैले रोहितको क्षमता देखेर उनका बुबाआमालाई भने, 'भान्जालाई यत्तिकै गाउन लाएर हुँदैन, व्यवस्थित रूपमा संगीत सिकाउनुपर्छ।'
तर स्कुल र संगीत सिक्ने ठाउँको दुरीले तालमेल मिलेन। उनले छोटो समय मात्र सिक्न पाए। यही क्रममा उनी संगीत गुरूहरू प्रभु ढकाल र न्ह्यू बज्राचार्यकहाँ पुगेका थिए। आज पनि उनी बेलाबेला प्रभु ढकालसँग संगीत सिकिरहेका छन्।
स्कुल पढ्दा विभिन्न कार्यक्रममा गाउने-बजाउने उनको आफ्नै ब्यान्ड पनि थियो। आठ वर्ष उमेरमा स्टेज चढेका रोहित भन्छन्, 'सानैदेखि राम्रो म्युजिसियन बन्छु भन्ने थियो। मूलधारमा आउँछु भन्ने चाहिँ सोचेको थिइनँ।'
संगीतमा लाग्नु रोहितका लागि रमाइलो मात्र थिएन। एक्लो छोरा भएकाले एसएलसीपछि आफैं कमाउनुपर्छ भन्ने आत्मबोध पनि थियो। अर्कातिर उनलाई संगीतसँगको संगत टुटाउनु थिएन। त्यसैले उनले काम पनि त्यस्तै रोजे। कक्षा ११ पढ्दा म्युजिक नेपालमा सिआरबिटी बनाउने काम गरे। त्यसपछि उनी सेलरोटी डटकममा जोडिए।
'पैसाका लागि काम गरे पनि ती कामले मलाई फरक खालका संगीत र संगीत क्षेत्रभित्रका नयाँ कुरा सिकायो,' रोहितले भने।
काममा बढी समय दिँदा संगीत छुटेजस्तो लाग्नु र संगीत मात्र गर्दा आर्थिक चुनौती बढ्नुबीच उनी केही समय अलमलिए।
सन् २००७ मा एसएलसी दिएपछि फाट्टफुट्ट 'ज्याम' गर्न थालेका रोहितको अर्को चरण गिग र पबबाट सुरू भयो। ठमेलको अलिभ क्याफेबाट सुरू गिग यात्रा दरबारमार्गदेखि झम्सिखेल, ललितपुरको मोक्ष लगायत पबहरूसम्म फैलियो।
साताका पाँच-छ दिन उनी पबमा गाउन थाले। बिहे, पास्नी, ब्रतबन्ध, भोजभतेर, जंकू, विवाह वार्षिकोत्सव, जन्मदिन लगायत निजी समारोहमा समेत गाए-बजाए। सन् २०११ मा 'काठमाडौं ज्याज कन्जर्भेटरी' मा कार्यालय सहायकको काम पाएपछि रोहितले चाहेजस्तै सांगीतिक संगत पाए। संगीत सिक्न थालेपछि अरूको गीत गाउने उनले आफ्नै गीत निकाल्ने तयारी पनि गर्न थाले।
आफ्नै गीत रेकर्ड गर्न र भिडिओ बनाउन रोहितसँग पैसा थिएन। यसका लागि उनले मोटरसाइकल बेचेको खबरले त्यस बेला धेरैको ध्यान खिचेको थियो।
आफ्नै गीत निकालेर चर्चा पाएपछि पनि रोहितले पबमा गाउन छाडेनन्। तर स्वाभाविक रूपमा 'बिस्तारै बिस्तारै' को चर्चाले उनले पहिलाभन्दा धेरै अवसर पाए।
१९७४ एडी ब्यान्डसँग जोडिनु उनको जीवनको त्यस्तै एउटा अवसर थियो। सन् २०१४ मा गायक एड्रियन प्रधानले ब्यान्डबाट ब्रेक लिएका बेला रोहित ब्यान्डमा गायकका रूपमा जोडिए।
रोहित स्कुलका प्यारेन्ट्स डे, वेलकम, फेयरवेल आदिमा १९७४ एडी ब्यान्डको कुनै न कुनै गीत गाउँथे। देउसी खेलेको पैसाले १९७४ एडीको 'शताब्दी' एल्बम किनेको उनलाई अझै याद आउँछ। जसका गीत सुनेर, गाएर हुर्किए, त्यही ब्यान्डको गायक बन्न पाउनु रोहितका लागि सपनासरह थियो। करिब पाँच वर्ष ब्यान्डमा जोडिएका उनले १९७४ एडीसँग आबद्ध भएर 'हजार सपना' एल्बम निकाले।
सन् २०१९ नोभेम्बरदेखि रोहितले आफ्नो एकल एल्बम बिदाइका पाँचवटा गीत सार्वजनिक गरिसकेका छन्। यो एल्बमका लागि आठवटा गीत पुर्याउने उनको लक्ष्य छ।
आज पनि रोहित बेलाबेला पब र निजी समारोहमा गाउँछन्। थ्री बाई फोरमा पनि उनले एकपटक आफ्नो प्रस्तुति दिइसकेका छन्।
रोहितका अनुसार उनका लागि संगीत नाम वा दाम कमाउने वा रहर पूरा गर्ने माध्यम मात्र होइन। उनलाई संगीतले दिने 'फिल' विशेष लाग्छ। संगीतको माध्यमबाट फरक मुड, विषय, संस्कृति बुझ्न पाएको उनको भनाइ छ। 'संगीतमा डुबेर मैले मन, मान्छे, प्रकृतिबारे धेरै कुरा बुझ्न पाएको छु। संगीत मेरो लागि समग्रमा जीवन बुझ्ने माध्यम हो,' रोहितले भने।
थ्री बाई फोरमा विभिन्न विधाका संगीतकर्मीको प्रस्तुति सुन्ने क्रममा आफूले नयाँ कुरा सिक्न पाएको उनी बताउँछन्। उनी भन्छन्, 'यहाँ समय बिताउँदा संगीतकै कारण बेग्लै ऊर्जा थपिएको महशुस गरिरहेको हुन्छु।'
कुनै बेला अरूको थलोमा गाउने-बजाउने रोहितले थ्री बाई फोर सुरू गरेपछि थुप्रै कलाकारलाई मञ्च दिइरहेका छन्। ती कलाकारको भीडमा पक्कै कति नयाँ रोहित जोन क्षत्री पनि होलान्। थ्री बाई फोरको अनुभवले त्यस्ता संगीतकर्मीको जीवनमा पक्कै महत्वपूर्ण अर्थ राख्ला!
यस्तो कल्पनाले पबमा गाएर आर्थिक र सांगीतिक आड पाएका रोहितलाई अपार सन्तुष्टि दिन्छ। तर थ्री बाई फोर खोल्ने बेला रोहितले यसबारे सोचेकै रहेनछन्।
'मेरो करिअरका लागि अरूको ठाउँमा गाउनु-बजाउनुले ठूलो अर्थ राखेको छ। आज म आफैं अरूका लागि त्यस्तै माध्यम बनेको छु। एक जना साथीले मेरो दिमागमा यो कुरा भरिदिएपछि मात्र मैले यसबारे सोचेँ,' उनले भने, 'साथीले भनेपछि आफ्नै संघर्ष सम्झेर भावुक भएँ।'