गुड फ्राइडे सिनेमा
भारतमा ओम्रिकोनको जोखिम नबढेको भए आजकै दिन निर्देशक एसएस राजामौलीको बहुप्रतीक्षित फिल्म 'आरआरआर' रिलिज हुने थियो।
राजामौलीले पछिल्ला दुई सुपरहिट फिल्म बाहुबली १ र २ पछि आरआरआर निर्माण गरेका हुन्। रामचरण र जुनियर एनटिआरको मुख्य भूमिका रहेको यो फिल्ममा अजय देवगन र आलिया भट्ट अतिथि भूमिकामा देखिने छन्।
चार सय ५० करोड भारूमा बनेको आरआरआरले सबै बिक्री अधिकारबाट अहिलेसम्म ४ सय करोड कमाइसकेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। तेलुगू सिनेमाबाट उदाएका राजामौली भारतकै प्रभावशाली र सफल निर्देशक हुन् भन्ने यसबाट पुष्टि हुन्छ।
राजामौलीले आफ्नो करिअरमा थुप्रै हिट फिल्म दिएका छन्। तीमध्ये 'मगधीरा' यस्तो फिल्म हो जसले उनलाई भारतको सफल निर्देशकका रूपमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्यो।
आरआरआरकै अभिनेता रामचरण मगधीराको मुख्य भूमिकामा छन्। यो फिल्मले दुईवटा फरक कालखण्डको कथा भन्छ। एउटा कथा सन् १६०९ को हो भने अर्को २००९ को। यी दुई कथाबीच चार सय वर्षको अन्तर छ।
यो कथा मुख्य तीन पात्र रामचरण, काजोल अग्रवाल र देव गिलको वरिपरि घुम्छ। यी तीनै जना फिल्ममा फरक-फरक कालखण्डका फरक पात्रका रूपमा देखिन्छन् जसको विगत र वर्तमान आपसमा जोडिएको छ।
रामचरण शिव र कालभैरवको भूमिकामा छन् भने काजोल मित्रा र इन्दुका रूपमा देखिन्छिन्। त्यस्तै, देव गिलले रघुवीर र रणदेव भिल्लाको भूमिका निर्वाह गरेका छन्।
विगत र वर्तमानका घट्ना जोड्दै अघि बढ्ने यो फिल्मको कथा पुरानो वा नयाँ समय जहाँबाट चर्चा गरे पनि हुन्छ। हामी चाहिँ वर्तमानबाट कथा उधिन्न थालौं है त।
मोटरसाइकल रेस र सट्टाबाजीबाट जीविकोपार्जन गर्ने शिवले एक दिन बस स्टपमा लिफ्ट मागिरहेकी इन्दुलाई भेट्छन्। पहिलो भेटमा शिवले इन्दुको अनुहार देखेका हुँदैनन्, अन्जानमै उनको हात मात्र स्पर्श गरेका हुन्छन्। तर त्यो स्पर्श कताकता उनलाई पहिल्यैदेखि परिचितजस्तो महसुस हुन्छ।
यसरी शिव र इन्दुको प्रेमकथा अघि बढ्दै गर्दा बीचमा सोलोमनको प्रवेश हुन्छ। उनी इन्दुको सौन्दर्यबाट आकर्षित हुन्छन्। आफूले चाहेको कुरा प्राप्त गर्न जेसुकै गर्ने सोलोमनको स्वभाव हुन्छ। उनी इन्दुको बुबा र शिवलाई मारेर इन्दुलाई हासिल गर्ने प्रपञ्चमा लाग्छन्।
यी तीन पात्रको प्रेम र द्वन्द्वबारे स्पष्ट हुन उनीहरूकै जीवनको चार सय वर्ष पुरानो कथा बुझ्नुपर्छ।
वर्तमानका यी तीन पात्र चार सय वर्षअघि पनि यस्तै प्रेम र द्वन्द्वको भुमरीमा फसेका थिए। फिल्मको सबभन्दा रोचक पक्ष नै यही हो।
वर्तमानमा जोखिमपूर्ण स्टन्ट गर्ने शिव त्यो समय वीरहरूका पनि वीर लडाकू कालभैरव थिए। सुख र शान्तिले भरिएको राज्य उदयगढका यी योद्धा त्यहीँकी राजकुमारी मित्राको प्रेममा परेका थिए। अहिलेका रघुवीर नै त्यस राज्यका सेनापति रणदेव भिल्ला हुन्छन् जो राजकुमारी मित्रालाई हरहालमा पाउन चाहन्छन्।
दुवै समयमा उही पात्रको प्रेम र द्वन्द्व जोडिएको यो कथाले दर्शकलाई रोमाञ्चित बनाउँछ।
पुरानो समयको कथा एपिक एक्सन ड्रामाजस्तो छ भने नयाँ समयको कथा आधुनिक प्रेम कथाजस्तै लाग्छ। दुवैमा भावना र एक्सन केन्द्रमा छ।
निर्देशक राजामौली वास्तविकताभन्दा परको श्वैरकाल्पनिक विषयमा फिल्म बनाउन सिद्धहस्त छन्। महँगो लगानीमा बनेका उनका फिल्ममा देखाइने भव्य र अद्भभूत स्टन्ट, स्पेसल इफेक्ट्स र भिएफएक्स दृश्यहरूले दर्शकलाई एकछिन पनि आँखा झिमिक्क पार्ने मौका दिँदैन। मगधीरामा पनि यस्ता कयौं दृश्य छन्।
दक्षिण भारतीय फिल्म पारखीहरूका लागि यो एउटा मजेदार फिल्म हो जसमा कलाकार छनौटदेखि प्रेम, हाँस्य, द्वन्द्व र संवेदनाको मिश्रण छ। फिल्मको प्राविधिक पक्ष पनि त्यत्तिकै बलियो छ।
मगधीराले सिनेम्याटोग्राफी र स्पेसल इफेक्ट्स लागि नेसनल अवार्ड जितेको थियो। त्यस्तै, छवटा फिल्मफेयर अवार्ड जितेको यो फिल्मले नौवटा नन्दी अवार्ड र १० वटा सिनेमा अवार्डसमेत हात पारेको थियो।
सन् २००९ मा सार्वजनिक यो फिल्म राजामौली मात्र होइन, फिल्मका अन्य कलाकारहरूका लागि पनि करिअरको टर्निङ प्वाइन्ट साबित भयो।
मगधीराले दर्जनौं अवार्डबाहेक अर्को रेकर्ड पनि राखेको छ।
सन् २००५ मा रिलिज भएको 'चन्द्रमुखी' को रेकर्ड तोड्दै मगधीरा सिनेमा हलमा लगातार एक हजार दिन प्रदर्शन हुने दक्षिण भारतीय फिल्म पनि हो।