गुड फ्राइडे सिनेमा
सुक्ष्म कथामा बनेका नेपाली फिल्म धेरै छैनन्। ‘डाइङ क्यान्डल’ तिनै थोरैमध्येको एउटा फिल्म हो। नरेशकुमार केसीको निर्देशनमा बनेको ‘डाइङ क्यान्डल’ सन् २०१६ मा सार्वजनिक भएको थियो।
रसुवाको तामाङ बस्ती गत्लाङमा छायांकन भएको फिल्ममा दिदीभाइको आत्मीय सम्बन्धको कथा छ। यी दुई फिल्मका मुख्य पात्र हुन्।
दिदी क्षेमीको भूमिका (सिर्जना सुब्बा) र टिप्के लाक्पासिंघी तामाङ छन्। बुबाको निधन भएपछि यी दिदीभाइ आफूलाई एक्लो महसुस गर्छन्। उनीहरूकी आमा पनि दिदीभाइको भविष्यप्रति चिन्तित हुन्छिन्।
कमजोर हुँदै गएकी आमा र सानो भाइको जिम्मेवारी बोकेकी क्षेमी उमेर पुगे पनि परिवारकै खातिर बिहे नगरी बस्ने जिद्दी गर्छिन्।
उनमा आफू बिहे गरेर पराइ घर गए आर्थिक अभाव र कामको चापले आमा अझै गल्ने पीर छ। झन् आफूले पाएको चकलेट होस् वा अरू खानेकुरा ‘मैले खाइसकेँ, यो तिम्रो लागि’ भनेर झूट बोलेरै पनि दिदीलाई खान दिने भाइको उनलाई कति माया लाग्छ भनिसाध्य छैन।
आफूले पढ्न नपाए पनि भाइले राम्रो पढोस् भनेर उनी दिनोरात खट्न सहर्ष तयार छिन्। परिवारका लागि बिहे गर्दिनँ भने पनि जवान क्षेमी पुरुष आकर्षणबाट टाढा बस्न भने सक्दिनन्।
क्षेमीको जीवनमा दुई पुरुष पात्र पनि ठोक्किने नै भए। जनकलाल (सौगात मल्ल) र मुकुन्द (अर्पण थापा) त्यस्तै पात्र हुन्। जनकलाल विवाहित र सन्तान भएर पनि क्षेमीको यौवनबाट आकर्षित हुन्छन्। क्षेमीसँग नजिकिने बहानामा उनी त्यहाँ नियमित रक्सी पिउन आउँछन्।
उनको होटलमा रक्सी र भटमास खान मात्र नभई आफ्नो यौवनले तानिएर आउने कुरा क्षेमीले बुझेकी छन्। त्यसैले उनी परिवारका खातिर ‘बिहे गर्दिनँ’ भन्ने कुरा दोहोर्याइ रहन्छिन्।
सरल स्वभावका आफूलाई मन पराउने मुकुन्द (अर्पण थापा) लाई त क्षेमा स्वयं मन पराउँछिन्। उनी भाइले मुकुन्दको नाम लिएर जिस्काउँदा मस्किन्छिन् पनि।
तर आर्थिक अभावका कारण जनकलाललाई आफ्नो नजिक आउनबाट रोक्न भने सक्दिनन्। प्रेम र बाध्यताको कथा भन्ने फिल्म मुख्यतः दिदीभाइबीचको आदर्श सम्बन्धलाई स्थापित गर्न खोजिएको छ।
भाइले दिदीलाई थाहै नदिई क्लिप ल्याइदिने अनि दिदीले भाइको चप्पलको फित्ता र पछि चप्पल किन्न मुकुन्दलाई पैसा दिएर पठाउनेजस्ता धेरै दृश्य मन छुने खालका छन्। फिल्ममा क्षेमी र उनका भाइले बुबालाई 'मिस' गरिरहने कुराले पनि दर्शकलाई तान्छ।
फिल्ममा रसुवाको प्राकृतिक र सामाजिक–सांस्कृतिक पक्षलाई कलात्मक रूपमा चित्रण गरिएको छ। मात्रै एक साँझको कथालाई फिचर फिल्मको रूप दिन गरिएको प्रयोग र मेहनत धेरै कुरामा झल्किन्छ।
निर्देशक केसीकै निर्देशन, कथा र स्क्रिनप्लेमा बनेको फिल्ममा संवाद, मौनता, रङ, संगीत, ध्वनिसँग विम्बको संयोजन भेटिन्छ। रवीन आचार्य र दीपंकर सिग्देलको सिनेमाटोग्राफी तथा भूपेन्द्र अधिकारीको सम्पादन फिल्मको महत्वपूर्ण पक्ष हो।
चप्पल, कागजको नाउ, क्लिप, बिहेको दृश्य, पानी, आगो, रात आदिको विम्बात्मक प्रयोगले मूल कथालाई जोड्दै दर्शकमा संवेदना बढाउन महत्वपूर्ण भूमिका खेलेका छन्।
कलात्मक र विम्बात्मक चित्रणको यस्तै संयोजनले फिल्मको समग्र रङ नै विशेष बनाइदिएको छ।
बालकलाकार लाक्पासिंह तामाङको निर्दोष र तामाङ लवजको बोलीमा स्थानीय मिठास भेटिन्छ। सिर्जना सुब्बा आरम्भदेखि अन्तसम्मै प्रभावशाली देखिएकी छन्।
महिलालाई केन्द्रीय पात्रका रूपमा स्थापित गरिएको फिल्मले सिमान्तकृत समुदाय तामाङको कथा र परिवेशलाई समेट्नु पनि प्रशंसनीय कुरा हो।
चलनचल्तीको प्रेमभन्दा दिदी र भाइको प्रेममा आधारित भएर फिल्मले प्रेमको फरक आयाम समेट्नु झनै सराहनीय पक्ष हो। फिल्मको दोस्रो भागमा प्रवेश गर्ने सौगात मल्लको अभिनयको पनि तारिफ गर्नैपर्छ। उसै गरी छोटो भूमिकामा अर्पण थापा पनि सुहाएका छन्।
फिल्ममा धेरै 'इनडोर' दृश्य छन् त्यो पनि निकै लामा। लामा दृश्यमा आउने संवाद पनि छोटा छैनन्। कुनै लामो नाटक हेरेझैं लाग्ने फिल्मको गति पनि धीमा छ। सानो घटनाको वरिपरि घुम्ने कथा भएकाले फिल्ममा उतारचढाव आउने कुराको अभाव भने खड्किन्छ।
तर ‘डाइङ क्यान्डल’ कमजोरीभन्दा सबल पक्ष बढी भएको फिल्म हो। फिल्मले अमेरिकाको ‘क्विन्स वर्ल्ड फिल्म फेस्टिभल’ मा उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड जितेको थियो। 'सिनेमा भर्दे' फिल्म फेस्टिभलमा 'पिस अवार्ड' जितेको थियो।
फिल्मबाट अभिनेत्री सिर्जना सुब्बाले नेपालमा नेसनल फिल्म अवार्ड जितेकी थिइन्।
‘डाइङ क्यान्डल’ सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट सम्पादनतर्फको अवार्ड समेत जित्न सफल फिल्म हो।