सामाजिक सञ्जालमा सक्रिय हुनुहुन्छ भने रविन सापकोटाका कथा तपाईंले पढेको वा सुनेको हुनसक्ने सम्भावना बलियो छ।
एक-दुइटा नभएर उनका दर्जनौं कथा फेसबुक र युट्युबमा छ्यापछ्याप्ती छन्। हजारौंहजारले सेयर गरेका उनका केही कथा युट्युबमा एकभन्दा बढीले वाचन गरेको भेटिन्छ।
'आन्टी चिया बन्छ?' एउटा उदाहरण हो।
कुलतमा फसेको छोरा र छोराप्रति आमाको प्रेम झल्काउने यो कथा साइग्रेस पोख्रेलको स्वरमा धेरैले सुन्नुभएको होला।
साइग्रेसबारे पढ्नुहोस् यो स्टोरीः जहाँ गयो त्यहीँ फ्यानहरूले घेरेका साइग्रेस पोख्रेल को हुन्?
रविनको यो कथालाई सरोज सेढाइ, मदन ज्ञवाली लगायतले पनि वाचन गरेका छन्।
'ओए बाइकर्स', 'पुरुष हराएको सूचना', 'स्वर्गमा तिमी सेफ छौ', 'कहिल्यै बालाई सोधेका छौ?', 'ऊ भन्छ' आदि रविनका केही चर्चित कथा हुन्। शीर्षकबिना पोस्ट गर्ने यी कथा सामाजिक सञ्जाल वा युट्युबमा फरक शीर्षकमा पनि भेटिन सक्छन्।
यी कथाहरू कसरी लेखिए त? कसरी सामाजिक सञ्जालमा फैलिए? कथा लेख्ने रविनको आफ्नै कथा चाहिँ के होला?
आज हामी त्यही कथा भन्दैछौं।
यो कथाको पृष्ठभूमि रविनले एसएलसी दिएपछि सुरू हुन्छ। बागमती कोरिडोरको एउटा क्याफेमा चियाका कपहरू रित्याउँदै उनले यो कथा सुनाएका हुन्।
'सामान्य किसान परिवारमा जन्मेको मान्छे। मेरा दाइ र दिदी अनि म र बहिनीको उमेरमा ठूलो अन्तर थियो। सानै उमेरदेखि आमा, बुबा र बहिनीको जिम्मेवारी मेरो काँधमा आयो,' उनले कथा अघि बढाए, 'पैसा कमाउने दबावले कलिलै उमेरमा एसएलसी सकिएको भोलिपल्टै घर छोडेर काठमाडौं आएँ।'
एसएलसी (हाल एसईई) सकिने समय स्कुले विद्यार्थीका लागि उत्सवसरह हुन्छ। यही बेला कयौंले घुम्ने र अन्य रहर पूरा गर्छन्। स्कुले विद्यार्थीले आफूलाई तन्नेरी भएको महसुस गर्ने क्षण यही त हो।
रविनका कति सहपाठीहरू पनि एसएलसी सकाएर पनौतीबाट पहिलोपटक काठमाडौं घुम्न आएका थिए होलान्।
'मैले त व्यावहारिक कारणले स्कुलका पिकनिकसमेत माया मार्नुपर्थ्यो। मसँग एसएलसीपछि ब्रेक लिने सुविधा थिएन,' उनले भने।
काठमाडौं आएर पैसा कमाउँछु भन्नु र कमाउने हैसियत बनाउनुबीच ठूलो खाडल हुन्छ। रविनलाई यहाँ आएर कोठा खोज्ने, जागिर खोज्ने र आफ्नै खर्चमा पढ्ने क्रममा त्यो खाडलको दुरी महसुस भइहाल्यो।
'पनौती छाडेको दिनदेखि नै एक्लो महसुस हुन थाल्यो। आज पनि यो सहरमा एक्लै संघर्ष गरिरहेको छु,' काठमाडौंमा एक दशकभन्दा बढी एक्लै बसेका रविनले भने।
काठमाडौं आएर रविनले त्रिपुरेश्वरको अपोलो इन्टरनेसनल टायर कम्पनीमा काम सुरू गरे। काम गदै पब्लिक युथ क्याम्पसमा भर्ना भए। उनको कोठा छाउनीमा थियो। कलेजका लागि क्षेत्रपाटी र काम गर्न त्रिपुरेश्वर धाउनुपर्थ्यो। बिहान झिसमिसेमै निस्किने उनी कोठा फर्किँदा झमक्कै अँध्यारो भइसकेको हुन्थ्यो। कलेज होस् वा काम गर्ने ठाउँ, आउँदा जाँदा खर्च बचाउन पैदल हिँड्थे।
भातभन्दा बढी आलु चना, चाउचाउ, चाउमिन वा मःमःको भरमा दिनभर काममा खटिन्थे।
'सानै थिएँ। दारीजुँगा केही आएको थिएन,' मास्क खोलेर दाह्री जुँगा देखाउँदै भने, 'दिनभर यताउता भुलिए पनि कोठा पुगेपछि मन भारी हुन्थ्यो। आमा, बहिनी र बुबाको मायाले मन बाँधेको थियो। आधा रातमा घर सम्झेर रुन्थेँ।'
युवा उमेरमा बढी संवेदनशील हुने मन शान्त पार्न उनी चित्रकला र अनुहार पेन्टिङमा भुल्ने प्रयास गर्थे।
'धेरै राप–ताप सहेर हुर्केको मान्छे। मनको भित्री कुनामा छटपटी चलिरहन्थ्यो,' उनले भने, 'त्यही छटपटी पछि लेखेर पोख्न थालेँ।'
चिनजानका साथी र दाइहरूले उनले लेखेका कुरा पढेर भने– आफ्नो प्रतिभा नलुकाऊ। सार्वजनिक गर।
अनि उनले फेसबुकमा आफूले लेखेका कुरा पोस्ट गर्न थाले।
रविनका अनुसार उनी फेसबुक ग्रुप पेज 'ब्राह्मण समाज' का सदस्य थिए। करिब पाँच वर्षअघि त्यहाँ उनले पहिलो पटक बिहे हुन लागेकी दिदीसँग छुटिन लागेको भाइ बनेर लेखेको कथा पोस्ट गरे।
उनले भने, 'मान्छेहरूले मन पराएको थाहा भएपछि हरेक दिनजस्तै केही न केही नयाँ लेखेर पोस्ट गर्न थालेँ।'
लामा फेसबुक स्टाटसजस्ता उनका कथा क्रमशः ब्राह्मण समाजको घेरा नाघेर फैलिन थाल्यो। जब 'रुटिन अफ नेपाल बन्द' को पेजबाट उनको कथा प्रकाशित भयो, रविनले सोच्दै नसोचेको चर्चा पाए।
'मेरो अफिस र घरमा समेत मैले कथा लेख्ने कुरा थाहा थिएन। रुटिनको पेजमा कथा आएपछि सबैतिरबाट राम्रो प्रतिक्रिया पाएँ। लेखिराख्ने हौसला मिल्यो,' उनले भने।
करिब चार वर्षदेखि रुटिनको पेजमा उनका कथाहरू सेयर भइरहेका छन्। ती कथाका कारण हजारौंको माया र प्रतिक्रिया पाइरहेका छन्। रविनका अनुसार आफ्नो अनुभव र भोगाइ नै उनको लेखनको पहिलो स्रोत हो।
'मैले लेखेका कुरा काल्पनिक नभएर आफ्नै वास्तविक भोगाइ भएकाले अरू धेरैसँग मिल्न गयो,' उनलाई यही कारण आफ्नो कथा अरूले मन पराएका भन्ने लाग्छ।
तर रविन आफ्नो कथा मात्र लेख्दैनन्।
'म बाटोमा भेटेका मकै पोल्ने, बदाम बेच्ने, साइकल चलाउने वा अरू श्रम गर्ने मानिसहरूसँग कुरा गर्थेँ। उहाँहरूका भोगाइलाई म आफैं त्यही पात्र बनेर लेख्थेँ। जब ती कथाहरू हिट भए, यो सहरमा एक्लो रहिनँ। मजस्तै अरू धेरै पात्रसँग जोडिएँ,' उनले भने।
हरेकपटक लेख्न बस्दा आफू अर्कै पात्र बनेर सोच्ने रविन बताउँछन्। उनले कहिले घरबाट टाढा बसेको विद्यार्थी, कहिले छोरा, कहिले छोरी, कहिले अभिभावक, कहिले साथी बनेर लेखेका छन्। उनले माया प्रेमसम्बन्धी नलेखेका होइनन् तर उनको लेखाइमा समसामयिक कुरा बढी आउँछन्।
आफैं सम्बन्धित पात्रमा डुबेर लेख्ने रविनले बलात्कृत भएर ज्यान गुमाएका किशोरीहरू निर्मला पन्त, भगीरथी भट्ट र सम्झना विकबीच स्वर्गमा भएको कुराकानी बुनेर पनि कथा लेखेका छन्। समसामयिक सन्दर्भमा संक्षिप्त र सरल प्रस्तुतिले धेरैलाई आकर्षित गर्ने रविन मोबाइलमा टाइप गरेर सामाजिक सञ्जालमा पोस्ट गर्छन्।
'ओए बाइकर्स' उनको सबभन्दा पहिलो हिट खाएको कथा हो। जसमा अत्यधिक तेज गतिमा बाइक चलाउने साथीको दुर्घटनाको कथा छ।
कथा वाचन गरेर चर्चा कमाएका साइग्रेसको पछिल्लो नेपाल भ्रमण त तपाईंलाई थाहै होला। उनको कथा सुन्न हजारौंको भीड लागेको थियो। 'वर्ड टुर' गर्दै नेपालका विभिन्न सहर पुगेका साइग्रेसले रविनका पनि केही चर्चित कथाहरू वाचन गरेका थिए।
'सारेगम लिटल च्याम्प्स' मा समेत कथा सुनाएका साइग्रेसले त्यहाँ सुनाएको कथा 'पुरुष हराएको सूचना' रविनले लेखेका हुन्। साइग्रेसको युट्युब च्यानलमा रविनका 'चिया र चुरोट', 'स्वर्गकी परी' लगायत कथा भेटिन्छन्।
आफ्ना कथाहरू हिट भए पनि रविन जिन्दगीमा फिट हुने संघर्ष गरिरहेका छन्। रविनका कथा जति हिट भए पनि यसले उनको आर्थिक पक्षमा कुनै योगदान गरेको छैन।
उनी गुनासो पोख्छन्, 'पैसा आउनु त परको कुरा, अनुमति बिना मेरा कथाहरू युट्युबभरि वाचन गरिएका छन्।'
यसबीच उनले कथा लेखेर आर्थिकभन्दा मानसिक सन्तुष्टि मिल्ने कुरा मनन गरिसके, 'पेट पाल्न त कमाउनै पर्छ। यसका लागि मेहनत गरिरहेको छु।'
झन्डै एक दशक छाउनीमा बिताएका उनी हाल पेप्सिकोला बस्छन्। खुट्टामा ठेला उठुन्जेल पैदल हिँड्न बाध्य उनी स्कुटर चढ्ने भइसके। काठमाडौं आएदेखि उनी टायर कम्पनीमै काम गरिरहेका छन्। लामो अनुभवका आधारमा उनलाई अब यही क्षेत्रमा आफ्नै काम सुरू गर्नुपर्छ भन्ने लागिरहेको छ।
तर आर्थिक रूपमा मात्र स्थिरता खोजेर उनको चित्त बुझ्नेवाला छैन। सामाजिक सञ्जालमा आउने प्रशंसा र प्रतिक्रियाको चस्का लागिसकेको उनलाई कथा लेखनमा ठूलै धमाका गर्न मन छ रे!
'हतार गरेरभन्दा पनि आफूलाई तिखारेर, सिकेर राम्रा कथाहरू लेख्न चाहन्छु,' उनले भने।
कथाहरू सामाजिक सञ्जालमा भाइरल भए पनि रविन अझै धैर्य गरेर नेपथ्य–साधना गर्न चाहेको बताउँछन्।
'मेरा कथा सेयर हुन थालेपछि धेरैले चिन्नुभयो तर म यसरी चिनिन चाहन्नथेँ। त्यो सानो धमाका भयो। म ठूलो धमाका गर्न चाहन्थेँ,' उनले हाँस्दै भने।
उनले आफू यति आत्मविश्वासका साथ बोल्ने कारण पनि बताए।
'आफ्नै भोगाइ वा अरू पात्र बनेर लेख्दा पनि मलाई लेख्न खासै बल गर्नु पर्दैन। मुड आयो भने आधा घन्टामै कथा लेखिसक्छु, जस्तोसुकै भीडमा पनि।'
तर आफ्नो सीमितता पनि उनलाई थाहा छ।
'म कुनै साहित्यकार होइन। साहित्यको किताबी ज्ञान खासै छैन। सुखमा भन्दा दुःखमा कथा फुर्ने मैले लेखेका कुरा धेरैले मन पराइदिनु भयो। अरूको मायाले नै मैले आफूभित्रको क्षमता चिन्न पाएँ,' २५ वर्षीय रविनले भने।
रविन कमाउने अभिभारा मात्र बोकेर काठमाडौं आएका थिएनन्। आलोकाँचो उमेरमा काठमाडौं पसेका उनीसँग अमूर्त सपनाहरू पनि थिए। एक दशकभन्दा लामो संघर्षपछि उनी ती सपनामा पखेटा हालेर उडान भर्न मानसिक रूपमा तयार भइसकेका छन्।
आफूले लेखेको कथामा उत्कृष्ट सर्ट फिल्म बनोस् भन्ने रहर बोकेका उनी कथासँगै व्यवसायमा पनि स्थापित हुन चाहन्छन्।
उनले भने, 'दुवै क्षेत्रमा केही राम्रै काम गर्ने योजना छ। एक्लै यहाँसम्म आइपुगेँ। अहिले त धेरैको माया पाइसकेको छु। ढिलै भए पनि चिताएको पूरा कसो नहोला!'